डोबाटेले लिए बिनाविभागीय मन्त्रीको शपथ, गठवन्धनभित्र चुलियो असन्तुष्टि – Nepal Press

डोबाटेले लिए बिनाविभागीय मन्त्रीको शपथ, गठवन्धनभित्र चुलियो असन्तुष्टि

पोखरा । गण्डकी प्रदेशमा डोबाटे विश्वकर्माले बिनाविभागीय मन्त्रीको शपथ लिएका छन् । सोमबार साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

विश्वकर्मा ८ साउनमा नै मन्त्री बन्ने पक्का भए पनि अन्तिम समयमा उनको नाम काटिएको थियो । उनको ठाउँमा विन्दुकुमार थापा मन्त्री बनेका थिए । त्यसको चौतर्फी विरोध भएपछि उनलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रीमा नियुक्त गरेका हुन् । मन्त्रीको समथ खाएपछि विश्वकर्माले संविधानअनुसार पाएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाए ।

मन्त्री नियुक्तिमा सल्लाह नगरेको भन्दै गठबन्धनका नेताहरू भने असन्तुष्ट बनेका छन् । ‘मिचेर गएको महसुस भयो । यसरी नै जाने हो भने गठबन्धन के हुन्छ, के हुन्छ’, माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले भने, ‘हामी मुख्य दल, हामीलाई नै थाहा छैन । अरूलाई झन् के थाहा भयो होला र ?’

उनले मन्त्री बन्ने होहल्ला सुनेपछि मुख्यमन्त्रीलाई अहिले शपथ नगराउन आग्रह गरे पनि नमानेको गुनासो गरे ।
‘माथिकै सहमतिमा गरेको भन्नुहुन्छ । माथि सल्लाह भएको भए हामीलाई खबर आउनुपर्ने हो’, उनले थपे, ‘अब कसरी जाने भन्ने छलफल गरौँला । यसमा हाम्रो असहमति छ ।’

माओवादीलगायत सत्ता गठबन्धनका दलले नै शपथग्रहण बहिष्कार गरेका छन् । विपक्षी सांसदहरू पनि शपथग्रहण कार्यक्रममा सहभागी भएन् ।

अर्को सत्ता साझेदार दल जनता समाजवादीका नेता तथा ऊर्जामन्त्री हरिशरण आचार्यले बाटो बिराएको भन्दै त्यसो नगर्न सरकारलाई चेतावनी दिए ।

‘कांग्रेसले एकपछि अर्को सहमति तोड्दै बेइमान बन्दै गएको छ । स्वेच्छाचारी बन्दै गएको छ’, उनले भने, ‘हामीसँग गरेको सहमति तोडेर अन्यत्रैबाट मन्त्री नियुक्त गर्नु गलत हो । बाटो बिराउँदा राम्रो परिणाम निस्किँदैन ।’

यस प्रदेशमा अब कांग्रेसका छ, माओवादी केन्द्रका चार, जसपाका एक र अर्का एक जना स्वतन्त्र सांसद मन्त्री बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर