मोतिपुर घटनामा ज्यान गुमाउनेका परिवारलाई लुम्बिनी सरकारले जनही एक लाख दिने – Nepal Press

मोतिपुर घटनामा ज्यान गुमाउनेका परिवारलाई लुम्बिनी सरकारले जनही एक लाख दिने

बुटवल । रुपन्देहीको मोतिपुरमा आइतबार भएको झडपमा ज्यान गुमाउनेका परिवारलाई लुम्बिनी प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने भएको छ । प्रदेश सरकारले ज्यान गुमाएका व्यक्तिका परिवारलाई एक लाख किरिया खर्च दिने निर्णय गरेको हो ।

औद्यागिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्ने व्यक्तिहरूले प्रहरीलाई पेट्रोल बम प्रहार गरेपछि आइतबार दोहोरो झडप भएको थियो । त्यसक्रममा प्रहरीले गोली चलाउँदा चारजनाको मृत्यु भएको हो । मृतकका परिवारलाई जनही एक एक लाख दिने निर्णय भएको मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस सल्लाहकार मानसिंह विकले जानकारी दिए ।

मुख्यमन्त्री, आन्तरिक मामिला तथा सञ्चार मन्त्री, सुरक्षा परिषद्सहितको बैठकले सोमबार सो निर्णय गरेको हो । बैठकले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा घटना अध्ययन गरी सुझाव दिन कार्यदल पनि गठन गरेको छ ।

बैठकमा मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश सरकार वास्तविक सुकुम्बासीको समस्या समाधान गर्न तयार रहेको बताएका थिए । वास्तविक सुकुम्बासीको समस्या समाधान गर्न प्रदेश सरकारले अध्ययन गरिरहेको भन्दै उनले अहिले विवाद भएको ठाउँ प्रदेशले नचलाएको र औद्योगिक ग्राम नै हडप्न आएपछि प्रहरीले सुरक्षाको लागि गोली चलाएको उल्लेख गरे ।

आगामी दिन सो स्थानमा थप क्षति हुन नदिन प्रहरी संवेदनशील हुने, घाइतेहरूको प्रदेश सरकारले उपचार गर्ने र सुकुम्बासीको पहिचानका लागि छिटो कार्य अघि बढाउने बैठकले निर्णय गरेको छ । सोमबारको घटनाबारे जिल्लाका सबै सुरक्षा निकायले मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई ब्रिफिङ गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर