दसैँमा रातोमाटो खोज्न ज्यानकै जोखिम, ढिस्कोले पुरिएर वर्सेनि मृत्यु – Nepal Press

दसैँमा रातोमाटो खोज्न ज्यानकै जोखिम, ढिस्कोले पुरिएर वर्सेनि मृत्यु

काठमाडौं । दसैँ नजिकिँदै गएपछि गाउँघरमा रातोमाटो र सेतो कमेरोको चर्चा सुरु हुन्छ । रातोमाटो र कमेरोले लिपेर घर चिटिक्क पारिएपछि बल्ल लाग्छ- दसैँ आयो ।

सेतोमा रातो धर्का लगाएको घर टाढाबाटै उज्यालो देखिन्छ । वर्षभरि चिसो हिलोले विगारेको घरलाई मर्मत गर्ने अवसरको रुपमा पनि लिइन्छ रातोमाटो र कमेरोले घर चम्काउनुलाई । अरुबेला माकुराको जालोले घेरिएको घरको सफाई गर्ने फुर्सद नहुनेहरु दसैँमा जसरी पनि फुर्सद निकाल्छन् ।

तर यसरी घर चिटिक्क बनाउनका लागि माटोको जोगाड गर्ने काम भने सजिलो छैन । माटो खन्न जाँदा ढिस्कोले पुरिएर कतिले ज्यान गुमाएका छन् भने कति अपाङ्ग भएर बस्नुपरेको छ । रातोमाटो र कमेरो लिन खन्न जाँदा ढिस्कोमा पुरिएर घाइते हुने र मृत्यु हुनेमा बढी बालबालिका रहेको प्रहरीको तथ्थाङले देखाएको छ ।

घर पोत्न रातोमाटो कमेरो लिन जाँदा वर्षेनी दुर्घटना हुने गरेको छ । राम्रो र मलिलो माटोको खोजीमा धेरै सुरुङ बनाएको ठाउँमा माटो निकाल्न खोज्दा माथिबाट ढिस्को खस्दा ज्यानै गइरहेको छ ।

आइतबार कैलालीको मोहन्याल गाउँपालिकातर्फ जाने क्रममा डुङ्गा पल्टिँदा सुर्खेतको चौकुने गाउँपालिका– १० घाटगाउँकी १८ वर्षीया अनिता नेपाली बेपत्ता भइन् । डुङ्गामा सवार छ जनामध्ये पाँच जना पौडिएर ज्यान जोगाउन सफल भएका थिए । दसैँमा घर लिपपोतका लागि कमेरो र रातो माटो लिन उनीहरु मोहन्याल गाउँपालिकामा पर्ने सोल्टामा जाने क्रममा डुङ्गा पल्टिएको थियो ।

गत भदौ २६ गते कालिकोट पलाता गाउँपालिका ८ पारोटीका सहकुरे विकको १८ वर्षीया छोरी सुनिता विक घर लिप्ने माटो लिन रिठ्ठा गएकी थिइन् । माटो खन्ने क्रममा माटोको ढिस्को सहित आएको पहिरोमा परि घाइते भइन् । उनको अहिले कम्मरभन्दा मुनीको भाग चल्दैन । त्यतिमात्र होइन बोल्न समेत नसक्ने भएकी छन् ।

गत भदौ १६ गते हुम्लाको ताजाकोट गाउँपालिका ३की ४५ वर्षीया खिउली शाही घरनजिकै घर पोत्ने माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्कोले पुरिएर गम्भिर घाइते भइन् ।

यस्तै गत बैशाख पहिलो साता कञ्चनपुरको शुक्लाफाट नगरपालिका ८ बेलडाडीमा घर पोत्ने माटो खन्दै गर्दा ढिस्कोले पुरिएर ५ जना घाइते भए । १९ वर्षीया विपना साउदको खुट्टा भाँचियो, १६ वर्षीया जानकी साउदको शरीरमा चोट लागेको थियो भने १८ वर्षीया आरती टमटा, १३ कविता धामी, १३ वर्षीया लक्ष्मी साउदलाई सामान्य चोट लागेको थियो ।

गत वैशाखमै बागलुङको निसिखोला गाउँपालिका -२ कान्लेचौरकी ३३ भवी कुँवर र उनको १२ वर्षीय सुरेश कुँबर घर पोत्ने माटो खन्दै गर्दा माथिबाट ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको थियो ।

यसरी माटोको डिस्कोले पुरेर यस वर्ष मात्रै २ जनाले ज्यान गुमाइसकेका छन् भने २१ जना घाइते भइसकेका छन् ।

गत वर्ष काभ्रेको खानीखोला गाउँपालिका ४ फुलडाडाकी २४ वर्षीया अनिता गोले लगायत ४ जना महिला रातोमाटो ल्याउने क्रममा ढिस्कोले पुरिएर १ जनाले ज्यान गुमाए भने ३ जना घाइते भएका थिए ।

बाजुरामा माटोको ढिस्कोमा पुरिएर ३ जना, कैलालीमा ३ जना, हुम्लामा २ जना घाइते भएका थिए ।

यसैगरी दाङमा माटो लिन जाँदा एक जना र बर्दियामा ११ बालकको पनि माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको थियो । गत वर्ष माटो लिन जाँदा ढिस्कोले पुरिएर ३ जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । ढिस्कोमा पुरिएर घाइते हुने र मृत्यु हुनेमा अधिकाशं बालबालिका रहेका छन् ।

बालबालिकालाई माटो खन्न नपठाउन प्राधिकरणको आग्रह

दसैँको बेला घर छ्याप्न रातोमाटो कमेरो लिन जाँदा बालबालिकालाई नपठाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेका छन् ।

माटो खन्न जाँदा दुर्घटना हुन नदिन माटो खानीको ओडारमा नपस्न, ठूला खाल्डामा नछिर्न पहिरो गएको ठाउँमा माटो खन्न नजान, माटो खन्न बालबालिकालाई माटो खन्न नपठाउन र नलैजान राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोख्रेलले आग्रह गरेका छन् ।

खानीमा दुलो वा ओडार बन्ने वितिकै भत्काउन सुझाव दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *