‘नक्कली सुकुम्बासी’ले चर्काएको आन्दोलन यसरी बन्यो हिंसात्मक – Nepal Press
मोतिपुर गोली काण्ड

‘नक्कली सुकुम्बासी’ले चर्काएको आन्दोलन यसरी बन्यो हिंसात्मक

रुपन्देही । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा झडप हुँदा आइतबार चारजना सर्वसाधारणको मृत्यु भयो । दसैंको मुखमा प्रहरीले सुकुम्बासीमाथि प्रहरीले ज्यादती गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । यद्यपि, सुकम्बासीका नाममा औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोजेको भन्दै आलोचना पनि भइरहेको छ ।

खासमा के हो त औद्योगिक क्षेत्रको जग्गा विवाद

औद्योगिक क्षेत्रको नाममा रहेको जग्गा अतिक्रमण गर्ने काममा स्थानीयको संलग्नता नभएको दलका प्रतिनिधि तथा जनप्रतिनिधिले जनाएका छन् ।

वैशाखयता उक्त क्षेत्रमा बढ्दै गएको अतिक्रमण असोज लागेसँगै बढेको थियो । आइतबार अतिक्रमणकारी र प्रहरीबीच यहीं विषयमा ठूलो झडप भयो ।

अतिक्रमणकारीलाई हटाउन पुगेका प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले चलाएको गोली लागेर चारजनाको मृत्यु भएको छ भने करिब ५० जना घाइते छन् । ठूलो संख्यामा रहेका अतिक्रमणकारी घाइते धेरै भएपनि कुन कुन अस्पतालमा उपचार भइरहेको छ भन्ने रेकर्ड नै कसैसँग छैन ।

सोमबार सो क्षेत्रमा क्रियाशील दलका प्रतिनिधि, टोल विकास संस्थाका अध्यक्ष तथा वडाध्यक्षले सरकारी जग्गा अतिक्रमण गर्ने गिरोह नै बाहिरबाट आएको बताए ।

उनीहरुले उक्त गिरोहबाट स्थानीय नै असुरक्षित भएको तर ३० हजारभन्दा माथिको संख्यामा आउने भएकाले सानो शक्तिले प्रतिकार गर्नसक्ने अवस्था नरहेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका नेता कृष्ण नेपालीले जग्गा अतिक्रमणमा आफ्नो पार्टीको कार्यकर्ता र स्थानीय कोही नभएको दावी गरे । ‘यसमा हाम्रो दलको संलग्नता छैन, हामी आयोजनाकाविरोधी होइनौं तर मान्छे मारेर यो विषय समाधान हुँदैन, यो प्रशासनको ठूलो कमजोरी हो’, उनले भने ।

नेकपा एमालेका सूर्यप्रसाद न्यौपानेले सरकारी जग्गा अतिक्रमण गर्ने र औद्योगिक क्षेत्र जस्तो आयोजना रोक्ने कामको शुरुदेखि नै पार्टीले विरोध गर्दै आएको बताए । उनले भने– ‘हामीले विरोध गरेका कारण अतिक्रमणकारीले तार्गेट बनाएका छन्, यसमा सबै दलको सहकार्य जरुरी छ, विकासमा राजनीति नगरौं, यहाँको जग्गा रोक्ने स्थानीय छैनन्, को कहाँबाट आएका छन् अनुसन्धान गरौं ।’

नेपाली कांग्रेसका नेता भीमप्रसाद न्यौपानेले औद्योगिक क्षेत्रका कारण स्थानीयमा आएको विवाद समाधान भइसकेपछि त्यहीं आयोजना रोक्नका लागि जग्गा अतिक्रमणको योजना बनाइएको बताए । ‘औद्योगिक क्षेत्र राख्नका लागि यहाँका स्थानीयको कुनै विरोध छैन, जग्गा रोक्न यहाँका मान्छे गएका पनि छैनन्, सबै बाहिरबाट आएका छन्, सबै मिलेर उनीहरुको पहिचान गरौं’, उनले भने ।

जसपाका विजय ढकालले महिनौंदेखि अतिक्रमण शुरु भएपनि प्रशासनले समयमा रोक्न नसकेकाले अहिले आएर स्थानीयलाई दोष लगाएको बताए ।

स्थानीय टोल समितिका धर्म बुढाथोकीले आफूहरु अतिक्रमणकारी र प्रहरी दुवैको चेपुवामा परेको गुनासो गरे । ‘यहाँका मान्छे जग्गा रोक्न गएका छैनन्, प्रहरी आएर लखेट्छ, उनीहरु भाग्छन् । हामीहरुलाई सधैंको तनाब भयो’, उनले भने ।

दुर्गाटोल विकास समितिका अध्यक्ष डोलबहादुर कुमालले स्थानीयले सामूहिकरुपमा धेरैपटक लखेटेपनि अहिले ठूलो समूह आएपछि नसकेको बताए ।

‘गृहमन्त्रीको निर्वाचन क्षेत्र हो, सयौं बिगाहा सरकारी जग्गा अतिक्रमण भएको छ, झडपमा नागरिकको मृत्यु भएको छ, स्थानीय राम्रोसँग घरमा बस्न पाएका छैनन्’, कुमालले प्रश्न गरे, ‘योभन्दा लाजमर्दो के हुन्छ ? स्थानीयलाई भिडाएर दलका नेताहरु लुकेका छन्, कोही फिल्डमा आएका छैनन्, वास्तविकता छानबिन होस् ।’

औद्योगिक क्षेत्र रहेको बुटवल वडा नं १७ का अध्यक्ष सन्तबहादुर रानाले स्थानीयले शुरुदेखि नै अतिक्रमणको विरोध गरेपनि अहिले ठूलो गिरोह आएकाले समस्या भएको बताए ।

‘अतिक्रमण गर्ने स्थानीय छैनन् तर यति ठूलो गिरोह कहाँबाट आएको छ, चिन्ताको विषय हो । हामीले सबै स्थानीयलाई नबस्न आग्रह गरेका थियौं, प्रशासनले हाम्रो आग्रहमा लखेट्न शुरु गरेको हो’, उनले भने ।

आयोजनामा अवरोध नगर्न संघसंस्थाको आग्रह

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको नाममा रहेको जग्गा अतिक्रमणप्रति यस क्षेत्रका व्यवसायिक संघसंस्थाहरुले ध्यानाकर्षण भएको जनाएका छन् ।

लुम्बिनी प्रदेशको बहुप्रतिक्षित र यस क्षेत्रको भाग्यरेखा हुने विश्वास गरिएको मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यासको क्रममा देखिएको अवरोध र हाल मोतिपुर औद्योगिक क्षेत्रको नाममा रहेको जग्गा तीव्ररुपमा कब्जा गर्ने कार्यप्रति व्यवसायिक संस्थाहरुले गम्भीररुपमा ध्यानाकर्षण भएको जनाएका हुन् ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म न्यौपाने, रुपन्देही उद्योग संघका बाबुराम बोहोरा, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी, सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम खड्का, देवदह उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल ढकाल, उद्योग व्यापार संघ बुटवलका अध्यक्ष गोविन्दराज गैरे र औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणी भट्टराईले संयुक्त विज्ञप्ति जारी गरेर मोतिपुर औद्योगिक क्षेत्रमा भएको अवरोधको निकाससहित शीघ्र सञ्चालनको वातावरण तयार गर्न आग्रह गरेका हुन् ।

त्रस्त स्थानीय

आइतबार बुटवल उपमहानगरपालिका–१७ स्थित रानीगञ्ज एकाएक रणभूमिमा परिणत भएपछि स्थानीय निकै त्रसित भएका छन् ।

जमिन कब्जा गर्न जुटेका हजारौं ‘सुकुम्बासी’ र प्रहरीबीच झडप भएपछि हजारौं एकाएक रानीगंज बस्तीमा प्रवेश गरेका थिए । त्यसपछि हरेक चोक र गल्लीहरूमा दोहोरो झडपमा प्रहरीले ठाउँ–ठाउँमा हवाई फाएर र अश्रु ग्याँस हानेपछि आखाँ पोलेर घरभित्र समेत बस्न समस्या भएको स्थानीय राधा सुवेदीले बताइन् ।

स्थानीय महिला मुना आचार्यले पाँच महिनाको शिशु घरमा रहेको र घर अगाडि नै दोहोरो झडप हुन थालेपछि श्वास फेर्न गर्होे भएको बताइन् । रानीगञ्जमै रहेको शान्ति दीप विद्यालयमा विद्यार्थीको पढाइ चलिरहेको बेला झडप भएपछि विद्यार्थी र शिक्षक–शिक्षिका त्रसित भएको शिक्षिका भिमा खरेलले बताइन् ।

विद्यार्थीहरुलाई घर फर्काउन प्रहरीले विद्यालयको बस चलाउन पनि नदिएपछि विद्यार्थीलाई विद्यालयमै राखे साँझ अभिभावक बोलाएर पठाएको विद्यालयकी प्रध्यानाध्यापक सिजन श्रेष्ठले बताइन् ।

धेरै घाइते सामान्य

आइतबार मोतीपुर घटनामा परी घाइते भएका र भैरहवामा रहेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचार गराइरहेका १९ जनाको अवस्था सामान्य छ । घाइते भइ उपचार गराइरहेका पत्रकार विश्व ज्ञवाली अस्पतालबाट डिस्चार्ज भएका छन् ।

अस्पतालका प्रशासन प्रमुख तेज केसीका अनुसार घाइतेमध्ये एक जनाको अपरेशन गरिएको छ । पाल्पा तानसेन नगरपालिका वडा नम्बर १० बस्ने ३० वर्षीय प्रेमबहादुर कामीको अपरेशन गरिएको छ ।

सो अस्पतालमा मोतीपुर घटनामा परी १२ सर्वसाधारण र ५ जना प्रहरी उपचारमै रहेका छन् । घाइतेहरुमा दंग बहादुर परियार, गम्भीर सिंह बिश्वकर्मा, प्रेम बहादुर कामी, सर्वेश केवट, मेघराज रोक्का क्षेत्री, श्री चन्द्र कुर्मी, रोक बहादुर, मनरुपा गाहा, विष्णु परियार, समिर थापा, सन्तोष कुमार र मेख बहादुर कुमाल रहेको प्रशासन प्रमुख केसीले जनाए ।

अहिलेसम्मको सूचनाअनुसार गोली लागेर चारजनाको मृत्यु भएको छ । सर्वसाधारणतर्फ १६, नेपाल प्रहरीतर्फ १६ जना, सशस्त्र प्रहरीतर्फ १५ जना घाइते छन् ।

कर्फ्यू निरन्तर

औद्योगिक क्षेत्र रहेको बुटवल उपमहानगरपालिका १७ र १८ नम्बर वडामा आइतबार ४ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

मोतिपुर औद्योगिक क्षेत्रमा आएर बसेका सुकुम्बासी हटाउने क्रममा चार जनाको मृत्यु, ५० जना घाइते भएपछि स्थानीय प्रशासनले आइतबार ४ बजेदेखि ती वडामा कर्फ्यू आदेश जारी गरेको हो ।

अहिले घटनास्थलमा प्रहरी तैनाथ छ । कपिलवस्तु प्रहरी नवलपरासी र रूपन्देहीको दंगा टोली तैनाथ छ । जग्गा कब्जा गर्नेहरू भने कोही छैनन् । कर्फ्यू लागेपछि सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ ।

औद्योगिक क्षेत्रमा हजारौं सुकुम्बासी आएर जग्गा कब्जा गरी बसेपछि स्थानीय प्रशासनले आइतबार हटाउन खोजेको थियो ।

अतिक्रमित जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा सुरक्षाकर्मीमाथि ढुंगामुढा र पेट्रोल बम प्रहार भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको दावी छ । ‘ठूलो संख्यामा प्रदर्शनकारी जम्मा भएर सुरक्षाकर्मीमाथि ढुंगामुढा र पेट्रोल बम हाने’ उनले भने, ‘त्यसपछि बाध्य भएर गोली चलाउनु परेको हो ।’

कसरी आयो यस्तो स्थिति ?

गत वैशाखयता बुटवल उपमहानगरपालिका वडा नं. १७ र १८ मा पर्ने मोतिपुर औद्योगिक क्षेत्रभित्र जग्गा कब्जा गरी बस्न बुटवल आसपास मात्र होइन रुकुम, रोल्पा, पाल्पा, गुल्मी, नवलपरासी, कपिलवस्तु, बाग्लुङ, पर्वतसँगै मकवानपुर र कञ्चनपुरबाट समेत दैनिक मानिसहरू आउन थालेका थिए ।

२०७२ साल चैत १ गते नेपाल सरकारले रुपन्देहीको मोतीपुरमा ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गर्यो । धेरैजसो बुटवल उपमहानगरपालिकाको वडा नं. १७ र १८ मा पर्ने मोतिपुर औद्योगिक क्षेत्र, तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको र तिनाउको नदी उकास क्षेत्रको सार्वजनिक जग्गा हो ।

औद्योगिक क्षेत्र विस्तार हुन नसक्दा नयाँ उद्योगहरू सञ्चालन गर्न नसकिएको उद्योगीहरूको गुनासोलाई सम्बोधन गर्न सरकारले औद्योगिक क्षेत्रको घोषणा गरेको थियो । पाँच वर्षभित्रमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको उक्त निर्णयमा सबै राजनितिक दलहरूले पनि सहमति गरेका थिए ।
तर ६ वर्ष पुग्दा पनि स्थापना हुने त कता हो कता, औद्योगिक क्षेत्रको लागि छुट्याइएको जग्गामा नै सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको छ ।

सरकारले १२ अर्बभन्दा बढीको लागतमा मोतिपुरको ९ सय ४६ बिगाहा क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना गर्ने बताएको थियो । अहिले दुई सय बिगाहाभन्दा बढी जग्गामा विभिन्न जिल्लाबाट आएका सुकुम्बासीहरूले कब्जा गर्ने प्रयास गरिरहेका छन् ।

स्थानीय अर्जुन गिरीले दिउँसोको समयमा हजारौं व्यक्तिहरू सुकुम्बासीको नाममा गाडी रिजर्ब गरेरै आउने र साँझ गाडीमै फर्किने गरेको बताए ।

‘दिउँसोमा त यहाँ मेला लागेजस्तो हुन्थ्यो, घटस्थापनाको दिन त सबैबाट सहयोग रकम संकलन गरी दुर्गा मन्दिर स्थापना गर्ने र पूजाआजा गरिएको थियो,’ उनले भने ।

आइतबार पनि बिहानैदेखि सुकुम्बासीको नाममा औद्योगिक क्षेत्रभित्र जाने क्रम सुरू भएको थियो । नजिक घर भएका, टाढाको जिल्लाबाट आइ कोठा भाडा लिएर बसेकाहरू बिहानैदेखि औद्योगिक क्षेत्रको जग्गामा घेरा हालेर बस्न थालेका थिए । रुपन्देही र आसपासका जिल्लाहरुबाट भने गाडी रिजर्ब गर्ने र अटो रिक्सा चढेर जानेहरु १०–११ बजेसम्म पुग्दै थिए ।

स्थानीय प्रशासन पनि आइतबार जग्गा कब्जा गरेर बसेकाहरुलाई लखेट्ने योजनामा बिहानैदेखि तयारी अवस्थामा थियो । सोही क्रममा प्रहरीले औद्योगिक क्षेत्रबाट बाहिर निकाल्न खोजेपछि जग्गा कब्जा गरी बसेकाहरु प्रहरीमाथि ढुंगामुढामा उत्रिएका थिए ।

रोल्पाको सुनछहरीबाट आएका प्रकाश घर्तीले प्रशासनलाई जित्न सके सबैलाई घडेरी वितरण हुन्छ भनेर आएको बताए । जग्गा पाईन्छ भनेर आशा गरेपनि आफूहरुलाई कसले परिचालित गरेको छ भन्ने कुरा भने उनीहरू कसैले बताउन चाहँदैनन् ।

पाँच दिन पहिले मकवानपुरबाट रात्रिबस चढेर जग्गा रोक्नकै लागि यमकुमारी थापाले बुटवलमा जग्गा बाँड्दैछ भन्ने खबर सुनेर आएको बताइन् ।

मानपकडीका रामनगिन चौधरीले बुटवलमा जग्गा पाइन्छ भने केही दिन कुर्दैमा के हुन्छ र भनेर कुरेको बताए । यहांँ जग्गा कब्जा गर्न आएकाहरुले पछि लालपूर्जा पाउने र जग्गा आफ्नो हुने लोभमा आएको बताउँछन् ।

दलहरुबीच जस लिने होडले समस्या

मोतिपुर औद्योगिक क्षेत्र घोषणा गरेपछि विवादमा पर्दै आएको छ । सुरूका वर्षमा राजनीतिक दलहरू कसले जस लिने भन्नेमै अन्योल भएकोमा गत फागुन २१ गते तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उद्योगमन्त्री लेखराज भट्टले शिलान्यास गर्दा पनि कार्यक्रम बिथोलिएको थियो ।

उतिबेला सरकारभन्दा बाहिर रहेका यसक्षेत्रका सांसद एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण र एमालेका नेता घनश्याम भुसालले विज्ञप्ति निकालेर स्थानीयवासीको सहमति विपरीत औद्योगिक क्षेत्र विस्तार नगर्न चेतावनी समेत दिएका थिए ।

अहिले समय फेरिएको छ । पहिले प्रतिपक्षमा रहेका खाँण सरकारका गृहमन्त्री बनेका छन् । तर देशका विभिन्न जिल्लाबाट आएका सुकुम्बासीले आफ्नै गृहनगरको औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने प्रयास गरिरहेका छन् ।

स्थानीयका अनुसार रुपन्देहीका बुटवल आसपास मात्र नभइ कपिलवस्तु, नवलपरासी, रोल्पालगायत जिल्लाबाट २५ देखि ३० जनाको समूह बनाएर क्षेत्र छुट्याइ जग्गा कब्जा हुने गरेकाे छ ।

दिनहुँजसो गाडी रिजर्ब गरेर आउने र साँझ फर्किने क्रम गत वैशाखदेखि नै जारी रहे पनि स्थानीय प्रशासनले सुरूमै चासो नदिँदा जग्गा कब्जा गर्नेहरूलाई बल पुगेको स्थानीयको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर