सिक्किममा फिल्म पर्यटन खुला : छायांकन गर्ने नेपाली फिल्मलाई भारु एक करोड अनुदान (भिडिओ) – Nepal Press

सिक्किममा फिल्म पर्यटन खुला : छायांकन गर्ने नेपाली फिल्मलाई भारु एक करोड अनुदान (भिडिओ)

काठमाडौं । नेपाली र भुटानी फिल्म बजारलाई लक्षित गर्दै भारतको उत्तरपूर्वी राज्य सिक्किमले फिल्म पर्यटन खुला गरेको छ । सिक्किम सरकारले छिमेकी मुलुकका फिल्म छायांकनलाई आकर्षित गर्न आर्थिक प्याकेज पनि घोषणा गरेको छ ।

सिक्किम सरकारले केही मापदण्ड तोक्दै राज्यमा छायांकन हुने फिल्मलाई १ करोड रुपैयाँ भारु अनुदान दिने भएको छ । जसका लागि फिल्मको ७५ प्रतिशत सुटिङ सिक्किममै हुनुपर्नेछ भने ५० प्रतिशत कलाकार त्यहीँबाटै लिएको हुनुपर्नेछ ।

‘हामी फिल्ममार्फत सिक्किमको पर्यटनमा वृद्धि गर्न चाहन्छौं । नेपाली फिल्मलाई महत्व दिएर काम गर्ने हाम्रो योजना छ’ यसैसाता नेपाल प्रेसको काठमाडौं कार्यालयमा आइपुगेका सिक्किमका स्वास्थ्यमन्त्री डा. मणीकुमार शर्मा र फिल्म प्रवद्र्धन बोर्ड सिक्किमकी अध्यक्ष पूजा शर्माले भने ।

भाषिक र सांस्कृतिकरुपमा निकट नेपाली र भुटानी फिल्म छायांकनसँगै अन्य विश्व फिल्मलाई पनि राज्यमा आकर्षित गर्ने नीति रहेको मन्त्री डा. शर्माले बताए । ‘विश्वमा सिक्किमको स्थान जुन किसिमले खडा हुनुपर्ने हो त्यो भएको छैन’ उनले भने, ‘हामी फिल्म पर्यटनमार्फत सिक्किमे विकासको सम्भावना खोज्न चाहन्छौं ।’

सिक्किममा नेपाली फिल्म सुटिङ र प्रदर्शनका लागि विद्यमान अप्ठ्यारालाई सहजीकरण गर्न राज्य सरकार तयार रहेको समेत मन्त्री डा. शर्माले बताए । ‘फिल्म पर्यटनमार्फत आर्थिक र सांस्कृतिक सम्बन्धलाई अघि बढाउने र फिल्मलाई नेपाल र भारतबीचको कूटनीतिक माध्यमको रुपमा अघि बढाउने हाम्रो उद्देश्य हो’ उनले भने ।

नेपाल र सिक्किम दुबैलाई लाभ मिल्ने गरि फिल्म अलायन्स बनाउने आफूहरुको योजना रहेको र यसबाट दुबै छिमेकीले फाइदा उठाउन सक्ने बोर्ड अध्यक्ष शर्माले बताइन् । ‘नेपाली फिल्मलाई महत्व दिएर हामी काम गर्न चाहन्छौं’ उनले भनिन्, ‘यसका लागि हामी आर्थिक मात्र हैन, बन्दोबस्ती सहयोग गर्न पनि तयार छौं ।’

सिक्किमका स्वास्थ्यमन्त्री डा. मणीकुमार शर्मा

सिक्किमले सन् २०२० मै फिल्म पर्यटन नीति घोषणा गरेपनि कोरोनाभाइरस महामारीले रोकिएको थियो । भाइरस संक्रमण घटेपछि थलिएको अर्थतन्त्रलाई उकास्न फिल्म पर्यटनलाई अघि बढाइएको हो । यो नीतिको चाँडै औपचारिक घोषणा गर्ने तयारी भएको छ ।

फिल्म पर्यटन योजनाअन्तर्गत सिक्किमले नेपालसँग सांस्कृतिक आदानप्रदान गर्ने समेत भएको छ । यसका लागि डिसेम्बर १० देखि १४ सम्म ग्लोबल फिल्म फेस्टिभलको दोस्रो संस्करण सिक्किममा हुँदैछ । यो फेस्टिभलमा राजेश हमाल, अनमोल केसीदेखि नेपाली फिल्मका स्टारहरुलाई बोर्डले निम्तो दिएको छ ।

‘हामी दुबै छिमेकीबीच सांस्कृतिक सम्बन्ध आदानप्रदानलाई घनिभूत तुल्याउन चाहन्छौं’ शर्माले भनिन्, ‘यो कार्यबाट हामीले सिक्किमको लुकेको सौन्दर्यलाई उपयोग गर्न सक्छौं । सिक्किमको भूगोलमा ७८ प्रतिशत ठाउँ ओगटेको हरिया पहाडहरु नेपाली फिल्मका लागि दर्शनीय हुनसक्छ ।’

यसका लागि सिक्किमले आकर्षक छायांकन गन्तव्यहरु समेटिएको क्याटालग पनि प्रकाशन गरेको छ । हालै आयोजित भारतको राष्ट्रिय फिल्म अवार्डमा सिक्किम ‘फिल्म फ्रेन्ड्ली स्टेट’को रुपमा पुरस्कृत भैसकेको छ । ‘फिल्ममैत्री राज्यको रुपमा पुरस्कृत हुन पाउँदा हामीलाई उत्साह जागेको छ’ बोर्ड अध्यक्ष शर्मा भन्छिन्, ‘हामी शून्यबाटै यो सबथोक गर्न चाहन्छौं र यसको सुरुआत भैसकेको छ ।’

साथै, स्टुडियोसहितका फिल्म पूर्वाधार निर्माणको कार्य पनि सिक्किममा सुरु भएको छ । उपकरणदेखि लोकेसनसम्म सहयोग गर्ने समेत भनिएको छ । ‘हामी इको–हेरिटेज फिल्म भिलेज पनि बनाउँछौं’ शर्मा भन्छिन्, ‘फिल्म छायांकनको लागि आवश्यक सबै सुविधा पाउने गरि हामी अघि बढेका छौं र राज्य सरकारको तर्फबाट पनि सहयोग मिलेको छ ।’

स्वास्थ्यमन्त्री डा. शर्माले पनि नेपाली फिल्म छायांकनमा सघाउन सिक्किम तयार रहेको बताए । ‘हामीबीच केही समस्या छन् भने हामी सहजीकरण गर्न तयार छौं’ उनले भने, ‘हामी सहयोग नीतिअन्तर्गत अघि बढेका छौं । हामीले सहयोग गर्ने भनेकै नेपाली फिल्मलाई हो । नेपालले चाहन्छ भने हामी औपचारिक बैठक बस्न तयार छौं ।’

फिल्म प्रवद्र्धन बोर्ड सिक्किमकी अध्यक्ष पूजा शर्मा

प्रियंका चोपडाले सिक्किमको बदनाम गरिन्

सन् २०१८ मा रिलिज भएको फिल्म ‘पाहुना : द लिटल भिजिटर्स’लाई प्रियंका चोपडाको कम्पनी पर्पल पेबल पिक्चर्सले निर्माण गरेको थियो । नेपाली भाषामा बनेको यो फिल्मले तत्कालिन माओवादी सशष्त्र द्वन्द्वको कारण सिक्किमतर्फ विस्थापित एक नेपाली परिवारको कथा पेश गर्छ । द्वन्द्वले बाबुआमाबाट विछोड भएका दुई बालबालिकाको संघर्ष यसमा चित्रित छ ।

आख्यान कथावस्तुमा बनेपनि यो फिल्मको कथावस्तुलाई लिएर सिक्किम फिल्म प्रवद्र्धन बोर्डको असन्तुष्टि देखिन्छ । अध्यक्ष पूजा शर्माले द्वन्द्वको कुरा देखाएर प्रियंका चोपडाले सिक्किमलाई बदनाम गर्न खोजेको बताइन् । ‘प्रियंकाले बदनाम गर्नुभयो, इन्सर्जेन्ट स्टेट भनेर’ उनले भनिन् ।

यतिमात्र हैन, सिक्किम सरकारबाट फाइदा लिएको निर्माण भएको यो फिल्म पूर्णतः सिक्किममै छायांकन भएको हो । सिक्किममै छायांकन भएपनि यसले त्यहाँको आञ्चलिकतालाई पूर्णतः बेवास्ता गरेको आरोप पनि यसले खेपेको छ । नेपालमा पनि फिल्मलाई लिएर निकै चर्चा भएको थियो । फिल्मले राम्रो समीक्षा बटुलेपनि यसमा इसाइकरण (क्रिस्चियानिटी)लाई बढावा दिएको भन्दै नेपाली दर्शकले असन्तुष्टि पोखेका थिए ।

फिल्मलाई कूटनीतिको माध्यम बनाउनुपर्छ

नेपाल प्रेससँग कुरा गर्दै सिक्किमका स्वास्थ्यमन्त्री डा. शर्माले निकट छिमेकी नेपाल र सिक्किमले फिल्मलाई कूटनीतिको बलियो माध्यमको रुपमा पनि अघि बढाउनुपर्ने बताएका छन् । ‘हामीबीच सदियौंदेखि सांस्कृतिक र राष्ट्रियताको निकटता छ’ उनले भने, ‘संस्कृतिक र राष्ट्रियतालाई जोड्ने कूटनीतिक सेतुको रुपमा फिल्मलाई बढाउन सके नेपाल र सिक्किम दुबै पक्षलाई फाइदा पुग्नसक्छ ।’

डा. शर्माले पछिल्लोपटक हेरेको नेपाली फिल्म साइनो हो । त्यसयता उनले नेपाली फिल्म हेरेका छैनन् तर सिक्किममा नेपाली फिल्मको क्रेज उनलाई राम्रोसँग थाहा छ । ‘साइनोपछि नेपाली फिल्म हेरेको छैन तर, बदलिएको नेपाली फिल्मको ट्रेन्डबारे मलाई थाहा छ । दुबै ठाउँको फिल्मको विकासमा एकअर्काले कसरी योगदान गर्न सक्छन् भन्ने कुरामा बसेर खुला छलफल गरौं’ उनले भने ।

‘सिक्किमले ग्लोबल मार्केटमा जुन प्रकारको ठाउँ पाउनुपर्ने हो, त्यो पाएको छैन’ उनी भन्छन, ‘नेपाल र सिक्किमबीच समान कला, संस्कृति र एउटै लयमा बाँच्ने तरिकालाई अब फिल्ममार्फत अघि बढाउनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर