टिकट काउन्टरको कर्मचारी हुँ भन्दै बढी भाडा लिने ७ जना पक्राउ – Nepal Press

टिकट काउन्टरको कर्मचारी हुँ भन्दै बढी भाडा लिने ७ जना पक्राउ

काठमाडौं । उपत्यकाबाट बाहिर चाडपर्व मनाउन घर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोजेको आरोपमा ७ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

चाडपर्वको समयमा यात्रुहरूसँग टिकट काउन्टरको कर्मचारी हुँ भनी पोसाक तथा परिचय पत्र साथमा नलिई अनाधिकृत रूपमा भाडा उठाई विचौलियाको काम गर्ने ७ जनालाई आज बिहानै नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा कोटेश्वर एरियाको काउन्टरबाट खोटाङ ऐशेलुखर्क(३ का भिम निरौला र रञ्जित श्रेष्ठ, बल्खु एरियाको काउन्टरबाट सिन्धुलीका हरि कार्की, चितवनका सुदर्शन पाण्डे, बारा कलैयाका एल एक्स चौधरी, मकवानपुर भिमफेदीका प्रेम घिमिरे र बारा जितपुरका बिशाल लामा रहेका छन् ।
उनीहरुलाई प्रहरी नै यात्रु बनेर पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

दशैं(तिहार मनाउन घर जानेहरूको अरु समयमा भन्दा यतिखेर बढी नै हुने हुँदा महाशाखाले विशेष निगरानी तथा अनुगमन टोली बनाएर सक्रियताका साथ काम गरिरहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।

उनले यात्रु ठगीका घटना रोक्न विशेष अभियान चलाएको तर प्रहरीको आँखा छलेर ठगीमा परिएको स्वयं यात्रुले गुनासो गरे ट्राफिक प्रहरी खटाई तुरून्तै कारवाही गर्ने पनि बताए ।

ठगी, बढी भाडा लिने, दोब्बर भाडामा टिकट काट्ने लगायतको काम हुन सक्ने भन्दै महाशाखाले पीडित सहायता कक्षबाट सादा पोशाकमा प्रहरी टोली परिचालन गरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाईरहेको छ ।

पक्राउ पर्ने व्यक्तिहरूलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्तहरूमा बुझाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *