एमाले ‘चुनावदेखि चुनावसम्मको गोलचक्कर’ मा फस्ने घनश्याम भुसालकाे चिन्ता – Nepal Press

एमाले ‘चुनावदेखि चुनावसम्मको गोलचक्कर’ मा फस्ने घनश्याम भुसालकाे चिन्ता

काठमाडौं । नेकपा (एमाले)का नेता घनश्याम भुसालले जनताको बहुदलीय जनवादलाई ‘चुनावदेखि चुनावसम्म’को यात्राका रुपमा मात्रै अभ्यास गर्न खोजीएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेता भुसाल आइतबार एमालेमाथि रिर्पोटिङ गर्ने पत्रकारहरुसँग अनौपचारिक अन्तरक्रियामा जोडिएका थिए ।
एमालेमा भएका समस्याबारे स्पष्टीकरण दिन आफू अन्तरक्रियामा जोडिएको बताएका भुसालले यही चुनावदेखि चुनावसम्मको गोलचक्करमा एमाले फस्ने हो कि भन्ने चिन्ता व्यक्त गरे। अहिलेसम्म जे–जे भयो र भोलि जे–जे प्राप्त हुनेछ, ती सबै जबजकै कारण भएका हुन् भन्ने सोलोडोलो बुझाइ र व्याख्याले समस्या उत्पन्न गरेको उनको भनाइ छ ।
‘हिजो जे-जे भयो, जनताको बहुदलीय जनतवादले ल्यायो, आज जे हुँदैछ, त्यो जनताको बहुदलीय जनवादले गर्दैछ। र, भोलि के हुँदैछ, त्यो सबै जनताको बहुदलीय जनवादले हुन्छ भन्ने,’ उनको भनाइ छ, ‘तर पार्टीले के गर्ने भन्दा चुनाव  गर्ने, सरकारमा जाने । सरकारमा जाने, चुनाव गर्ने । चुनावदेखि चुनावसम्मको गोलचक्करमा फस्ने ।’
यद्यपि यो गोलचक्करमा बाहिर निस्कन आफूहरुले एमालेको नवौं महाधिवेशनमा सैद्दान्तिक योगदान गरेको भुसालको भनाइ छ। हालै सम्मपन्न विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले दलाल पुँजीबारे व्याख्या गरेकाले सैद्दान्तिकरुपमा आफ्नो जित भएको पनि उनले बताए ।
‘विधान महाधिवेशनमा एउटा काम भएको छ, मैले ठूलो काम मानेको छु,’ भुसालले भने, ‘किनभने ओली कमरेड र उहाँको सेक्सन नै नवौं महाधिवेशनमा सन्तुष्ट थिएन । उहाँहरुले त्यो कार्यदिशा होइन, मदन भण्डारीले जे भन्नु भएको छ, त्यो नै काफी छ भन्नुहुन्थ्यो ।’
उनले थपे, ‘राम्रो कुरा के भयो भने अहिले ओलीजी नै दलाल पुँजीको व्याख्या गर्ने ठाउँमा आउनु भएको छ। यसर्थ नवौं महाधिवेशनमा हामीले जुन कार्यदिशाको कुरा गरेका थियौं, अब त्यसमा विवादमा रहेन । यो फाइदाको कुरा हो । सकरात्मक कुरा हो ।’
आउँदो महाधिवेशनमा नेतृत्वको दावी रहन्छ कि रहँदैन भन्ने प्रश्नमा उनले एमालेले अंगिगार गरेको नीति आफूहरुको भएकाले नेतृत्व पनि आफूहरुकै हुनुपर्ने कूटनीतिकरुमा बताए।
‘अस्तिको महाधिवेशनमा हाम्रो अध्यक्ष कमरेड केपी ओलीले भन्नुभएको छ, नीति पुष्पलालको भयो तर उनलाई नेता बन्न दिइएन,’ भुसालले भने, ‘यसो गर्दा नीति नै प्रष्ट हुनुपर्ने र त्यस अनुसारको नेतृत्व हुनुपर्ने ओली कमरेडले भनेको हुनाले यो विवादित विषय नै रहेन कि ?’
भुसालले थपे, ‘जसले नेकपा एमालेको नेता हुन चाहनेछन्, एमालेको नीति हाम्रो हो भनेर पुष्टि गर्नुपर्छ भनेर हाम्रो अध्यक्षले जोड दिनुभएको सन्दर्भमा त्यसैलाई हेर्ने हो कि भन्ने लाग्छ ।’
भर्खर पार्टी विभाजित भएको हुनाले अहिले यी मुद्दामा कार्यकर्तालाई कित्ताकाट गरेर नजाने कुरामा आफूहरु अहिले ओलीसँग पनि सहमतिकाे तर महाधिवेशनमा यसबारे बहस हुने उनको भनाइ छ।
‘पछिल्ला दिनमा हाम्रो सामूहिकता र हाम्रो संगठनात्मक प्रणाली धेरै नराम्रोसँग विग्रेर गएको छ,’ भुसालको भनाइ छ, ‘अस्ति विधान महाधिवेशन हामीले जसरी गर्यौं, यो हेर्ने हो र यसैलाई हामीले एमालेको सांगठानिक जीवन भन्ने हो भने वास्तवमा हामी ध्वस्त भइसकेका छौं ।’
उनले थपे, ‘यसबाट मुक्त हुने कार्यक्रम पार्टीले दिन्छ कि दिँदैन र यो काम संस्थागत प्रणालीमा गर्छ कि गर्दै भन्ने कुरा आउँदो महाधिवेशन बहस हुनेवाला छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर