नेपाललाई इतिहास रच्ने मौका, ‘गर या मर’ को अवस्थामा भारत – Nepal Press
साफ च्याम्पियनसीप

नेपाललाई इतिहास रच्ने मौका, ‘गर या मर’ को अवस्थामा भारत

काठमाडौं । फुटबलमा भन्ने गरिन्छ- जित र हारबीच एक प्रतिशतको मात्र ‘मार्जिन’ हुन्छ । त्यही ‘मार्जिन’ लाई नेपाली प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले शनिबार पत्रकार सम्मेलनमा ईंगित गर्न खोजे । तर, जित र हारबीचको त्यो ‘मार्जिन’ आज माल्दिभ्सको राजधानी मालेमा नेपालको पक्षमा रहन्छ कि भारतको ? त्यो भने राती स्थानीय समयअनुसार पौने १० बजेदेखि सुरू हुने खेलले प्रस्ट पार्नेछ ।

अघिल्लो दुई खेलमा अंक बाँडेर आहत भएको सातपल्टको च्याम्पियन भारत साफ च्याम्पियनसीपअन्तर्गत ‘गर या मर’ को अवस्थामा नेपालसँग भिड्दै छ । दक्षिण एसियाका यी परम्परागत प्रतिद्वन्द्वी मालेको ८ हजार दर्शक अटाउने एक मात्र रंगशालामा १३ वर्षपछि पुनः भिड्दै छन् ।

सन् २००८ मा मालेमा भएको साफ च्याम्पियनसीपको समूह चरणको खेलमा भाइचुङ भुटिया र सुनिल क्षेत्रीको गोलको सहयोगले भारत ०-४ गोलले विजयी भएको थियो । १३ वर्षपछि सुनिलकै नेतृत्वमा भारत आज नेपालसँग भिड्दैछ ।

नेपाल प्रतियोगिताको दावेदार टोलीको रूपमा अंक तालिकाको शीर्ष स्थानमा छ । भुटान र पाकिस्तान अनुपस्थित साफ च्याम्पियनसीपअन्तर्गत यसपालीको खेल ‘राउन्ड रोबिन’ को आधारमा भइरहेको छ भने शीर्ष दुई स्थान ओगट्ने टिमले फाइनल भिड्न पाउने छन् ।

यस हिसाबले भारतलाई आजको खेल जित्नैपर्ने दबाब छ । नेपालका लागि भने साफ च्याम्पियनसीपको फाइनल पुगेर इतिहास रच्ने सुनौलो मौका छ । नेपाल हालसम्म साफ च्याम्पियनसीपको सेमिफाइनलभन्दा माथि उक्लिन सकेको छैन । च्याम्पियनसीपको इतिहासमा नेपालले एकपल्ट मात्र भारतलाई पराजित गरेको छ । सन् २०१३ काठमाडौंमा भएको प्रतियोगितामा अनिल गुरुङ र जुमानु राईको गोलमा नेपालले २-१ ले भारतलाई पराजित गरेको थियो । त्यसयता नेपाल ५ पल्ट भारतसँग पराजित भइसकेको छ ।

यसअघि सन् २०१५ भारतमा भएको साफ च्याम्पियनसीपमा नेपाल १-४ ले पराजित भएको थियो । त्यतिबेला पनि सुनिल क्षेत्रीले गोल गरेका थिए । विमल घर्तीमगरले सुरूआतको ३ मिनेटमै गोलको अग्रता दिलाए पनि नेपालले यसलाई कायम राख्न सकेन र नतिजा भारतलाई सुम्पियो ।

नेपाली टोलीको अहिलेको सकारात्मक पक्ष भनेको बलियो डिफेन्स हो । अनन्त तामाङ उत्कृष्ट लयमा देखिन्छन् । अग्रपंक्तिमा अञ्जन विष्टको प्रदर्शन प्रशंसनीय छ ।

यसपालि नेपालले समूह चरणको अघिल्लो दुई खेलमा प्रभावशाली प्रदर्शन गरेको छ । मनिष डाँगीले ८६ औं मिनेटमा गरेको गोलको सहयोगले आयोजक माल्दिभ्सलाई नेपालले उसकै घरमा १-० ले पराजित गर्दै सुखद सुरूआत गरेको थियो । साफ च्याम्पियनसीपमा माल्दिभ्समाथि नेपालको त्यो पहिलो जित पनि थियो । यस्तै, श्रीलंकालाई पनि दोस्रो खेलमा सुमन लामा, अञ्जन विष्ट र आयुष घलानको गोलमा ३-२ ले पराजित गर्दै नेपालले दुई खेलबाट ६ अंक बटुलेको छ ।

आजको खेलमा भारतलाई पराजित गरेको खण्डमा नेपालको फाइनल सुनिश्चित हुनेछ भने भारत लगभग प्रतियोगिताबाट बाहिरिने छ । भारत हाल अंक तालिकाको चौथो स्थानमा छ । उसले दुई खेलबाट २ अंक मात्र बटुलेको छ । नेपालपछि दोस्रो स्थानमा ४ अंकका साथ बंगलादेश छ भने तेस्रो स्थानमा ३ अंकका साथ माल्दिभ्स छ ।

सुनिल क्षेत्रीको गोलमा बंगलादेशसँग अग्रता बनाएको अवस्थामा अंक बाँड्न भारत वाध्य भयो । दोस्रो हाफको ५४ औं मिनेटदेखि १० खेलाडीमा सीमित भएको बंगलादेशबाट उल्टै बराबरी गोल खानु भारतका लागि कुनै कल्पना बाहिरको कुरा थियो । बंगलादेशले रातो कार्डका कारण ५४ मिनेटमा विश्वनाथ घोषलाई गुमाएको थियो ।

प्रतियोगितामा सबैभन्दा कमजोर आँकिएको श्रीलंकासँग पनि गोलरहित बराबरी खेल्नु भारतका लागि अर्को नमिठो नतिजा थियो । यसपालिकोे प्रतियोगितामा भारतीय टिम एकजुट भएर खेलेको देखिदैन । दक्षिण एसियाकै प्रभावशाली स्ट्राइकर मानिने सुनिल क्षेत्रीले आफ्नो स्तरअनुरुप प्रदर्शन गर्न सकेका छैनन् । केही समयअघि भारतीय टोलीमा सिनियर खेलाडी र क्रोएसियाली प्रशिक्षक इगोर स्टिमाकबीच सम्बन्ध त्यति सुमधुर नभएको खबर बाहिरिएको थियो ।

साफ च्याम्पियनसीपभन्दा अगाडि नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्न काठमाडौं आउने क्रममा प्रशिक्षक इगोरले सुरुमा सुनिललाई टिममा राखेका थिएनन् । तर, पछि दबाबका बीच पुनः उनलाई टिममा स्थान दिइएको थियो । काठमाडौंमा भएको दुई मैत्रीपूर्ण खेलअन्तर्गत पहिलो खेल १-१ को बराबरी र दोस्रो खेल १-२ गोलले नेपाल पराजित भएको थियो ।

यसपालिको साफ च्याम्पियनसीपअन्तर्गत दुवै खेलमा नेपालले गोलको अग्रता बनाएको थियो । नेपालका लागि यो अर्को सकारात्मक पक्ष हो । बंगलादेशविरूद्ध पहिलो गोलको अग्रता लिए पनि भारत बराबरीमा रोकिएको थियो । यसले भारतको डिफेन्सको पोल खोलेको छ ।

पहिलो खेलमा नेपालले अञ्जन विष्टको गोलमा ३७ मिनेटमा अग्रता लिएको थियो । तर, सुनिलले १८ यार्डबाट हानेको सटिक प्रहारमा अतिरिक्त खेलाडीको रूपमा मैदान प्रवेश गरेका अनिरुद्ध थापाले ६० मिनेटमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएका थिए । दोस्रो खेलमा फारुक चौधरी र सुनिल क्षेत्रीको गोलमा भारतले दोस्रो हाफमा दुई गोलको अग्रता लियो । नेपालका तेज तामाङले एक गोल फर्काए ।

आज नेपालले दिनेश राजवंशीलाई डिफेन्समा पुनः उतार्ने सम्भावना बलियो छ । श्रीलंकाविरूद्धको खेलमा उनलाई विश्राम दिँदै नेपालले सुमन अर्याललाई उतारेको थियो । माल्दिभ्सविरूद्ध दिनेशले पहेँलो कार्ड पाएका कारण श्रीलंकाविरूद्धको दोस्रो खेलमा प्रशिक्षक अल्मुताइरीले कुनै जोखिम लिन नचाहेका हुन् । दिनेशको अनुपस्थितिमा अल्मुताइरीले मिडफिल्डबाट खेल्ने रोहित चन्दलाई पनि डिफेन्सको भूमिकामा तल झारेका थिए । आज रोहितलाई उनले कुन पोजेशनबाट खेलाउँछन्, त्यसले नेपाल आक्रामकरूपमा प्रस्तुत हुन्छ कि डिफेन्सिभ भन्ने निर्धारण हुनेछ ।

भारतीय प्रशिक्षक इगोरले नेपाल ‘काउन्टर अट्याक’ मा प्रभावशाली देखिएको भन्दै शनिबारको पत्रकार सम्मेलनमा भारत ‘आक्रामक’ रूपमा प्रस्तुत हुने संकेत देखाइसकेका छन् ।

नेपाली टोलीको अहिलेको सकारात्मक पक्ष भनेको बलियो डिफेन्स हो । अनन्त तामाङ उत्कृष्ट लयमा देखिन्छन् । अग्रपंक्तिमा अञ्जन विष्टको प्रदर्शन प्रशंसनीय छ ।

मार्विन ह्यामिल्टन, अहमद वासेम राजेक र डिल्लन डि सिल्भाजस्ता तीन प्रभावशाली श्रीलंकन मिडफिल्डरलाई आफ्नो डिबक्सभित्र हल्लिन नदिएका नेपाली डिफेन्डरको ‘वाल’ तोड्न भारतले विशेष रणनीति बुन्ने पक्का छ । कप्तान तथा गोलकिपर किरण चेम्जोङको प्रदर्शन पनि नेपालका लागि उत्तिकै महत्वपूर्ण हुनेछ ।

यसपालिको साफ च्याम्पियनसीपअन्तर्गत दुवै खेलमा नेपालले गोलको अग्रता बनाएको थियो । नेपालका लागि यो अर्को सकारात्मक पक्ष हो । बंगलादेशविरूद्ध पहिलो गोलको अग्रता लिए पनि भारत बराबरीमा रोकिएको थियो । यसले भारतको डिफेन्सको पोल खोलेको छ ।

आजको खेलमा भारत सुरुदेखि नै गोलको खोजीमा निस्किने पक्का छ। किनभने नेपालसँगको बराबरी पनि भारतका लागि प्रतियोगिताबाट बाहिरिने कारण बन्न सक्छ । यसपछि भारतको अन्तिम खेल डिफेन्डिङ च्याम्पियन माल्दिभ्सविरूद्ध हो । नेपालले भने अन्तिम खेल बंगलादेशविरूद्ध अक्टोबर १३ मा खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *