वागमतीको मुख्यमन्त्रीमा कांग्रेसको पनि दाबी – Nepal Press

वागमतीको मुख्यमन्त्रीमा कांग्रेसको पनि दाबी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) लाई दिने सहमति भएको भनिएपनि नेपाली कांग्रेसले वागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्ने भएको छ ।

कांग्रेस वागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीमा दाबी गर्ने र अन्य दलहरूसँग छलफल गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी एक प्रदेशसभा सदस्यले प्रमुख प्रतिपक्षी दल भएकोले नयाँ सरकारको नेतृत्वमा कांग्रेसको स्वभाविक दाबी रहने बताए ।

‘प्रतिपक्षमा रहेकामध्ये कांग्रेस सबैभन्दा ठूलो पार्टी हो । हाम्रो सम्भावना रहुन्जेल मुख्यमन्त्रीमा हाम्रो दाबी रहन्छ । यसबारे समाजवादी र माओवादीसंग पनि छलफल गर्छौ’, ती सांसदले भने ।

कांग्रेसको वागमती प्रदेशसभा दलका नेता ईन्द्र बानियाँ मुख्यमन्त्रीको दाबेदार हुन् । तर, संघीय सत्ता गठबन्धनभित्र वागमती प्रदेशको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीलाई दिने सहमति भइसकेको छ । सोही अनुसार समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेलाई भावी मुख्यमन्त्रीको रूपमा हेरिएको छ । समाजवादीलाई प्रदेश १ मा पनि मुख्यमन्त्री दिने सहमति कांग्रेस र माओवादीले गरिसकेका छन् ।

वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज प्रदेशसभामा विश्वासको मत लिँदैछिन् । शाक्यले विश्वासको मत नपाउने समीकरण स्पष्ट भइसकेकोले विपक्षी दलहरू भावी सरकारको नेतृत्वका लागि अग्रसर भएका हुन् । कांग्रेसले पनि मुख्यमन्त्रीमा दाबी गरेसँगै संघीय सत्ता गठबन्धनमा थप छलफल आवश्यक देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर