सामूहिक बाख्रापालनले दीर्घकालीन लाभ, दसैं नजिकिँदा देउखुरीका किसानलाई खसीबोका बेच्न भ्याइ-नभ्याइ – Nepal Press

सामूहिक बाख्रापालनले दीर्घकालीन लाभ, दसैं नजिकिँदा देउखुरीका किसानलाई खसीबोका बेच्न भ्याइ-नभ्याइ

रूपन्देही । हिन्दू नेपालीको महान चाड दसैं नजिकिँदै गर्दा दाङको देउखुरी क्षेत्रका बाख्रापालक किसानलाई खसीबोका बिक्री गर्न भ्याइ नभ्याई छ । लमही नगरपालिकाको देउखुरीस्थित वडानम्बर ७, ८ र ९ लाई बाख्रा हवको रुपमा विकास गर्ने योजनाका साथ स्थानीय सरकारले दीर्घकालीन रणनीति बनाएर काम गर्न थालेपछि प्रत्येक वर्ष किसानहरु खसीबोका विक्री दर बढाउँदै लगेका छन् ।

विशेषगरी महिलाहरु बाख्रापालनतर्फ आकर्षित छन् । उनीहरु महिला सहकारी स्थापन गरी समूहमा आवद्ध भएर सहुलियतमा ऋण लग्ने र व्यवसायिक रुपमा बाख्रापलन गर्दै आइरहेका छन् ।

दाङको लमही नगरपालिका वडानम्बर ७ बनघुस्रीमा रहेका दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष पुनम घर्तीले सहकारी संस्थामा १ हजार ६०० जना आवद्ध भएकोमा ४ सय जनाले बाख्रापालन गर्दै आएको त्यसमा २० देखि २५ जनाले मुख्य पेसा नै बाख्रापालन रोजेको बताइन् ।

‘गतवर्षको तुलनामा यसवर्ष खसीबोका ३० प्रतिशतले बढेकोले बजारीकरणको लागि स्थानीय सरकार, गैरसरकारी संस्थासंग समेत पहल गरिरहेका छौं, किसानसँग खसीबोका खरिद गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र स्थानीय बजारमा बिक्री गर्ने गरेका छौं, घर्तीले भनिन् ।

दाङ देउखुरी उपत्यकामा बाख्रापालनलाई मुख्य लक्ष्य बनाएर लमही नगरपालिका वडा नम्बर १ निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्था, समुन्नती सामाजिक उद्यमी महिला सहकारी संस्थाले एक सय २० गोटा, ७ नम्बर वडाको दिपन सामाजिक उद्यमी महिला सहकारी र वडा नम्बर ९ को कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाले काम गरिरहेका छन् ।

यसबर्ष निलकमल सामाजिक उद्यमी सहकारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई २ सय वटा खसीबोका बिक्री गरेको छ । यस्तै दिपनले दुइ सय, समुन्नतीले १ सय २० वटा, कर्मठले १ सय खसीबोका बिक्री गरेको छ ।

स्थानीय बजारको भन्दा राम्रो मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गर्ने भएकाले किसानहरुले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई बढीभन्दा बढी खसीबोका खरिदको लागि आग्रह गर्ने गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २५ केजी सम्मको खसीलाई जिउँदो २० देखि २५ किलोसम्मको खसी ५५० प्रतिकिलो २५ देखि माथि ५६५ प्रतिकिलो खसी खरिद गर्ने गरेको छ । यस्तै बोकाको ५४५ प्रतिकिलोका दरले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गरेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड केन्द्रीय कार्यालयका वरिष्ठ सहायक रुद्र देवकोटाले आफूहरुको बजेट सिलिङ अनुसार मात्र खसीबोका खरिद गर्ने भएकाले धेरै परिमाणमा उठाउन नसक्ने बताए । ‘मूल्य सरकारले तोकेअनुसार नै दिने गरेका छौं, तर कोटा सीमित हुने भएकाले स्थानीयले बढाउन माग गरिरहनु भएको छ, देउखुरी क्षेत्रमा खसी बोकाको उत्पादन बढी भएको देखियो,’ उनले भने ।

बाख्रापलनको लागि गैरसरकारी संस्थाले पनि सहयोग गरेको छ । हेपर इन्टरनेशनल नेपाल नामक संस्थाबाट किसानहरुलाई घाँसको बीउ र प्राविधिक सहयोग र बजारीकरणमा सहयोग पुर्‍याउँदै आएको ग्रामीण महिला उत्थान केन्द्र दाङका कार्यक्रम संयोजक भीमकान्त चौधरीले बताए । स्थानीयस्तरमै पशुपालनबाट आम्दानी बढ्न थालेपछि समूहमा काम गर्ने किसान उत्साहित भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर