सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसको दावी : बालुवाटार पुगेका सांसदलाई देउवाले के भने ? – Nepal Press

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसको दावी : बालुवाटार पुगेका सांसदलाई देउवाले के भने ?

कैलाली । प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्न कांग्रेस सांसदहरूले आग्रह गरेका छन् ।

कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलसहितको नेताहरूले प्रधानमन्त्री देउवालाई सुदूरपश्चिम सरकारबाट कांग्रेसलाई सहयोग नभएको भन्दै मुख्यमन्त्री परिवर्तन गर्न आग्रह गरेका हुन् ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री भेट्न दलका नेता रावल सहित प्रमुख सचेतक गोबिन्द बोहरा र सांसद भरत खड्का पुगेका थिए । करिब ३० मिनेट सम्म तीन जनाले प्रदेशमा गठबन्धनको आभास नभएको भन्दै प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

‘सुदूरपश्चिम प्रदेशमा हामीले सरकारलाई सहयोग गरिरहेका छौँ । तर, सरकारले हामीलाई सहयोग गनेर’ प्रधानमन्त्रीसँगको भेटमा काँग्रेस सांसदहरूले भनेका थिए ‘के सुदूरपश्चिम प्रदेशमा दुई पार्टीको मात्रै गठबन्धन हो । ’

माओवादी नेतृत्वको सुदूरपश्चिम प्रदेशमा अहिले नेकपा एस र माओवादी मात्रै सरकारमा छन् । केन्द्रमा कांग्रेस र राजपासहितको गठबन्धन हुँदा प्रदेशमा ती दुवै दललाई बेवास्ता गरिएको उनीहरूले प्रधानमन्त्रीलाई गुनासो गरेका थिए ।

‘गठबन्धनको नीति नियम अनुसार अघि बढ्नुपर्छ ’ भेटका तीनै जनाले एकै स्वरमा भनेका थिए , ‘सुदूरपश्चिम प्रदेश काँग्रेसको भाग पर्छ भने पनि चाडै निर्णय लिनुपर्छ । ’

तीनै जनको गुनासो सुनेपछि प्रधानमन्त्री देउवाले गठबन्धनको बैठक राखेर आवश्यक निर्णय लिने बताएका थिए । ‘यो सबैको साझा कुरा हो । यसमा सबे मिलेर अघि बढ्नु पर्छ ’ प्रधानमन्त्रीले भनेका थिए, ‘सम्बन्धित पार्टीका नेताहरूले पनि बुझ्नु पर्छ । मैले प्रस्ताव राख्नु ।’

शनिबार नै यस विषयमा छलफल गर्ने तयारी रहेको र आइतबार सम्म यस विषयमा ठोस निर्णय लिने प्रधानमन्त्रीको मनसाय रहेको बताइएको छ ।
नेपाली काँग्रेसले प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीको दाबी छाडेपछि सुदूरपश्चिमका काँसले नेतृत्व पाउनु पर्ने बताउँदै आइरहेका छन् ।

काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गरिरहेको छ । माओवादीले सुदूरपश्चिम, कर्णाली र लुम्बिनीसमेत गरी तीन वटा प्रदेशमा मुख्यमन्त्री पाएको छ । सुदूरपश्चिम प्रदेशमा काँग्रेसले नेतृत्व लिए काँग्रेस माओवादी र एसले २÷२ प्रदेशको नेतृत्व पाउने छन् ।

हाल सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादीबाट त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । उनलाई एकीकृत समाजवादीको समर्थन छ । यसअघि विश्वासको मत लिँदा भट्टलाई नेपाली काँग्रेसले मतदान नगरी तटस्थ बसेको थियो । हाल ५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीका १४, माओवादीका १३ र काँग्रेसका १२ सांसद छन् ।

प्रतिपक्षी एमालेसँग १० सांसद छन् भने साना दुई दलमा २ सांसद छन् । दुई मध्ये एक जना जसपा र एक जना लोसपाका सांसद हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर