कांग्रेस प्रतिनिधिमण्डल र जयशंकरबीच भेटवार्ता : सीमावार्ता सुरु र तुइन घटना छानबिन गर्न प्रस्ताव – Nepal Press

कांग्रेस प्रतिनिधिमण्डल र जयशंकरबीच भेटवार्ता : सीमावार्ता सुरु र तुइन घटना छानबिन गर्न प्रस्ताव

काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली काँग्रेसको प्रतिनिधिमण्डलले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको छ । नेपाली प्रतिनिधिमण्डलले जयंशकरसँग सीमावार्ता सुरु गर्न र दार्चुला तुइन घटनाको पुनः छानबिन गर्न प्रस्ताव गरेको छ ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको परिवारलाई क्षतिपूर्ति दिन समेत ध्यानाकर्षण गराएको र जयशंकर यसबारे सकारात्मक रहेको जानकारी दिए ।

‘सीमासहित तुइन प्रकरणका विषयमा खुलेर छलफल गरौं भनेर प्रस्ताव गरेका छौं’ महतले दिल्लीबाट भने, ‘भारतमा नोटबन्दीपछि नेपालमा बाँकी रहेको भारु सटही गरिदिन पनि आग्रह गरेका छौँ । नेपालले खरिद गरेको कोभिसिल्डको आपूर्ति चाँडै होस्, नेपाललाई मल उपलब्ध गराउन सहजीकरण होस् पनि भनेका छौँ ।’

भेटवार्तामा नेता महतसँगै कांग्रेस नेताद्धय उदयशमशेर राणा र अजय चौरासिया पनि सहभागी थिए । भारततर्फबाट जयशंकरसँगै भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले र विदेश विभाग सदस्य आश्विन जोहर सहभागी थिए । कांग्रेस प्रतिनिधिमण्डलले नेपालका परराष्ट्र मन्त्रालयले पठाएको कूटनीतिक नोटबारे समेत जयशंकरलाई ध्यानाकर्षण गराएको थियो ।

जवाफमा जयशंकरले नेपाल सरकारसँग निकट रहेर सहकार्य भैरहेको र नेपाल बलियो होस् भन्ने भारतीय चाहना रहेको समेत बताएका थिए । देउवा सरकारसँग नजिकबाट सहकार्य गर्न भारत तयार रहेको बताउँदै उनले सरकारलाई शुभेच्छा रहने बताएका थिए । भारतले नेपाललाई मल उपलब्ध गराउने र खोप आपूर्ति पनि सुचारु गर्ने आश्वासन जयंशकरले आफूहरुलाई दिएको नेता महतले जानकारी दिएका छन् ।

महत नेतृत्वको टोली आज शनिबार उत्तरप्रदेशको लखनउ पुगेर मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गर्ने कार्यक्रम छ । टोलीले बिहीबार बिहीबार दिल्ली पुगेको टोलीले भाजपा अध्यक्ष जेपी नड्डासँग बिहीबार अपराह्न भेटवार्ता गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर