शशी श्रेष्ठः राज्यमन्त्री भएको १५ वर्षपछि मन्त्री – Nepal Press

शशी श्रेष्ठः राज्यमन्त्री भएको १५ वर्षपछि मन्त्री

काठमाडौं । नवनियुक्त भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठको राजनीतिक यात्रा निकै उत्प्रेरक छ । नेपाली कम्युनिष्ट आन्दोलनका लागि उनको नाम नौलो नभए पनि आमजनतामाझ खासै परिचित भने होइनन् ।

माओवादी नेता नारायणकाजी श्रेष्ठनिकट मानिने शशी माओवादी केन्द्रको समानुपातिक कोटाबाट सांसद भएकी हुन् । उनी अहिले प्रतिनिधिसभाक राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पनि छन् ।

शशी वाम विश्लेषक श्याम श्रेष्ठकी बहिनी हुन् भने नेकपा माओवादी केन्द्रकै नेता लीलामणि पोखरेलकी श्रीमती हुन् ।

नेकपा (चौम)देखि माओवादी केन्द्रसम्म

औपचारिकरुपमा श्रेष्ठको राजनीतिक यात्रा २०३४ सालमा अखिल नेपाल महिला संघमा आवद्ध भएपछि सुरु भयो । २०३५ सालमा उनी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनमा पनि आवद्ध भइन् ।

२०३६ सालमा मोहनविक्रम सिंह र निर्मल लामाले नेतृत्व गरेको नेकपा (चौम)को काठमाडौं जिल्ला कमिटीमा आवद्ध भएर पूर्णकालीन सदस्य भइन् ।

२०३६ सालमै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, काभ्रेपलाञ्चोक–काठमाडौं सम्पर्क समितिको संस्थापक भएकी उनी २०३७ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकै सातौ राष्ट्रिय सम्मेलनको आयोजक समिति सदस्य पनि बनिन् ।

२०३७ मा नै पारिजातको संयोजकत्वमा गठित अखिल नेपाल महिला संघको पहिलो राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य भएकी श्रेष्ठ अखिल नेपाल युवक संघको संस्थापक एवं सचिवालय सदस्युहुँदै २०३८ सालमा स्वतन्त्र विद्यार्थी युनियन, पद्यकन्या क्याम्पसको सभापतिको जिम्मेवारी पुगिन् ।

२०४० सालदेखि २०५९ सालसम्म करिब २० वर्ष अखिल नेपाल महिला संघको केन्द्रीय अध्यक्ष भएर काम गरिन् । २०४७ सालमा अखिल नेपाल राष्ट्रिय महिला मञ्चको संस्थापक एवं सचिवालय सदस्य भइन् ।

२०५१ सालमा नेकपा एकता केन्द्र बाग्मती क्षेत्रीय ब्यूरोको सदस्य, २०५२ सालमा सचिवालय सदस्य, २०५५ मा संयुक्त जनमोर्चा नेपालको केन्द्रीय हुँदै २०५८ देखि २०६४ सालसम्म उनले एकता केन्द्र मसाल काठमाडौ्र–रामेछाप सम्पर्क समितिको इन्चार्ज भएर काम गरिन् । २०५९ सालमा जनमोर्चा नेपालको सचिवालय सदस्य भइन् ।

२०५९ देखि २०६२-०६३ सम्म तत्कालीन सात राजनीतिक दलको संयुक्त आन्दोलनको वार्ता एवं आन्दोलन परिचालन समिति सदस्य भएर काम गर्ने मौका पनि उनले पाइन् ।

२०५९ सालदेखि २०६५ सालसम्म करिव ७ वर्ष अखिल नेपाल महिला संघको सल्लाहकार समिति अध्यक्ष भएकी शशीले २०६० साालमा जनमोर्चा नेपालको महिला विभाग प्रमुखको जिम्मेवारी निर्बाह गरिन् । उनी तत्कालीन विद्रोही माओवादीसँग भएको बृहत् शान्ति सम्झौता निर्माण समितिको सदस्य पनि भइन् ।

नारायणकाजी श्रेष्ठ लाइनकै अन्जना विसंखेलाई मन्त्री बनाउने कि शशीलाई भन्ने कुरा अन्तिममा आएर मात्रै टुंगिएको हो ।

त्यसपछि २०६५ सालमा नारायणकाजी श्रेष्ठ नेतृत्वको जनमोर्चा तत्कालीन नेकपा माओवादीमा समाहित भएर बनेको एकीकृत नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य बनिन् । २०६५ मा नै एकीकृत नेकपा (माओवादी) केन्द्रकै नेवा राज्य समितिको सहइन्चार्ज तथा २०६६ देखि २०७२ सम्म अन्तर पार्टी महिला सञ्जालको अध्यक्ष भएर काम गरिन् उनले ।

२०७१ मा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को फ्राक्सन इन्चार्ज, २०७१ मा नै एकीकृत नेकपा माओवादी केन्द्रको पोलिटव्यूरो सदस्य, २०७२ मा एकीकृत नेकपा माओवादीको महिला विभाग प्रमुखहुँदै २०७२ मै एकीकृत नेकपा (माओवादी)को सचिवालय सदस्य भइन् ।

त्यसपछि उनी नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य बनिन् । र, अहिले उनी भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्रीमा नियुक्त भएकी छन् ।

नारायणकाजी श्रेष्ठ लाइनकै अन्जना विसंखेलाई मन्त्री बनाउने कि शशीलाई भन्ने कुरा अन्तिममा आएर मात्रै टुंगिएको हो ।

राज्यमन्त्री भएको १५ वर्षपछि मन्त्री

श्रेष्ठ १५ वर्षअघि राज्यमन्त्री भएकी थिइन् । २०६३ सालमा तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी स्वास्थ्य राज्यमन्त्री थिइन् ।  त्यतिबेला उनले करिव साढे २ बर्ष राज्यमन्त्रीको जिम्मेवारी पाएकी थिइन् ।

उनीसँगै राज्यमन्त्री बनेकी पम्फा भुसालले अहिले नेकपा माओवादी केन्द्रको तर्फबाट सरकारको नेतृत्व गरिरहेकी छन् भने ज्ञानेन्द्रबहादुर कार्की यसअघि नै मन्त्री भइसकेका छन् ।

सामाजिक आन्दोलन पनि सँगसँगै

२०३७ सालमा नमिता–सुनिता हत्याकाण्डको विरोधमा सडक आन्दोलनको नेतृत्वकर्ता उनी २०३७ सालको जनमत संग्रहको परिणामविरुद्ध पनि सडकमा निस्किइन् । २०४० सालदेखि विभिन्न समयमा भएका संयुक्त महिला आन्दोलनको नेतृत्व गरेकी हुन् २०४६ सालको आन्दोलनमा पनि सक्रिय सहभागी भइन् ।

२०५५ साल भदौ ३ गते छोरा र छोरीलाई पैतृक सम्पत्तिमा समान अधिकारसम्बन्धी विधेयक संशोधनसहित पारित गराउन र विभेदपूर्ण कानूनको अन्त्य गर्न विरोधस्वरुप संसद भित्रै कालो झण्डा देखाउने आन्दोलनको पनि उनले नेतृत्व गरेकी थिइन् । २०६२/६३ सालको ऐतिहासिक जनआन्दोलनमा उनले जनमोर्चा नेपालको तर्फबाट नेतृत्व गरेकी थिइन् ।

राजनीतिक र महिलाआन्दोलनका क्रममा २०३७ र २०४२ सालमा गरी उनी दुईपटक जेल परेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *