नाकमा मकैको दाना अड्केकी बालिकाको अस्पतालमा मृत्यु, उपचारमा लापरवाही भएको आफन्तको आरोप – Nepal Press

नाकमा मकैको दाना अड्केकी बालिकाको अस्पतालमा मृत्यु, उपचारमा लापरवाही भएको आफन्तको आरोप

सुर्खेत । दैलेखको नारायण नगरपालिका वडा नं. ४ स्रोत निवासी साढे दुइ वर्षकी बालिका कुसुम कटुवालको ओभरडोज औषधीका कारण मृत्यु भएको बालिकाकी आमाले दुखेसो पोखेकी छिन् ।

‘मेरो छोरीको चार दिन अघि नाकमा मकैको दाना अडकेको थियो । छोरीलाई कुनै पनि समस्या देखिएको थिएन । अलिकति नाकबाट श्वास फेर्न बाहेक केहि पनि भएको थिएन्’ प्रदेश अस्पताल कालागाउँमा रोएरै बसिरहेकी पूजा कटुवालले भनिन्, ‘अलिअलि दुखेको समयमापछि समस्या हुन सक्छ भन्ने चिन्ताले मैले नानीलाई दैलेख जिल्ला अस्पतालमा लिएर गएकी थिएँ ।’

दैलेखका डाक्टरलाई सोध्दा प्रदेश अस्पतालमा उपचार हुने भनेर लैजान सुझाव दिइएकोले आफूले यहाँ ल्याएको उनको भनाई छ ।

‘अस्ति विदाको दिन थियो । त्यहि भएर हिजो विहानै मैले प्रदेश अस्पतालमा ल्याएकी थिएँ । अस्पतालमा एकपटक डाक्टरले जाँच गरे ।’ उनी भन्छिन्, ‘अस्पतालका डाक्टरले नाक सफा गरेको हो । तर श्वास नलीमा समस्या आएको भनेर भने । त्यसपछि मलाई अस्पतालमा आइसीयु खाली छैन भन्दै शिक्षण अस्पतालमा लैजानुपर्ने बताएका थिए । खाली भए यतै राखौंला भनेर आश्वासन दिए,’ उनी भन्छिन्, ‘बहिनीलाई कुरुवा लिएर म यहाँ आएकी थिएँ । मेरो श्रीमान वैदेशी रोजगारीका लागि कतारमा कार्यरत हुनुहुन्छ । स्वास्थ्यमा खासै समस्या नभएकी मेरी छोरीको राति दश बजे मृत्यू भएको भनेर त्यहाँका डाक्टरले जानकारी दिए ।’

उनले आफ्नो छोरीको ज्यान डाक्टरकै लापरवाहीका कारण भएको बताउँदै घटनाको छानविन हुनुपर्ने माग गरिन् । ‘मैले छोरीलाई धेरै समस्या नहोस् भनेर अस्पतालमा ल्याएकी हो । छोरी गुमाउन होइन,’ नेपालप्रेससँग उनले भनिन् ।

दैलेख जिल्ला अस्पतालबाट बालिकालाई रेफर गर्ने डाक्टर जगत थापाले बालिकाको ज्यानै जाने अवस्था नभएको बताए ।

‘उनको ज्यान जानपर्ने अवस्था थिएन । हामीकहाँ बालिका आउँदा स्वस्थ थिइन् । बालिकामा केहि समस्या थिएन्,’ नाक भित्र दाना अड्केको अभिभावकले बताएको भन्दै डा. थापाले भने, ‘हामीले हेर्दा देखेनौं । दुरविनबाट हेर्नुपर्ने भएका कारण हामीसँग सम्भवना नहुँदा सुर्खेत रेफर गरेका हों ।’

प्रदेश अस्पताल कालागाउँका प्रवक्ता डा. विकास केसीले आफूलाई यसबारेमा खासै जानकारी नभएको बताए । ‘म अस्पताल पुग्दैछु । केहि समयपछि जानकारी दिउला नि ।’ उनले भने, ‘पत्रकारले अलि मेहनत गर्नुपर्‍यो नि है, यतै आउनुस म पनि अस्पताल पुग्दैछु ।’


प्रतिक्रिया

One thought on “नाकमा मकैको दाना अड्केकी बालिकाको अस्पतालमा मृत्यु, उपचारमा लापरवाही भएको आफन्तको आरोप

  1. बाहिर झिलिमिलि भित्र केहिनमिलि भन्ने उखान छ हजुर ।

Leave a Reply to दिपक राज जैसी Cancel reply

Your email address will not be published. Required fields are marked *