अनि उसले आत्महत्या गरी – Nepal Press
पुस्तक अंश

अनि उसले आत्महत्या गरी

लजताको आँखाभरी आँसु छ । शरीर थरर काँपेको छ । ऊ पश्चातापको भावमा मलाई नियालिरहेकी छे । मेरो उसलाई मौन समर्थन छ । तर, शब्दमार्फत माफी भने दिन सक्दिनँ ।

श्रीमान्बाट पाएका चोटहरु उसले नदेखाए पनि उसका आँखाले संकेत गरिरहेका छन् । एकदिन लजताले फोन गरेर भनेकी थिई, ‘उसले मलाई धेरै कुट्छ अविरल ।’

‘तिमीले मेरो मनलाई कुट्यौँ, उसले तिम्रो शरीरलाई । कुट्नेहरु कुटिन्छन् पनि लजता’ मैले यत्ति भनेर फोन राखिदिएँ ।

उसले केही दिनपछि फोन गरेर फेरि भनी, ‘उसले मलाई चुरोटको ठूटाले डोबिदिन्छ अविरल ।’

‘तिमीले मलाई प्रेमको ठूटाले डोब्यौ, उसले तिमीलाई चुरोटको । डोब्नेहरु डोबिन्छन् लजता’ मैले उत्तर फर्काएँ ।

फेरि उसले एक दिन फोन गरेर भनी, ‘उसले मेरो हात तातो पानीमा डुबाइदियो अविरल ।’

‘तिमीले मेरो मन डुबाइदियौ, उसले तिम्रो हात । डुबाउनेहरु डुबिन्छन् लजता’ मैले फोन राखिदिएँ ।

‘आज त उसले मलाई शरीरभर नीलडाम हुनेगरी कुट्यो अविरल’ एक सातापछि फोन गरेर लजताले भनी ।

मैले जवाफ फर्काएँ ‘तिमीले मेरो मुटुमा हिर्कायौ, उसले तिम्रो शरीरमा । चोट त तिमीलाई भन्दा मलाई नै बढी लागेको छ लजता ।’

त्यसपछि उसले लामो समय मलाई फोन गरिन । एक महिनापछि फोन गरेर भनी, ‘उसले मलाई यसरी पिट्यो कि म बेहोस भएछु । दुई साता अस्पताल बसेर आएकी ।’

अब भने मसँग उसलाई दिने कुनै उत्तर थिएन । किन कि उसले मलाई जति चोट दिए पनि म भट्टी भने पुगेको थिइन । नत्र भनिदिन्थेँ होला, ‘उसले दिएको चोट पखाल्न तिमी अस्पताल पुग्यौ, म भट्टी पुगेँ लजता ।’

‘एक पटक तिमी मलाई भेट’ मैले यत्ति भनेर फोन राखेँ ।

हो, यस्तै फोन संवादपछि अहिले हाम्रो भेट भइरहेको छ । म उसलाई नियालिरहेको छु । ऊ मसँग आँखा जुधाउन सकिरहेकी छैन ।

सकोस् पनि कसरी । चार वर्षदेखिको प्रेम जो टुक्राएकी थिई । मेरो प्रेम टुक्राएर हिँड्न उसलाई सिसाको गिलास टुक्राएजत्तिकै सहज लाग्यो । टुक्रियो सकियो ।

अन्तिम पटक उसले मलाई मेसेज गरी ‘म परिवारको दबाबमा परेँ । मेरो बिहे हुने भयो । तिमी अब मलाई डिस्टर्ब नगर्नु ।’

उसले यति भन्दा एक पटक मलाई आफ्नो राम्रो ख्याल गर्नु भनिन । तिमीलाई सम्झना छ भनिन । अरु त अरु एक पटक सरी मिस यू, आई लभ यू भन्नसमेत आवश्यक ठानिन ।

यदि यो उसको परिवारको निर्णय वा दबाब थियो भने उसले प्रेमका लागि संघर्ष गर्नुपर्ने । मैले कैयौँ पटक उसलाई ‘हामी भागेर कतै जाऔँ’ भनेर मेसेज नगरेको होइन । तर उसले मेरा मेसेजलाई नजरअन्दाज गरिदिई । यसको अर्थ, त्यो निर्णय उसकै थियो । मैले योभन्दा अरु के बुझ्ने ?

०००

ऊ आज मेरो अगाडी बसेर गल्तीको प्रयाश्चित गर्दैछे । मेरो मन बहकाउँदै छे । के उसको चाहना म फेरि उसलाई अपनाऊँ भन्ने हो ? हो भने ऊ किन बोल्दिन । किन खोल्दिन मनको भावना ।

उसले भन्दैमा म उसलाई अपनाउन सक्छु त ? म किन यसरी उसलाई अझै उत्तिकै प्रेम गर्छु !

‘अविरल’ लामो मौनतापछि आँखाभरी आँसुसँगै उसको आवाज आउँछ । म उसलाई नियाल्छु । ऊ झन् आँसु झार्दै जान्छे । कस्सो मान्छेहरु छैनन्, वरिपरी ।

‘मैले ठूलो गल्ती गरेँ । म तिमीसँग माफी माग्न लायक त छैन तर, म अब बाँच्न चाहन्न । अन्तिमपटक तिमीलाई भेट्न मन थियो । यत्ति हो’ उसको आँसुले मलाई पगाल्दै लगिरहेको छ ।

म उसको हात समाउँछु । र, भन्छु्, ‘हिँड तिमी र म धेरै टाढा जाऊँ ।’ यतिभन्दा मेरा आँखा पनि रसाइसकेका छन् । मसँग प्रेमको परिभाषा त छैन तर, मलाई थाहा छ प्रेमको अन्त्य प्रेम नै हो । र, मेरो अन्त्य लजता ।

‘मलाई माफ गरिदेऊ अविरल । मैले तिमीलाई धोका दिएँ । तर बिहे मेरो बाध्यता थियो । बुबाले त्यो केटासँग बिहे नगरे परिवारसँग तेरो सबै सम्बन्ध सकिन्छ भन्नुभयो । मैले मलाई जीवन दिने परिवार गुमाउन चाहिन’ ऊ आँसु पुछ्छे ।

‘प्रेममा धोका हुँदैन लजता । न हार या जित नै हुन्छ । यो सम्बन्ध त केवल विश्वासले टिकेको हुन्छ । तिमीले विश्वास तोड्यौ, प्रेम तोड्यौ’ म पनि आँसु पुछ्छु ।

ऊ मेरो अङ्गालोमा बेरिन्छे । पालैपालो मेरा गाला चुम्छे र मुस्कुराउँछे, ‘दुई वर्षपछि बल्ल आज हाँस्न पाएँ । तिमीबिना त मेरो खुसी पनि गायब हुँदोरहेछ ।’ निकैबेर ऊ मेरो अङ्गालोमा बेरिन्छे । दुवै मौन हुन्छौँ ।

झन्डै २० मिनेटपछि अङ्गालोबाट छुटिएर ऊ झोलामा केही खोजेजस्तो गर्छे । तत्काल मेरो हातमा एउटा खाम थमाइदिन्छे । म खाम खोल्न खोज्छु । ऊ रोक्छे । भन्छे, ‘अहिले होइन, घरमा गएर पढ्नु ।’

म खाम पाइन्टको गोजिमा राख्छु अनि उसलाई नियाल्छु । कुनै दिन हामी आँखाको मिलनबाट प्रेम साट्थ्यौँ । हाम्रा ओठ जोडिदा भन्दा आँखा जोडिदा बडो आनन्द आउँथ्यो । यतिबेला म त्यहि अनुभूत गरिरहेको छु । म फेरि त्यो मिठास गुमाउन चाहन्न । भन्छु, ‘हामी भोलि बिहान ४ बजे भेटौँ । कहाँ जाने, के गर्ने म योजना बनाउँछु ।’

‘पशुपतिमा भेटौँ ल’ यति भनेर ऊ उठ्छे । आँसु सँगै उसका पाइला पनि छुट्दै जान्छन् । पछाडि फर्किएर मलाई हेर्छे भन्ने आशमा धेरै टाढा पुग्दासम्म म उसलाई नियाल्छु । तर, ऊ त्यसो गर्दिन । बरु एकैछिनमा मेरो दृश्यबाट हराइदिन्छे ।

०००

बिहान ४ बजे म पशुपति पुग्छु । उसलाई फोन गर्छु । फोन स्वीच अफ छ । तारन्तार फोन गर्दा पनि सम्पर्क हुन सक्दैन । समयले नेटो काटेर ५ बजाउँछ । ६ पनि बज्छ । ७ बज्छ । ८ बज्छ । तर न उसले फोन गर्छे न लाग्छ नै ।

म उसको खोजिमा पशुपतिका हरेक गल्ली, पाटीपौवा र मन्दिर चहार्छु । तर, उसलाई भेट्दिन । निराश भएर अघिल्लो दिन भेटेकै ठाउँमा आएर बस्छु । उसले मलाई फेरि धोका दिई, मनले भन्छ । ऊ किन मलाई यसरी तड्पाउँछे, पटक–पटक किन मेरो विश्वास तोड्छे । मनले मनसँग अनेक सवाल गर्छ । जसको मसँग एउटै जवाफ छ– उसलाई पुनः विश्वास गर्नु नै मेरो गल्ती थियो ।

मनमा उठेका अनेक प्रश्न र जिज्ञासासँगै मेरा पाइला घरतर्फ अघि बढ्छन् । वागमति किनारमा जलिरहेका लाशले मलाई गिज्याइरहेझै लाग्छ । पुकारिरहेझै पनि लाग्छ । लाश बोल्न सक्दो हो त पक्कै मलाई भन्दो हो– सास फेर्नु र नफेर्नुबाहेक तँ र ममा के नै फरक छ र आखिर ।

आँखाबाट आँसुका थोपा चुहिन थालिहाले । मैले आँखालाई चस्मा र मुखलाई मास्कले छोपेँ । अनुहार त छोपेँ तर, आँसु रोक्न सकिन । मास्कको चेप हुँदै मुखसम्म पुगेका आँसुका थोपाको स्वाद नुनिलो लाग्यो । मन अमिलो छ । आँखा पिरो । अमिलो, नुनिलो र पिरो, लजतालाई मनपर्ने स्वाद । जसले यतिबेला मलाई पिरोलिरहेको छ ।

आर्यघाटमा रोइरहेको, चिच्याइरहेको आवाजले मेरो ध्यान तान्यो । मैले लजताको बुबाआमालाई चिने । उनीहरु भए ठाउँमा पुगेँ । त्यहाँको दृश्यले मेरो होस हबास उड्छ ।

भूँइमा लजता सुतिरहेकी छ । तर, म उसलाई बोलाएर उठाउन सक्दिन, उठाएर लान सक्दिन । ऊ आफै बोल्दिन, दुई हातले बल गरेर नउठाई उठ्दिन । उठे पनि हिँड्न सक्दिनँ । मैले बोकेरै लगे पनि बोल्न सक्दिनँ । हो, ऊ सास फेर्न सक्दिनँ ।

ऊ मसँगै नभए पनि संसारमा त थिई । ऊ छे भन्ने त थियो । म उसँग जति रिसाए पनि कुनै दिन उसलाई आफ्ना खुसी र दुःखहरु त साट्न सक्थेँ । तर, अब म नितान्त एक्लो भएको छु ।

हातखुट्टा लल्याकलुलुक हुन्छन् । उसको शरीरमा आगोको राप ठोसिन्छ । म ऊ जलिरहेको हेर्न सक्दिनँ । न आफ्नो जलिरहेको मनलाई सम्हाल्न नै सक्छु ।

***

आँखा खुल्छ । अगाडि बुबा देखिनुहुन्छ । बुबाको छेउँमा दिदी पनि छ । उनीहरु मलाई किन यसरी हेरिरहेका छन्, मनमा प्रश्न खेल्छ । कोल्टे फेर्न खोज्छु, शरीर दुखेको आभास हुन्छ । ‘विस्तारै है’ अपरिचित आवाज आउँछ । उतिर हेर्छु । नर्स रहिछ । म चारैतिर आँखा डुलाउँछु । अस्पतालको क्याविन पो रहेछ !

‘म यहाँ कसरी ?’ कसैप्रति इङ्कित नगरी प्रश्न गर्छु ।

‘तँ चढेको मोटरसाइकल बानेश्वर सडक छेउँमा दुर्घटना भएछ । एक घण्टापछि बल्ल तेरो होस खुल्यो’ दिदीले उत्तर फर्काउँछे ।

बिहान के भयो सम्झन खोज्छु । पशुपतिबाट संसद भवन आउँदासम्म याद छ । त्यसपछि के भयो भन्ने याद नै आउँदैन । आफू सकुशल छु या छैन भनेर शरीरका प्रत्येक अङ्ग चलाउँछु । सबै चल्छन् । त्यति जोडको दुखाई पनि छैन ।

मेरो होस खुल्नासाथ नर्सले डाक्टरलाई बोलाइसकेकी हुन्छे । ‘कतै दुखेको अनुभव भएको छ ?’ डाक्टर प्रश्न गर्छन् । म फेरि शरीरका सबै अङ्ग चलाएर दुखाई महसुस गर्न खोज्छु । सलाईन निकालेर डाक्टर मलाई उठ्न लगाउँछन् । शरीरको कुनै अङ्ग दुख्दैन । तर, मन भने दुखिरहेको छ । मनको दुखाई डाक्टरलाई भनेर नि के गर्नु । उनीसँग यसको कुनै उपचार पद्धति भए पो ।

‘रगत पनि बगेको छैन र कतै गहिरो चोट पनि देखिएको छैन । त्यसैले डराउनुपर्ने केही छैन । तर, एक पटक शरीरको दाहिने भागको एक्सरे गरेर हेरौँ’ डाक्टर पर्चीमा केही लेखेर दिदीलाई दिन्छन् । उनले भनेपछि बल्ल दाहिने भाग केही दुखेको हो कि भन्ने लाग्छ । सायद मोटरसाइकल दाहिनेतर्फ पल्टिएको हुनुपर्छ ।

एक्सरे गरेर फर्कदै गर्दा बाथरुम देख्छु । दिदीलाई कान्छी औँला देखाउँछु । पिसाब फेर्ने त केवल एक बहाना थियो, खासमा मन हलुका गर्ने चाहना थियो । भित्र छिर्नासाथ आँखा रसाइहाल्छ । लजता जलिरहेको दृश्य आँखै अगाडि देखिन्छ । एकछिन मन हलुका पारेपछि मुख धोएर बाहिर निस्कन्छु । दिदी मलाई मज्जैले नियाल्छे । तर, केही बोल्दिन ।

एक्सरेमा पनि सबै राम्रै देखिन्छ । डाक्टरले केही औषधि लेखिदिन्छन् । केही दिन आराम गर्ने सल्लाहसहित हामी साँझ ७ बजे अस्पतालबाट निस्कन्छौँ ।

बुबा मसँग केही बोल्नुभएको छैन । मेरो पीडालाई उहाँको मौनताले झनै बढाइरहेको छ । ‘बुबा मेरो मोटरसाइकल कहाँ रहेछ’ म उहाँको मौनता चिर्न खोज्छु । त्यै पनि उहाँ केही बोल्नुहुन्न । उहाँको ध्यान गाडीको स्टेरिङभन्दा अन्यन्त्र भड्किएको छैन । मन भने मलाई थाहा भएन । उहाँको एक शब्द नसुनी घर पुग्छौँ ।

बुबा हातमा मसरुम सुप बोकेर कोठामा छिर्नुहुन्छ । म खान मान्दिन । चम्चाले आफै खुवाइदिनुहुन्छ । तर, मौन हुनुहुन्छ । किन मलाई थाहा छैन ।

एकछिनपछि मेसेज खोलिएको मोबाइल मेरो हातमा थमाउनुहुन्छ । ‘लजता म तिमीलाई पशुपतिमा कुरिरहेको छु’, ‘लजता किन तिम्रो फोन अफ छ’, ‘फेरि मलाई नतड्पाऊ लजता’, ‘लजता मैले तिम्रो लागि आफ्नो बुबालाई समेत छाडेर आएको छु, तिमी किन आउँदैनौ ।’ फुटेको स्क्रीनमा उहाँले सबै मेसेज पढ्नुभएछ । मोबाइल किन फुटेन ? म आफैसँग प्रश्न गर्छु ।

उहाँ रिसाउनुको कारण सही थियो । मैले जीवनमा फेरि लजतालाई कहिल्यै नभेट्ने र उसँग सम्पर्कमा समेत नरहने कसम खाएको थिएँ ।

‘सरी बुबा’ आँखाभरी आँसु पारेर म उहाँलाई अङ्गाल्छु । ‘ऊ अब यो संसारमा छैने’ म भक्कानिन्छु ।

‘फेरि तँलाई धोका दिई होइन । मैले कति सम्झाएको थिएँ त्यो केटी तेरो लागि बनेकी होइन भनेर’ बुबा मलिन स्वरमा भन्नुहुन्छ ।

‘होइन बुबा, उसले आत्महत्या गरेर संसार छाडी । उसले मलाई धोका दिएकी होइन । अझै प्रेम गर्थी । समयले उसलाई धाकेवाज बनायो अनि समयले नै लगिगयो’ आँसु बग्न कम भएको छैन । उसको मृत्युको खबरले बुबाको आँखा पनि रसाउँछन् ।

कुनै समय ऊ बुबाको पनि प्रिय थिई । बुबा मेरो साथी अनि ऊ बुबाको । प्राय हाम्रो घर आउँथी । बुबालाई मिठा–मिठा खानाका परिकार बनाएर खुवाउँथी । कहिलेकाहीँ बुबाले उसलाई । बुहारी बनाएर भित्र्याउने अनि छोरीजस्तै माया दिने बुबाको सपना उसले तोडेकी थिई । सपना सँगै मन पनि ।

त्यसपछि न हो बुबाले मलाई कसम खुवाएको । उहाँसँग खाएको कसम तोड्दा कति पीडा भयो होला । तर, कसमभन्दा ठूलो प्रेम हो । कसम बचाउने नाममा मैले उसलाई गुमाउन चाहिन । उसले गल्ती गरी । मैले माफी दिएँ । किन कि म उसलाई प्रेम गर्थेँ ।

म एक्कासी उसले मलाई दिएको खाम सम्झन्छु । पाइन्टको गोजीमा राखेको थिएँ, पढ्नै बिर्सिएछु । जुरुक्क उठ्छु र अघिल्लो दिन लगाएको पाइन्ट खोज्न थाल्छु । पाइन्टको गोजीमा रहेको खाम निकाल्छु । र, पढ्न थाल्छु ।

(केही दिनअघि  बजारमा आएको पुस्तक ब्लु  डायरीको एक अंश )

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *