ईपीएलको फाइनल आज, चितवन र पोखरा भिड्दै – Nepal Press

ईपीएलको फाइनल आज, चितवन र पोखरा भिड्दै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करणको फाइनल आज हुँदैछ । त्रिवि क्रिकेट मैदानमा दिउँसो १२:१५ बजे सुरु हुने फाइनलमा पोखरा राइनोज र चितवन टाइगर्स भिड्दैछन् ।

समूह चरणबाट शीर्ष स्थानमा रहेर क्वालिफायरमा पोखरालाई नै हराउँदै चितवनले फाइनल यात्रा तय गरेको थियो । दोस्रो स्थानमा रहेर क्वालिफायरसम्म पुगेको पोखरा पराजित भएको थियो । दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता भैरहवा ग्लाडिएटर्सलाई हराउँदै पोखराले अन्तत: फाइनलमा स्थान सुरक्षित गर्‍यो ।

‘फाइनल एउटा स्टेप हो । अर्को नराम्रो हाम्रो टोली राम्रो भन्न मिल्दैन । फाइनल सम्म पुग्यौ भनेपछी दुबै टोलि राम्रो छ,’ पोख राइनोजका कप्तान विनोद भण्डारीले भनेका थिए, ‘भोली जस्ले राम्रो क्रिकेट खेल्छ उसैले जित्छ । फाइनलमा पक्कै पनि प्रेसर हुन्छ । तेस्लाई कसरी ह्यान्डल गर्ने भन्ने हो । इपिएलको फाइनल पहिलो चोटी खेल्दै हो भन्ने सोचेर खेल्यौ भने झन प्रेसर थपिन्छ जस्तो लाग्छ । त्यसैले नर्मल गेम जस्तै खेल्न पर्छ ।’

यस्तै चितवनका कप्तान सोमपाल कामी भने आज हुने फाइनल आफूलाई प्रमाणित गर्ने अवसर रहेको बताएका थिए ।

‘हामीले पोखरालाई प्रतियोगितामा यसअघि दुई पल्ट हराएको भए पनि त्यो हिजो हो । फाइनल भन्दा नि मेरो लागि एउटा गेम जस्तै हो,’ सोमपालले भने, ‘आफूलाई प्रमाणित गर्ने अवसर हो, जस्तो लाग्छ । क्रिकेटमा जति दायित्व बढ्छ, त्यति नै खेलाडीको प्रदर्शनमा निखार आउँछ । म मेरो टोली र आफैँप्रति पूर्ण कन्फिडेन्ट छु ।’

प्रतियोगिताको विजेताले ५० लाख रूपैयाँ प्राप्त गर्नेछ । यस्तै, उपविजेताले १५ लाख रूपैयाँ पाउने छन् । नेपाली क्रिकेटमा कुनै पनि प्रतियोगिताको विजेताले पाउने यो अहिलेसम्मकै ठूलो राशी हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *