खेलकुदमन्त्री गहतराज: पहिलो ‘जनसरकार’का उपप्रमुखको सिंहदरबार यात्रा – Nepal Press

खेलकुदमन्त्री गहतराज: पहिलो ‘जनसरकार’का उपप्रमुखको सिंहदरबार यात्रा

काठमाडौं । युवा तथा खेलकुद मन्त्री नियुक्त भएका महेश्वरजंग गहतराज धेरैका लागि अपरिचित नाम हो । उनी अहिलेसम्म न कुनै संसदीय समितिको सभापति बनेका थिए न त राज्यमन्त्रीवा सहायकमन्त्री नै । प्रतिनिधिसभा सदस्य गहतराजले एकैपटक फुलमन्त्री पाएका छन् ।

शशी श्रेष्ठले नेतृत्व गरेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सदस्यको जिम्मेवारीमा छन् मन्त्री गहतराज । अहिलेको संघीय संसदअन्तरगत प्रतिनिधिसभाका प्रत्यक्षतर्फ निर्वाचित ३ जना दलित सांसदमध्ये उनी एक हुन् । उनले बाँके क्षेत्र नम्बर एकमा ३१ हजार एक सय ७३ मत प्राप्त गर्दै प्रतिस्पर्धी माधवराज खत्रीलाई करिव ३ हजार मतान्तरले पराजित गरेका थिए ।

२०२८ साल भदौ १२ गते रुकुममा जन्मिएका गहतराज ठ्याक्कै ५० वर्षका पुगे । उनी अहिले नेपालगञ्ज उपमहानगरपालिका–१ स्थित धम्बोजीमा उनको घर छ । तर प्रतिनिधिसभाका सदस्यसमेत रहेकाले उनी अस्थायीरुपमा काठमाडौंको शंखमुलमा डेरा गरेर बस्दै आएका छन् ।

नेकपा मशालबाट राजनीतिक यात्रा सुरु

गहतराजको राजनीतिक यात्राको सुरुवात नेकपा मशालबाट भएको हो । २०४६ सालमा उनले मशालबाट पार्टी सदस्यता लिएका थिए । राजनीतिक यात्राको करिव २० वर्षपछि उनले संसदमा प्रतिनिधित्व गर्ने मौका पाएका हुन् । उनी अहिले बाँके क्षेत्र नम्बर १ बाट संघीय संसद अन्तरगत प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छन् ।

गहतराज श्रम गरेर खाने असाध्यै गरिब दलित परिवारमा जन्मिएका हुन् । विपन्नताकै कारण १२ वर्षको उमेरमा मात्र उनी विद्यालय प्रवेश गरेका थिए ।

गहतराजमा राजनीतिक चेतना सबैभन्दा पहिले २०४३ सालको तत्कालीन पञ्चायती आम निर्वाचन र त्यसका विरुद्ध उठेका आवाजबाट विकास भएको हो । दलित समुदायमाथि भइरहेको अमानवीय व्यवहारका कारण पञ्चायत व्यवस्थाविरुद्ध उनमा तिव्र घृणा उत्पन्न भयो । विद्यालयका अतिरिक्त क्रियाकलापमा मुक्तिका पक्षमा खुल्ला आवाज उठाउन थाले । फलस्वरुप केही शिक्षक र स्थानीय सामन्तको तारो र युवा–विद्यार्थीको आकर्षण बन्न पुगे ।

उनी विद्यालयमा प्रस्तुत हुने अतिरिक्त क्रियाकलापमा गीत, कविता र निवन्ध सुनाउने गर्थे । त्यसको मूल्यांकन गर्ने शिक्षकले ‘यो प्रतियोगितामा समावेश गर्न सकिदैन’ भनेर पन्छाउँदाको क्षण सम्झिदा अहिले पनि उनी भावुक हुन्छन् । त्यसपछि उनी रुकुमका सबै माध्यमिक विद्यालयमा पुगेर विद्यार्थीको हक–हितका लागि आवाज उठाउन थाले ।

२०४५ सालमा उर्नी विरेन्द्र माध्यामिक विद्यालय बाफियाकोटको अनेरास्वियू इकाई समितिको सचिवको जिम्मेवारीमा चुनिए । त्यसपछि उनको सांगठनिक जिवनको सुरुवात भयो । २०४६ सालमा अनेरास्वियू जिल्ला समिति रुकुमको कोषाध्यक्ष हुँदै त्यसै वर्ष चितवनमा सम्पन्न राष्ट्रिय भेलामा प्रतिनिधिका रुपमा सहभागी भए । आफ्नो लागि त्यो राजनीतिक जीवनको विशिष्ट क्षण र अवसर बनेको उनी बताउँछन् ।

२०४६ सालमा बाँफिकोट भेगमा नेकपा (मशाल)को संघर्षका गतिविधि सञ्चालन गर्न लोकेन्द्र विष्ट उनकै घरमा बसी पार्टी र आन्दोलनको बारेमा उनलाई प्रशिक्षण गरे । त्यसपछि बिष्टले उनीलगायतका विद्यार्थी नेतलाई पार्टीका संघर्षका कार्यक्रममा पर्चा छर्ने, पोष्टर टाँस्ने, वालिङ तथा पेन्टिङ गर्ने, मसाल जुलुस गर्ने जस्ता क्रियाकलापमा सहभागी गराए । त्यतिबेलासम्म उनी त्यस क्षेत्रमा ‘अराष्ट्रिय तत्व’ का रुपमा चिचिन थालिसकेका थिए ।

२०४६ सालको जनआन्दोलनबाट पञ्चायति व्यवस्थाको अन्त्य भइ बहुदलीय संसदीय व्यवस्थाको स्थापनासँगै राजनीतिक गतिविधि पनि खुला भए । २०४७ सालमा तत्कालीन नेकपा मशालको एरिया कमिटी सदस्य अर्थात एसीएम, अनेरास्वियु जिल्ला सचिव र राप्ती अञ्चल समन्वय समितिको सचिवसमेत भएर डोल्पा र जाजरकोट समेतमा संगठन विस्तारको जिम्मा पाए । त्यसपछि तत्कालीन अखिल नेपाल युवक संघको जिल्ला सदस्यमा मनोनित भए ।

गहतराज २०५० सालमा हेटौडा राष्ट्रिय भेलाबाट अनेरास्वियु (क्रान्तिकारी) को केन्द्रीय सदस्य निर्वाचित भए । त्यसै वर्ष नेपाल उत्पीडित दलित मुक्ति समाजको बुटवलमा सम्पन्न राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य निर्वाचित भए । त्यसपछि उनले रुकुम, सल्यान र कर्णाली अञ्चलको सांगठनिक जिम्मेवारी पाए । २०५० सालतिर तत्कालीन नेकपा मशालका महामन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनलाई कृष्णबहादुर महराको कुपण्डोलस्थित निवासमा बोलाए ।

प्रचण्डले आफूलाई दलित समुदायका समस्या र दलित मुक्ति आन्दोलनबारे मार्गनिदर्शन गरेको गहतराज बताउँछन् । त्यसले आफूलाई यस आन्दोलनमा लाग्न थप प्रेरणा मिलेको उनको भनाइ छ ।

विद्यार्थी संगठनबाट बिदाइ हुँदा

२०५१ सालमा नेकपा (माओवादी) रुकमको जिल्ला भेलाबाट जिल्ला समिति सदस्यमा निर्वाचित भएपछि बाँफीकोट क्षेत्र र आठवीसकोट क्षेत्रको जिम्मा लिएर उनी पार्टीको काममा खटिए । त्यसैकारण अनेरास्वियु (क्रान्तिकारी) को पुल्चोकमा सम्पन्न राष्ट्रिय सम्मेलनदेखि विद्यार्थी संगठनको जिम्मेवारीबाट उनले बिदा लिए ।

विद्यार्थी राजनीतिबाट विदा लिँदै गर्दाको क्षण सम्झिदै भन्छन्, ‘सम्मेलन भइरहेको हलवाट धेरै साथीले महेश्वर केन्द्रीय समितिमा बस्नुपर्छ, हट्नु हुँदैन भनेर आवाज उठाएका थिए । त्यसबेला मैले हलमा उठेर स्पष्टीकरण नै दिनु परेको थियो ।’

उनले स्पष्टीकरण दिँदै आफू विद्यार्थी आन्दोलन र कम्यूनिष्ट आन्दोलनबाट बाहिर नजाने प्रतिवद्धता जनाएका थिए । त्यो क्षण एकातर्फ पीडा र अर्कोतर्फ निरन्तर राजनीतिमा लाग्ने प्रेरणा जस्तो भएको उनी बताउँछन् ।

त्यसपछि उनी विद्यार्थी संगठनबाट पूर्णरुपले बाहिरिए । दलित मोर्चाको काममा अरु नै नेतालाई जिम्मेवारी हस्तान्तरण गर्दै पूर्णरुपले जनयुद्धको तयारीमा लागे । जनयुद्धको तयारीको अन्तिम प्रशिक्षण पार्टी अध्यक्ष प्रचण्डबाट रोल्पामा सम्पन्न भयो । त्यसपछि उनी जनयुद्धमा होमिए ।

पार्टीले अन्तिम तयारी र थालनीको मितिसमेत तय गरिसकेपछि प्रतिनिधिमुलक एक कारवाही रुकुममा गर्न केन्द्रले निर्देशन ग¥यो । पश्चिम कमाण्ड इन्चार्ज रामबहादुर थापा ‘बादल’ को उपस्थितिमा बसेको जिल्ला समिति बैठकले कारवाहीको लागि उनकै कार्य क्षेत्रको आठवीसकोट राडीजिउँला प्रहरी चौकीलाई केन्द्रित गरेर सर्भे गर्ने निर्णय गर्यो ।

क.गणेशमान पुन (रश्मी), क.यज्ञेश्वर शर्मा, क.दौलतराम घर्ती र उनीसमेत गरेर चार जनालाई उक्त कारवाहीको कमाण्डर ताकियो । उनी सम्झिँदै भन्छन्, ‘त्यो मेरा लागि जीवनको एउटा असाध्यै विशिष्ट महत्व र गौरवको क्षण हो ।’

उक्त कारवाही आफ्नै कार्यक्षेत्रमा तोकिनु र एक कमाण्डर नियुक्त हुनुले उनी रोमाञ्चित बनेका थिए । त्यही क्रममा बाँफिकोट नेटा पोखरीमा एम्बुस राखेको बेला नेपाली सेनाले एन्टी एम्बुस गर्दा १० किलोको प्रेसर कुकर बम कब्जा गरेको उनलाई अहिले पनि सम्झना छ ।

उनी भन्छन्, ‘त्यो बम विष्फोट भएको भए पूरै बाँफिकोट ध्वस्त हुन्थ्यो भनेर नेपाली सेनाले गरेको प्रचारले हाम्रो मनोबल बढेको थियो । त्यसपछि मात्र तोप र प्रेसर कुकर बम सबैतिर प्रयोग हुन थालेको हो ।’

उनले रूकुममा सबैभन्दा पहिले दुलीको कोटगाउँबाट ठूलो टिमलाई परिचालित गरी गाउँ नै कब्जा गरेर जनभेला समेत गरेका थिए । त्यसपछि सोही गाउँमा पार्टीको ३ नम्बर कमाण्ड कार्यालय राखियो । उक्त कमाण्डको नेतृत्व पनि गहतराजले नै गरेका थिए । त्यसलाई जिल्लाव्यापी निरन्तरता दिइयो । त्यो गतिविधिलाई सशस्त्र कब्जा र विस्तारको रुपमा संश्लेषण गरी देशव्यापी बनाउने निर्णय पार्टीले ग¥यो ।

पहिलो जनसरकार उपप्रमुख

जनयुद्धको विकाससँगै रुकुम जिल्ला जर्जर अवस्थामा पुग्यो । पार्टीभित्रका समस्या र बाह्य चुनौतिका बीच गहतराजले महत, रुकुमकोट, तकसेरोलगायत प्रहरी चौकीमा आक्रमण र कब्जाको नेतृत्व गरे । डोल्पा कारबाहीको व्यवस्थापन लगायतका फौजी कारबाही उनकै नेतृत्वमा भए ।

२०५७ सालमा सदरमुकाम नजिकै वीरेन्द्र माध्यामिक विद्यालय बाफिकोटको प्राङ्गमणमा देशको पहिलो जिल्ला जनसरकार घोषणा भएको थियो । उक्त जनसरकारको उपप्रमुखमा उनी निर्वाचित भए । त्यसपछि जनसरकार गठन गर्ने कामलाई वडा–वडा र गाउँगाउँमा तिव्रता दिइयो ।

२०५७ मा पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनलगत्तै उनले पार्टीका रुकुम जिल्ला इन्चार्जको भूमिका निर्वाह गर्ने थप जिम्मेवारी पाए । २०५९ सालमा उनको विशेष क्षेत्रीय ब्यूरो र रुकुम इन्चार्जबाट भेरी कर्णाली क्षेत्रीय ब्यूरोमा सरुवा भयो । त्यसपछि गहतराज त्यतिबेलाका दुई जिल्ला मिलेर एक बनाएकाले हुम्ला र मुगु तथा जुम्ला र कालीकोट दुवै जिल्लाको इन्चार्ज बने । एक वर्ष कर्णालीका गाउँवस्तीको संगठन र आन्दोलनको नेतृत्व गर्ने उनले अवसर प्राप्त गरे ।

गहतराजका लागि कर्णालीको बसाई शिक्षाप्रद र उत्साहजनक बन्नपुग्यो । यसैबिचमा बाँके र बर्दियाका इन्चार्ज ज्ञामप्रसाद चालिसे (आयाम)को मृत्यु भयो । लगत्तै बाँके बर्दियामा नेतृत्वको रिक्तता पुरा गर्न उनलाई जिम्मेवारी दिइयो ।

उनी बाँके र बर्दीया आउने बेलासम्म जिल्ला इन्चार्ज आयाम लगायत २३ जना जिल्ला समिति सदस्य अर्थात डीसीएमको मृत्यु भइसकेको थियो । उनी सम्झन्छन्, ‘सयौं कार्यकर्ता र जनताको सहादत र वेपत्ताको स्थिति थियो, जुन पार्टी आन्दोलनका लागि ठूलो क्षति हो ।’

केन्द्रीय राजनीतिमा इन्ट्री

उनी २०६० सालमा पार्टीको केन्द्रीय समिति सदस्यमा मनोनित भए । त्यसपछि बाँके, बर्दिया, विशेष जिल्ला (८ नं. जिल्ला) र केही समय सुर्खेत जिल्ला समेतको नेतृत्व सम्हाल्ने मौका पाए ।

२०६५ देखि २०६९ साउनसम्म उनले पार्टी केन्द्रीय सदस्यको जिम्मेवारीसँगै थारुवान राज्य समितिको सेक्रेटरी भएर काम गरे । थारुवानका दाङ्ग, बाँके, बर्दिया, कैलाली र कञ्चनपरको पार्टी र आन्दोलनको नेतृत्व गर्ने जिम्मेवारी पनि पुरा गरे । २०६९ माघ २०–२५ सम्म हेटौडामा सम्पन्न एकताको सातौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएर पार्टी र आन्दोलनको नेतृत्व गरे ।

त्यसपछि उनले २०७० सालमा दोस्रो संविधान सभाको निर्वाचनमा बाँके क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्यमा पराजित हुन पुगे । भीमप्रकास देवकोटाको बागी उम्मेद्वारी र आन्तरिक अन्तरघातका साथै बाह्य कारणले आफु पराजित हुन पुगेको बताउँछन् । २०७१ सालमा विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनबाट पुन पार्टी केन्द्रीय समिति सदस्यमा निर्वाचित भए । त्यसपछि उनी २०७३ साल जेठमा पार्टीको केन्द्रीय समितिको सचिवालय सदस्यमा मनोनित भए ।

२०७४ साल मंसिर २१ सम्पन्न संघीय संसद्को प्रतिनिधिसभा सदस्यमा बाम गठबन्धनको उमेदवारका रुपमा उनले नेकपा माओवादी (माओवादी केन्द्र)को तर्फबाट बाँके क्षेत्र नम्बर १ बाट निर्वाचित भए ।

२०७५ जेष्ठ तीन गते नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बीच पार्टी एकता गरी गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यमा चयन भए । उनले अहिलेसम्म तत्कालिन नेकपा (माओवादी केन्द्र)को अन्तर्राष्ट्रिय विभागबाट चीनको औपचारिक भ्रमण र भारतका विभिन्न स्थानमा स्वभ्रमण मात्रै गरेका छन् ।

गहतराजले पार्टीमा रहँदा नै अन्तरजातीय विवाह गरेका हुन् । उीहरुका एक छोरी र एक छोरा छन् । उनले शिक्षा संकायमा प्रमाणपत्र तहसम्मको अध्ययन अध्ययन गरेका छन् । उनीसँग कृषि, व्यापार, संगठन तथा सामाजिक परिचालनको दक्षता रहेको छ । उनी नेपाली, हिन्दी, अंग्रेजी र थारु भषामा दख्खल राख्छन् । उनले बेला बेलामा विभिन्न पत्रपत्रिकामा लेख रचना पनि प्रकाशन गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *