क्याम्पाचौरमा विपद्‍बाट जोगिने पूर्वाभ्यासः जब एक्कासी ठूलो भूकम्प आयो (भिडिओ) – Nepal Press

क्याम्पाचौरमा विपद्‍बाट जोगिने पूर्वाभ्यासः जब एक्कासी ठूलो भूकम्प आयो (भिडिओ)

चितवन । खेलकुद र सांगीतिक कार्यक्रमका लागि चर्चित नारायणगढको क्याम्पाचौरमा शुक्रबार बिहान फरक दृश्य देखियो । एम्बुलेन्स, दमकलको साइरनले माहोल फरक थियो । सर्वसाधरण ‘बचाउ, बचाउ’ भन्दै कराए । कोही मलमपट्टी लगाउँदै थिए । कोही घाइतेलाई स्ट्रेचरमा राखेर दौडदैँ थिए ।

चितवनको शक्तिखोर केन्द्रबिन्दु बनाएर बिहान साढे ९ बजे आएको ७ दशलमव ३ रेक्टर स्केलको भूकम्पले भरतपुर महानगरको सहरी क्षेत्रका करिब ७ सय घरमा क्षति पुर्याएको, १५ जना गम्भीर, एक सय १५ जना सामान्य र ९ जना बेपत्ता भएका खबर गुञ्जिए । रेडियोमा भरतपुर–२ बेलटाँडीका काले भुजेलका १८ वर्षीय छोरा सिसिहाङ मृत फेला परेको समाचार बज्दै थियो । क्याम्पाचौरमा आश्रय लिएका भूकम्पप्रभावितहरु झाडापखलाबाट ग्रस्त भए । राहत नपाएको गुनासो गर्दै प्रभावितहरु महानगर र जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगे । यी सबै घटनाले २०७२को भूकम्पकै झल्को दिँदै थियो । सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायतले उद्दारमा खटिएका गतिविधि नियाल्दै स्थानीय झुम्मिएका थिए ।

केहीबेरपछि चौबिसकोठीमा रहेको शेर्पा इलेक्ट्रोनिक्स पसलमा विद्युत् सर्ट भएर चौविसकोठी आसपासका करिब १० घर जलेको खबर सुनियो । आगलागीबाट एक जनाको ज्यान गयो । घर जलेर नष्ट भएपछि प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो ।

स्थानीय प्रशासन, स्थानीय सरकारको टोलीले स्थलगत अवलोकन गरेका दृश्य पनि देखिए । अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनाको परिदृश्य पनि देखाइएको थियो । विपद्का बेला हुने गतिविधि र राज्यका संयन्त्रबीच हुने समन्वयलाई देखाउने प्रयास चल्दै थियो । तर यी कृत्रिम घटनाका दृश्य हुन् । सहरी विपद् पूर्वतयारी परियोजना युरोपियन यूनियनको आर्थिक सहयोगमा युएनडिपि र महानगरपालिकाको सहकार्यमा सञ्चालित छ ।

कृत्रिम घटना अभ्यासले विपद्को पूर्वतयारी, पुनर्लाभ र पुनःस्थापनाका विधिबारे जानकार बन्न सघाउने महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले बताए । मेयर रेनु दाहालले महानगरले जोखिम नक्सांकन गरेर विपद् नियन्त्रणका लागि पूर्वतयारी गर्दै आएको बताइन् ।

उनका अनुसार आपतकालिन पूर्वतयारी तथा प्रतिकार्य योजना, विपद् राहत मापदण्ड तथा विपद् व्यवस्थापन कोष कार्यविधि, कृत्रिम घटना अभ्यास निर्देशिका, आपलकालीन कार्य सञ्चालन केन्द्र सञ्चालन कार्यविधि बनाइएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले हरेक बजेटमा विपद् न्यूनीकरणका लागि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

महानगर क्षेत्र आगलागीबाट जोखिमयुक्त मानिन्छ । आवासीय भवनमा अस्पताल, स्कुलहरु सञ्चालनमा छन् । पेट्रोल पम्प र आवास क्षेत्र नजिकै छन् । महानगरको वारुण यन्त्र इकाईका इञ्चार्ज देवेन्द्रराज रेग्मीले गत वर्ष ७९ वटा आगलागीका घटना भएको बताए । ‘विद्युत् सर्ट, ग्याँस लिकेजकै कारण आगालागी धेरै भएका छन्, बस्ती बाक्लो भएकाले आगो फैलिने जोखिम उस्तै छ’, उनी भन्छन्, ‘आगो लागेको खबर पाउने बित्तिकै ५–१० मिनेटमा पुग्न सके धेरै क्षति हुनबाट बचाउन सकिन्छ, तर धेरै टाढासम्म पुग्दा क्षति रोक्न सकिँदैन ।’

महानगरमा हाल २ दमकल सञ्चालनमा छन् । ‘नवलपरासीको गैडाकोटदेखि हेटौंडासम्म आगो निभाउन जानुपर्ने अवस्था छ’, उनी भन्छन्, ‘महानगर क्षेत्रमै कम्तिमा ४ दमकल चाहिन्छ, ५ किमि दुरीको फरकमा दमकल स्टेसनहरु बनाउनुपर्ने देखिन्छ ।’

महानगर आपतकालीन सञ्चालन केन्द्रका सम्पर्क व्यक्ति बालकृष्ण थपलियाले विपद् व्यवस्थापनमा महानगरले यो वर्ष करिब ३ करोड खर्चिने बताए । उनका अनुसार विपद् व्यवस्थापन कोषमा १ करोड ५० लाख, कोभिड तथा अन्यप्रकोपजन्य घटनामा १ करोड ९० लाख र विपद् व्यवस्थापन तालिममा ६० लाख बजेट विनियोजन गरको छ । भरतपुर महानगरमा आगलागी र भूकम्पसहित बाढी, पहिरो, डुबान, जंगली जनावरको आतंक जस्ता विपद्को जोखिम छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर