मेरो प्राथमिकता मन्त्री होइन, महामन्त्री : गगन थापा – Nepal Press

मेरो प्राथमिकता मन्त्री होइन, महामन्त्री : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य गगन थापा वर्तमान सरकार गठनदेखि नै मन्त्री बन्ने चर्चामा रहेका थिए । विगतमा छोटो समय स्वास्थ्य मन्त्रीको रूपमा काम गरेका गगनलाई सोही मन्त्रालयमा जिम्मेवारी दिन कांग्रेसवृत्तमा आवाज पनि उठेको थियो । यद्यपि आज पूर्णता पाएको मन्त्रिपरिषद्‍मा थापा अटेका छैनन् ।

चर्चामा रहेर पनि मन्त्री नभएका थापा भने अहिले आफ्नो प्राथमिकता मन्त्री नभएर महामन्त्री रहेको बताउँछन् । कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदको प्रत्याशी बन्ने घोषणा गरेका गगनले आफ्नो ध्यान पार्टी सुदृढ गर्नेतर्फ केन्द्रीत रहेको बताए ।

‘मन्त्रिपरिषद्ले ढिलै भएपनि पूर्णता पाउनु राम्रो हो । कांग्रेस सांसदका रूपमा सरकारलाई आवश्यक सहयोग र खबरदारी दुवै गर्नेछु । मेरो ध्यान चै मन्त्रीमा होइन महामन्त्रीमा छ’, गगनले नेपाल प्रेससँग भने ।

महामन्त्रीको प्रत्याशीका रूपमा पार्टीको अधिवेशनमा व्यस्त रहेको बताउने थापा कांग्रेसको रुपान्तरण आफ्नो सरोकार रहेको बताउँछन् । ‘म अहिले सम्पूर्णरूपमा महाधिवेशनमा केन्द्रित छु । देशभरका साथीहरूसँग संवादमा रहेको छु । यतिबेला म सरकारमा भन्दा पार्टीमा आफ्नो योगदान बढाउने सोचमा छु’, थापाले भने ।

उनले गठबन्धन सरकारमा मन्त्री बनेका सबैले जनताको हित र राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताए । ‘यो विषम परिस्थितिमा बनेको सरकार हो । मन्त्रिपरिषद्ले पूर्णता पाएपछि अब पर्फमेन्स देखिने गरी काम होस् । यो सरकारको सफलतासंग कांग्रेसको पनि भविष्य जोडिएको छ । त्यसैले सरकार सफल होस् भन्ने शुभकामना छ’, थापाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर