संघीय निजामती सेवा विधेयक संसदबाट फिर्ता – Nepal Press

संघीय निजामती सेवा विधेयक संसदबाट फिर्ता

काठमाडौं । सरकारले संघीय निजामती सेवा विधेयक २०७५ संसदबाट फिर्ता लिएको छ ।

मन्त्रिपरिषद्को असोज १९ गतेको बैठकले संघीय निजामती सेवा विधेयक २०७५ फिर्ता लिने निर्णय गरेको थियो । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राखेको संघीय निजामती सेवा विधेयक २०७५ फिर्ता लिने प्रस्ताव प्रतिनिधिसभाको बहुमतले स्वीकृत गरेको हो ।

२०७५ सालमा दर्ता भएको विधेयक प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा लामो समय अड्केर सभाको पूर्णबैठकमा पेस भएको थियो । यो विधेयकको अभावमा प्रदेश निजामती सेवासम्बन्धी कानून पनि बन्न पाएको छैन ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पनि प्रमुख नेकपा एमालेले नारावाजी गरेका थिए । एमाले सांसदहरूले संवैधानिक सर्वोच्चता कायम गर, पदीय मर्यादा कायम गर, पक्षपातपूर्ण व्यवहार बन्द गर, पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद, गैरसांसदलाई प्रवेश निषेध गर, यथास्थितिमा संसद चल्न सक्दैन, कालो धन चाहिँदैन, देश बेच्न पाइँदैन भनी चर्को नाराबाजी गरे ।

प्रतिनिधिसभाको अर्को बैठक असोज २५ गते बोलाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर