लुम्बिनीमा ट्रायल पास गरेकै दिन लाइसेन्स हातमा, सेवाग्राही खुसी – Nepal Press

लुम्बिनीमा ट्रायल पास गरेकै दिन लाइसेन्स हातमा, सेवाग्राही खुसी

रुपन्देही । लामो समय लाइसेन्स वितरणमा व्यवस्थापन नहुँदा यस क्षेत्रका सेवाग्राही हैरानी परेका बेला लुम्बिनीमा ट्रायल पास गरेर राजस्व बुझाएकै दिन परीक्षणकालीन अनुमति पत्र दिन शुरु गरिएको छ ।

प्रदेश सरकारले देशमै पहिलोपटक यसप्रकारको परीक्षणकालीन सवारी चालक अनुमति पत्र वितरण गर्न थालेपछि सेवाग्राहीलाई सहज भएको हो ।

पहिले ट्रायल कटाएर राजस्व तिरेको वर्षौंसम्म लाइसेन्स सेवाग्राहीको हातमा पर्दैनथ्यो । यसले गर्दा यातायात व्यवस्था कार्यालयले दिएको राजश्व तिरेको रसिद लिएर सेवाग्राहीले सवारी चलाउनुपर्ने बाध्यता थियो । रसिदमा रहेको फोटो र नाम केही दिनमा हराएर जाँदा चेकिङ गर्ने ट्राफिक प्रहरी र सेवाग्राहीलाई समस्या हुन्थ्यो ।

लुम्बिनी प्रदेश सरकारले देशमै पहिलोपटक परिक्षणकालिन सवारी चालक अनुमतिपत्र वितरण गर्न थालेको छ । ट्रायल पास गरेर राजस्व बुझाएकै दिन परीक्षणकालीन अनुमति पत्र दिन थालिएको हो ।

२०४९ सालमा आएको सवारी ऐनमा १ वर्षसम्म परिक्षणकालिन अनुमति दिनु पर्ने व्यवस्था रहेको छ । प्रदेश सरकारले परिक्षणकालीन अनुमतिपत्रको सुरुवात गरेपछि उक्त ऐन बल्ल लागू भएको हो । लुम्बिनी प्रदेश सरकारको श्रम रोजगार तथा यातायात ब्यवस्था मन्त्रालयले बुटवलबाट परीक्षणकालीन अनुमति पत्रको सुरुवात गरेको हो ।

अहिले अनुमति पत्र छाप्ने एउटा मेशिन राखेर कार्यालयले सेवा दिइरहेको छ । सवारी ट्रायल कटाएर र राजस्व तिरेको दिन नै एक वर्षसम्म परीक्षणकालीन अवधि रहेको लाइसेन्स कार्यालयले सेवाग्राहीलाई दिने गरेको यातायात व्यवस्था विभाग अन्तरगत सवारी अनुमतिपत्र कार्यालयका प्रमुख तेजनारायाण यादवले जानकारी दिए । लाइसेन्स छाप्ने मेसिन १ लाख ६० हजारमा ल्याएको बताउँदै कार्यालय प्रमुख यादबले स्मार्ट कार्डभन्दा सस्तो र सजिलो हुने बताए ।

तराईका जिल्लामा यस्ता किसिमका सुविधा पाइरहँदा प्रदेशका पहाडी जिल्लामा पनि कार्यालय सञ्चालन गर्ने तयारीमा रहेको लुम्बिनी प्रदेशका श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेंगामगरले बताइन् ।

उनले जनतालाई सहज हुने किसिमका कार्यहरु लुम्बिनी प्रदेश सरकारले गर्ने बताउँदै नयाँ र प्राविधिक कामहरूलाई सबैले सहयोग गर्नेगरी काम थालेको जानकारी दिइन् ।

लुम्बिनी प्रदेश सरकारले यातायात व्यबस्था, सवारी चालक अनुमति पत्र कार्यालय रहेको दाङ्ग र नेपालगञ्जबाट पनि स्मार्ट परीक्षणकालीन सवारी चालक अनुमति पत्र वितरण गर्ने तयारी गरेको छ । सेवाग्राहीले पर्ने समस्यालाई सामाधानको लागि परीक्षणकालीन लाइसेन्सको ब्यवस्था ल्याइएको जनाएको छ ।

यातायात व्यवस्था विभागअन्तरगत सवारी अनुमतिपत्र कार्यालय प्रमुख यादवले यो लाइसेन्स डुब्लिकेसन गर्न नमिल्ने बताए ।

‘यो लाइसेन्समा एउटा बारकोड छ, त्यसलाई ट्राफिक प्रहरीले सजिलै रिड गर्न सक्दछ, नक्कली बनाउने सम्भावना छैन’ उनले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *