कोरोनाले अभिभावक गुमाएका विद्यार्थीलाई ‘भरोसा छात्रवृत्ति’ – Nepal Press

कोरोनाले अभिभावक गुमाएका विद्यार्थीलाई ‘भरोसा छात्रवृत्ति’

काठमाडौं । कोरोना संक्रमणले अभिभावक गुमाएर शिक्षाको अवसरबाट वञ्चित बालबालिकाले छात्रवृत्तिका लागि अभियान थालिएको छ ।

राजनीति, व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय केही युवाको अगुवाइमा ती बालकालिकालाई छात्रवृत्ति व्यवस्था गर्न लागिएको हो ।
कांग्रेस नेता गगनकुमार थापा, डिसहोम नेटवर्कका प्रबन्ध निर्देशक एवं कामना सेवा विकास बैंकका अध्यक्ष सुदीप आचार्य, तथ्याङ्क संकलनमा कार्यरत संस्था ‘फ्याक्ट नेपाल’ का प्रमुख कार्यकारी अधिकृत मनिष झा, सिन्धुपाल्चोकमा शिक्षा क्षेत्रमा कार्यरत संस्था ‘हेल्प नेपाल’ का सञ्चालक जिमी लामा र सामाजिक अभियन्ता चारु चड्डाले अभियानको नेतृत्व गरेका छन् ।

अभियानलाई ‘भरोसा छात्रवृत्ति अभियान’ को नाम दिइएको छ । अभियानमा विद्यालय तहमा अध्ययनरत बालबालिकालाई मात्र समावेश गरिने बताइएको छ ।

नेता थापाले कोभिड महामारीका कारण अभिभावक गुमाएका बालकालिकाले राज्य, संघसंस्था र व्यक्तिगत तवरबाट तत्कालका लागि केही राहत पाएको भए पनि उनीहरुको शैक्षिक निरन्तरता चुनौतीपूर्ण हुने ठानेर आफूहरुले अभियान थालेको बताए । उनले पहिलो वर्षको छात्रवृत्तिका लागि आवश्यक रकमको जिम्मा डिसहोमले लिएको र आगामी वर्ष अभियानमा संलग्न सबै र सहयोगी हातहरुलाई अपिल गरेर अभियान निरन्तर अगाडि बढाउने योजना रहेको उल्लेख गरे ।

हालका लागि छात्रवृत्तिमा आवश्यक रकमको जोहो डिशहोम परिवार (लगानीतकर्ता, कर्मचारी, देशभरका डिलर तथा शवडिलर) ले गर्नेछ । यो वर्ष ४० लाख खर्च गर्ने कार्यक्रम रहेको डिसहोमका प्रबन्ध निर्देशक आचार्यले जानकारी दिए ।

कोरोना कहरसँगै आर्थिक मन्दीको मार खेपेको समाजका लागि केही गरौं भन्ने उद्देश्यका साथ आफूहरुले ‘भरोसा छात्रवृत्ति अभियान’ सञ्चालन गर्न लागेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर