वाम विद्यार्थी संगठनको नेतृत्वमा महिलाको पकड, ५० वर्ष बित्दा पनि नेविसंघमा खडेरी – Nepal Press

वाम विद्यार्थी संगठनको नेतृत्वमा महिलाको पकड, ५० वर्ष बित्दा पनि नेविसंघमा खडेरी

महिला नेतृत्व स्थापित गर्न एमाले अग्रणी, माओवादीले पनि रच्यो इतिहास

काठमाडौं । संविधान जारी भए लगत्तै मुलुकका तीन मुख्य पदमा महिला थिए । राष्ट्रपति विद्या भण्डारी, प्रधान न्यायाधीश सुशीला कार्की र सभामुख ओनसरी घर्ती ।

महिला पदमा पुग्दैमा अधिकार स्थापित हुँदैन भन्ने भाष्य कतिपयले स्थापित गर्न नखोजेका होइनन्, तर विश्वमै राज्य संरचनाको उपल्लो ओहोदाका मुख्य पदमा महिला नेतृत्व स्थापित हुनु नेपालका लागि गौरव थियो ।

संयोग नै मान्नुपर्छ अहिले देशका दुई ठूला विद्यार्थी संगठनको नेतृत्वमा महिला आएका छन् । नेकपा (एमाले) निकट अनेरास्ववियु र नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)मा महिला नेतृत्व आएको हो । सुनिता बराल अनेरास्ववियू र पञ्चा सिंह अखिल (क्रान्तिकारी) अध्यक्ष बनेकी छिन् ।

अनेरास्ववियुको हकमा भने महिला नेतृत्व आएको यो पहिलो चोटी होइन । यसअघि नै दुई अध्यक्ष महिला भइसकेका छन् । रामकुमारी झाँक्री र नवीना लामा चुनावी प्रतिष्पर्धाबाटै पुरुषलाई हराएर अध्यक्ष चुनिएका थिए।

अखिल (क्रान्तिकारी)का हकमा भने सिंह पहिलो महिला नेतृत्व हुन्। क्रान्तिकारीले यसअघि अध्यक्षमा महिला ल्याउन सकेको थिएन।

हालै एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूको कार्यकारी महासचिवमा आरती लामा छिन्। उनी पनि नेतृत्वमा पुग्न सक्ने सम्भावनायुक्त महिला हुन् ।

वामपन्थी दलनिटक विद्यार्थी संगठनको नेतृत्वमा महिला आइरहँदा नेपाली कांग्रेसको भातृ संगठन नेविसंघमा भने स्थापनाको ५० वर्ष पुगिसक्दा पनि अहिलेसम्म महिला नेतृत्व आउन सकेका छैनन् ।

अनेरास्ववियुमा महिला वर्चश्व 

महिलालाई विद्यार्थी राजनीतिको शीर्ष नेतृत्वमा पुर्याउने कामको शूरुवात एमालेले गरेको थियो । तीनजना महिला अनेरास्ववियुको अध्यक्ष भइसकेका छन् । महिलामात्र पढ्ने क्याम्पसमा महिलाले स्ववियु चुनाव जित्ने गर्थे । नत्र पुरुष नै सभापति हुन्थे ।

तर अनेरास्ववियुकै नविना लामाले त्यो प्रचलन तोडेर बानेश्वर क्याम्पसको स्ववियु सभापति बनेर इतिहास रचेकी थिइन् भने भोजपुरकी शारदा राउत लगायतले त्यसपछि जिते ।

आफू महिला भएका कारणले नभई समान्यतः नियमित प्रक्रिबाट नेतृत्वमा आएको भए पनि यसले राजनीतिमा रहेका महिलालाई सकरात्मक सन्देश दिने अनेरास्ववियुकी अध्यक्ष बराल बताउँछिन् ।

‘म एउटा सामान्य प्रक्रियाबाट आएको हो, महिला भएको कारणले होइन,’ नेपाल प्रेससँग बरालले भनिन्, ‘यसअघि उपाध्यक्ष थिएँ, त्यसकारण अधयक्ष भएको हो । तर, तल बसेर हेर्ने आम जनता, महिला (जो राजनीतिप्रति सचेत हुनुहुन्छ) उहाँहरुलाई चाहिँ मेहनत गरेर काम गरियो भने महिलाहरु पनि पहिलो जिम्मेवारीमा पुग्न सक्छन् भनन्ने कुरा हौसला भने यसबाट प्रदान हुन्छ जस्तो लाग्छ।’

यद्यपि संवैधानिक प्रबन्धका बाबजुद महिलाहरुको अर्थपूर्ण सहभागिता हुन नसेकोमा बरालको असन्तुष्टि बाँकी भने छ। ‘महिलाको बारेमा धेरै संवैधानिक प्रबन्ध गरिएको छ तर त्यसको अर्थपूर्ण रुपमा कार्यन्वयन गरिएको छैन्,’ उनी भन्छिन्, ‘निर्णायक ठाउँमा अझैं पनि महिलाको उपस्थिति छैन् । सहभागिता हुने तर अर्थपूर्ण सहभागिता हुने अबस्था अझैं पनि छैन् ।’

संगठनमा महिला सहभागिता अझैं बढाउने कुरामा जोडका साथ लाग्ने उनको प्रतिबद्धता छ। ‘महिला भएकै कारणले अरु भन्दा फरक गर्ने भन्दा पनि संगठनलाई व्यवस्थित गर्ने र त्यसमा समानरुपमा महिला र अरुको सहभागिता गराउने कुरा छ, त्यसमा म लाग्छु,’ बरालले भनिन्।

अनेरास्ववियुको इतिहासमा सुनिता बराल तेस्रो महिला अध्यक्ष भइरहदा उनीपछि लगत्तैको बरियतामा पनि दुई सशक्त महिलाले उपाध्यक्षको जिम्मेवारी पाएका छन् । कल्पना वाइबा र निशा अधिकारी पनि सम्भावना भएका महिला नेता हुन् ।

यस हिसाबले एमाले र अनेरास्ववियु महिला नेता उत्पादन गर्ने कारखान नै जस्तै बनिसकेको वाइबा बताउँछिन् । ‘महिला महिला राष्ट्रपति बनाउनदेखि विद्यार्थी संगठनमा तीनजना महिला अध्यक्ष बनाउने एमाले नै हो’ उनको भनाइ छ ।

नेविसंघलाई शिक्षा

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)की महामन्त्री उर्मिला थपलिया पनि प्रतिष्पर्धी संगठनको नेतृत्वमा महिला आएको कुराले समाजमा सकारात्मक सन्देश जाने बताउँछिन् ।

‘विद्यार्थी संगठनहरुले जसरी महिलालाई नेतृत्व हस्तान्तरण गरेको छ, यसलाई म सकरात्मक रुपमा लिन्छु,’ उनले नेपाल प्रेससँग भनिन्, ‘यसले अरु संगठनहरुलाई पनि उर्जाशील बनाएको छ । सँगै राजनीति गर्ने महिलाहरुलाई पनि नेतृत्व तहमा पुगिने रहेछ भनेर एउटा सकरात्मक सोच पनि विकास भएको छ।’

विद्यार्थी संगठनमा सर्वसम्मत महिला नेतृत्व चयन हुँदै गर्दा कतिपयले यसलाई नेतालाई खुसी पाएर आएको र लोकतान्त्रिक विधि नअपनाएको भनेर पनि टिकाटिप्पणी गरेका छन्। बराल भने यस्ता टिप्पणीमा दुःख व्यक्त गर्दै सर्वम्मत चयन हुने विधि झन् लोकतन्त्रको सर्वोत्तम विधि भएको बताउँछिन् ।

‘देशभरीबाट आउनु भएको केन्द्रीय सचिवालयका नेता साथीहरुबाट निर्णय गरेर हामीले नेतृत्व टुंगो लगाएको हो,’ उनको भनाइ छ, ‘निर्वाचन भएन भने छनोट गर्ने प्रक्रिया नै कमजोर भयो कि भनेर बुझ्ने कुरा अझैं पनि समस्याको रुपमा रहेको छ । सर्वसम्मत छनोट हुने कुरा लोकतन्त्रको सबैभन्दा उच्चतम अभ्यास हो ।’

उनले थपिन्, ‘हो, हामी नेकपा (एमाले)सँग जोडिएका छौं । एमालेका नेतृत्व वर्गले पनि सर्वसमम्मत नेतृत्व गर्ने कुरामा केही सहजिकरण गर्नुभएको हो । तर, नेताहरुले मात्रै भनेर म अध्यक्ष भएको हो भन्ने कुरामा सत्यता छैन् । यसअघि पनि म अनेरास्ववियूको निर्वाचित उपाध्यक्ष हो । उपाध्यक्ष पनि म कुनै कोटामा निर्वाचित भएको होइन् ।’

नेविसंघमा कहिले ?

नेविसंघ पदाधिकारीमा अहिले तीन जना महिला छन् । तुलसा पन्त उपाध्यक्ष छिन् । महामन्त्रीमा थपलिया र महेश्वरी कुँवर छन् । यसअघि पनि प्रतिमा गौतम, बिजुला बर्मा, कृष्णा बस्नेत लगायत पदाधिकारीमा थिए ।

तर, देशकै पुरानो मध्यको एक भए पनि नेविसंघमा अध्यक्षमा महिला आउन सकेका छैनन् ।

थपलिया नेविसंघमा पनि महिलाले नेतृत्व गरेको हेर्न चाहेको बताउँछिन् । ‘हाम्रोमा लामो समय महाधिवेशन रोकियो, त्यो कारणले गर्दा पनि महिला नेतृत्व पछाडि परेको हो,’ उनको भनाइ छ, ‘हाम्रोमा पनि एकचोटी महिलाले नेतृत्व गरेको हामीले हेर्न चाहिँरहेका छौं । त्यो अवस्था हामी आफैले पनि गर्ने र तपाईंहरुको साथ सहयोग पनि जरुरी छ ।’

उनले थपिन् ‘महिलाहरुले संगठन हाँक्न सक्छन्, पार्टी हाँक्न सक्छन् र महिलाहरुले पनि देश चलाउन सक्छन् भन्ने कुराको उदारण अरु संगठनले पनि दिइसकेका छन् । हाम्रो देश महिला राष्ट्रपति भइसकेको देश पनि हो ।’

महिलालाई नेतृत्वमा पुर्‍याउन कांग्रेसमा दवाव पुगेन कि भन्ने प्रश्नमा कुरा र व्यवहारमा फरक भएका थपलियाको भनाइ छ। ‘हामी ठूला-ठूला कुरा गर्छौं, भाषण गर्छौं तर व्यवहारमा अलिकति फरक पनि हुन्छ,’ उनी भन्छिन्, ‘तर मलाई लाग्छ त्यो अवस्था नेविसंघले चिर्न सक्छ जस्तो लाग्छ । नेविसंघ हाक्न सक्ने महिला नेता जन्मिसकेका छन् । हामी नेतृत्वलाई पनि प्रेसर दिन्छौं । किनभने दुई-दुई वटा संगठनमा महिलाले नेतृत्व गरिसकेपछि कमसेकम नेविसंघमा महिलाको पोजिसन के हो भन्ने कुरामा हामीले पनि झकझक्याउँछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर