उपनिवेशविरुद्धका शरणार्थी लेखकलाई साहित्यतर्फको नोबेल – Nepal Press

उपनिवेशविरुद्धका शरणार्थी लेखकलाई साहित्यतर्फको नोबेल

नोबेल समितिले भन्यो : सत्य र सरलताप्रति गुनराहको समर्पण लोभलाग्दो

काठमाडौं । तान्जानियामा जन्मिएका उपन्यासकार अब्दुलरजाक गुरनाहले यसवर्ष नोबेल साहित्य पुरस्कार जितेका छन् ।

उनले आफ्नो लेखनमार्फत उपनिवेशका प्रभाव तथा संस्कृति र महादेशको भिन्नताले शरणार्थीको भाग्य कसरी लेखिन्छ भनेर यथार्थ चित्रण गरेको भन्दै उनलाई पुरस्कृत गरिएको नोबेल समितिले जनाएको छ ।

१० उपन्यास र केही छोटा कथा प्रकाशित गरेका गुरनाहले आफ्ना लेखनीहरुमा शरणार्थीको पीडालाई दर्शाएको जनाइएको छ । उनी स्वयम तान्जानियामा जन्मिएर इङ्ल्यान्डमा शरणार्थीको रुपमा हुर्किएका थिए ।

शरणार्थीको रुपमा इङ्ल्यान्ड आएपछि उनले २१ वर्षको उमेरदेखि उपन्यास लेख्न थालेका थिए । स्वाहिली उनको पहिलो लेखकीय भाषा हो । अंग्रेजी भने उनको माध्यम भाषा हो ।

जन्जिबार टापुमा सन् १९४८ मा जन्मिएका उनी शरणार्थीको रुपमा बेलायत पुगेका थिए । सन् १९६३ डिसेम्बरमा तान्जानियामा चलेको आन्दोलनलाई राष्ट्रपति अबेइद कुरुमीले दमन गरेपछि उनी त्यहाँबाट परिवारसहित इङ्ल्यान्डमा निर्वासनमा गएका थिए ।

उक्त चलेको आन्दोलनमा अरब मुलका नागरिकलाई दमन गरिएको थियो । यो दमनबाट मुक्त हुन उनको परिवारले देश छाडेको थियो । उनले स्कुल पनि बीचमै छाड्नुपरेको थियो । त्यो आन्दोलनपछि तान्जानिया निर्माण भएको थियो ।

कुरानमा वर्णित सुराजस्तै उनीद्वारा रचित अरविक र पर्सियन कविता ‘द अरबियन नाइट्स’लाई निकै चर्चित मानिन्छ । नोबेल समितले कुरानको सुराजस्तै उनको उक्त कविता चर्चित भएको जनाएको छ ।

सन् २००५ मा प्रकाशित भएको उनको उपन्यास ‘डिजर्सन’ले उपनिवेश कालिन प्रेमकथा प्रस्तुत गर्छ । यो वियोगान्त कथालाई उनले उपनिवेशको रोमान्स समेत भन्ने गरेका छन् । उनको लेखनीमा आफू हुर्किएको र जन्मिएको इन्डियन महासागर क्षेत्रको दासत्व र दमनका चक्रहरुको अनुभव झल्किन्छ । पोर्चुगिज, इन्डियन, अरब, जर्मन र ब्रिटिस उपनिवेशको चक्रमा तान्जानिया टापु चेपिएको थियो ।

गुनराहको लेखनीमा उनको निर्वासनकालको पीडा महसुस गर्न पाइन्छ तर, उनको आफ्नो भूगोलसँगको सम्बन्धलाई पनि देख्न पाइन्छ । उनको कामको सबैभन्दा महत्वपूर्ण कुरा भनेको उनको स्मरण हो । सन् १९८७ मा उनीद्वारा लिखित मेमोरी अफ डिपार्चरले अफ्रिका महादेशमा भएको असफल विद्रोहको कथा भन्छ ।

गुनराहको पछिल्लो पुस्तक आफ्टरलाइभ्स सन् २०२० मा प्रकाशित भएको थियो जसले स्वर्गको अन्त्यको कथा भन्छ । सन् १९१९ मा अफ्रिकामा पूर्वी जर्मनीको उपनिवेश अन्त्य भएको सेटिङमा यसलाई लेखिएको छ ।

सत्य र सरलताप्रति उनको समर्पण निकै लोभलाग्दो रहेको नोबेल समितिले लेखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *