पाँच महीनापछि फिल्म हलमा फर्किए दर्शक, पहिलो दिनमा ३० प्रतिशत अकुपेन्सी (तस्बिरहरू) – Nepal Press

पाँच महीनापछि फिल्म हलमा फर्किए दर्शक, पहिलो दिनमा ३० प्रतिशत अकुपेन्सी (तस्बिरहरू)

काठमाडौं । पाँच महीनापछि आजदेखि खुलेका फिल्म हलहरुमा दर्शकको आशालाग्दो उपस्थिती देखिएको छ । राजधानीका प्रमुख मल्टिप्लेक्समा पहिलो दिन दर्शकीय अकुपेन्सी ३० प्रतिशत (सरकारले ५० प्रतिशतलाई मान्यता दिएको) देखिएको छ ।

हल खुलेपछिको पहिलो दिन हलिउड फिल्महरु ‘फास्ट एन्ड फ्युरियस ९’ र ‘नोबडी’ प्रदर्शनमा आएका छन् । मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले आजदेखि संचालनमा ल्याएका सिभिल मलस्थित सेन्ट्रल सिनेमा, छायाँ, भक्तपुर भाटभटेनी र लबिम मलमा यी दुबै फिल्म रिलिज गरेको छ ।

मध्यान्ह साढे १२ बजेको सिभिल मलको सोमा ३० प्रतिशत दर्शकीय अकुपेन्सी थियो । बिहीवार बेलुका लबिम मलमा ३५ प्रतिशत अकुपेन्सी बराबरको टिकट विक्री भैसकेको छ । कमलपोखरीस्थित बिग मूभिजमा दिउँसो र अपरान्हको सोजमा झन्डै २५ प्रतिशत अकुपेन्सी देखिएको छ । पोखराको मिडटाउन मल्टिप्लेक्समा ३५ प्रतिशत अकुपेन्सी देखिएको छ ।

‘आजको अकुपेन्सी हाम्रो लागि निकै उत्साहजनक हो’ क्यूएफएक्स सीइओ रोशन अडिगाले नेपाल प्रेसलाई भने, ‘दर्शकले फिल्मको माहौललाई मिस गर्नुभएको थियो । आजको अकुपेन्सी हेर्दा यसले हामीलाई फिल्म क्षेत्र चलायमान बनाउने विश्वास दिएको छ ।’

काठमाडौंको सुरुआतको बक्सअफिस प्रस्तुति र अकुपेन्सीलाई हेरेर मोफसलका आउटलेटलाई पनि संचालनमा ल्याउने क्यूएफएक्सको योजना छ । सम्भवतः उपत्यकाबाहिर कात्तिक पहिलो साता रिलिज हुने बलिउड फिल्म सूर्यवंशीसँगै हलहरु संचालनमा आउनेछन् ।

‘मोफसलमा हलसम्म दर्शकलाई फर्काउन एउटा राम्रो फिल्म आवश्यक हुन्छ र यसका लागि हामी सूर्यवंशीको प्रतीक्षामा छौं’ सीइओ अडिगाले भने, ‘काठमाडौं भने फास्ट एन्ड फ्युरियस र नो टाइम टु डाइले माहौल बनाउन सक्छन् ।’

चलचित्र संघले आगामी २६ गते फूलपातिको दिनमा नेपाली फिल्म डाँडाको बरपीपल रिलिज गर्दैछ भने २८ गते जेम्स बन्ड फिल्म नो टाइम टु डाइ । कोरोनाको दोस्रो लहरलाई रोकथाम गर्न प्रशासनले निषेधाज्ञा गरेपछि बैशाख १६ गतेदेखि फिल्म हलहरु बन्द थिए ।

तर, कोरोना संक्रमणमा कमी आएको भन्दै प्रशासनले गत महीनादेखि फिल्म हलहरुलाई खुलाउन अनुमति दिएको थियो । फिल्म लाइनअप नहुँदा हलहरु संचालनमा आउन सकेका थिएनन् । यद्यपी, आजदेखि खुलेका फिल्म हलहरुले कोरोनाले थलिएको नेपाली फिल्म उद्योगलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *