मेवामा आत्मनिर्भर बन्ने अभियानमा कपिलवस्तुका किसान – Nepal Press

मेवामा आत्मनिर्भर बन्ने अभियानमा कपिलवस्तुका किसान

खेतीसँगै कृषि पर्यटन प्रवर्द्धन गर्ने योजना

रुपन्देही । मेवाका पारखी कपिलवस्तुका युवाउद्यमी खुमानन्द घिमिरे नेपाली बजारमा पाइने धेरै मेवा भारतबाट आयात भएको र बजारमा माग बढेको देखेपछि नेपालमै मेवा उत्पादन गरी आम्दानी गर्ने सोचमा पुगे ।

सोचलाई काममा बदल्ने योजना बनाउँदै गर्दा उनले एक समूह भेटे । २०७७ सालको अन्तिमतिर जताततै कोरोना महामारीको त्रास भइरहेको समयमा भेटिएको समूहले मेवा उत्पादनको नमूना काम शुरु गर्यो ।

७ जना पौरखीहरुको टिमले कपिलवस्तुको वाणगंगा नगरपालिका– २ लखनपारामा नेपालकै ठूलो मेवा फर्म संचालन गरेर छोटो समयमै उत्पादन तयारी गरिसकेको छ ।

कृषि क्षेत्रका प्राविधिकसमेत गरी ७ जनाको यो समूहले लुम्बिनी बहुद्देश्यीय एग्रिकल्चर प्रालि गठन गरी पाँच वर्षका लागि ८ विगाहा जग्गा लिजमा लिएर सवा करोडभन्दा बढी लगानीमा मेवा फर्म संचालन गरेका हुन् ।

यो नेपालकै ठूलो मेवा फर्म रहेको दावी संचालक घिमिरेको छ । फर्ममा काठमाडौंका २, रुपन्देही सालझण्डीका २, अर्घाखाँची, कपिलवस्तु र दाङका १–१ जना गरी सात जनाको लगानी छ ।

‘कृषि क्षेत्रको प्राविधिक जानकारी भएका उपेन्द्र शाही, व्यवस्थापनमा सफल प्रालिका अध्यक्ष पिताम्बर पोखरेलसहित हामी सबैको उत्साहपूर्ण लगानीमा हामी यहाँसम्म आएका छौं, योजना बनाएको छोटो समयमा नै उत्पादन भइसकेको छ, अब बजार व्यवस्थापनको योजनामा अगाडि बढ्छौं’, संचालक खुमानन्द घिमिरेले कम्पनीको योजना सुनाए ।

अहिले फर्ममा ‘ताइवान रेड लेडी ७८६’ प्रजातिका ९ हजार ४ सय ७६ मेवाका विरुवा हुर्किरहेका छन् । लटरम्म फल लागेका छन् । गत फागुनमा सुरु गरिएको फर्मबाट अब बेच्ने गरी मेवा तयार भइसकेकोे छ । एउटै राम्रो विरुवामा १ देखि २ क्वीन्टलसम्म मेवा फल्न सक्छ । संचालकहरुका अनुसार यस जातिको मेवाको बिउको मूल्य प्रतिकेजी ११ लाख पर्दछ ।

सो क्षेत्रका प्रदेश सांसद विष्णु पन्थीले पौरखी किसानहरुको नमूना कामको शुरुवात भएको र यस्ता उत्पादनले नेपालमा आयात हुने कृषि तथा फलफूलजन्य वस्तुलाई रोक्न सकिने बताउँछन् ।

उनले अब स्थानीय सरकारले संयोजन र प्रदेश सरकारले समन्वय गरेर यसप्रकारका योजनालाई आफूले पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

केही समयअघि मेवा खेती अवलोकन गर्न पुगेका पन्थीले सामाजिक संजालमै लेखेका थिए, ‘नेपालमै केही गरौं भन्नेहरुलाई यो नमूना उदाहरण हो ।’

प्रालिका अध्यक्ष पिताम्बर पोख्रेलले स्थानीय तथा प्रदेश सरकारले प्राविधिक सहयोगसँगै उत्पादन भएको मेवाको बजारीकरणका लागि सहयोग गर्नुपर्ने बताए ।

सरकारले सहयोग गरी उत्साहित बनाउने र कुनै प्राकृतिक विपत्ति नआएमा प्रदेशलाई मेवा खेतीमा आत्मनिर्भर गराउने संचालक खुमानन्द घिमिरे बताउँछन् । नेपालमा वार्षिक करिब एक अर्बको मेवा भारतबाट आयात भइरहेको छ । यस फर्मबाट उत्पादन हुने मेवाले आयातलाई रोक्न सहयोग गर्ने प्रदेश सांसद पन्थी बताउँछन् ।

फर्ममा अहिले २० जनाले रोजगारी पाएका छन् । दाङबाट विशेष प्रविधि झिकाएर मेवा खेती भइरहेको छ । सो फर्ममा नै अहिले नर्सरी बनाएर विरुवा उत्पादन भइरहेको प्राविधिकहरु बताउँछन् ।

त्यहाँबाट तयार भएका बिरुवा अहिले स्थानीयस्तरमा पनि बिक्री वितरण भइरहेको बताइएको छ । संचालक खुमानन्द घिमिरेले एग्रो टुरिजमको अवधारणामा अगाडि बढेको भन्दै यसलाई नेपालकै नमूना फर्म बनाइने बताए ।

उनका अनुसार अहिले यहाँ मेवासँगै फूलखेती पनि गरिएको छ । अहिलेको तिहारमा पनि बजारमा पुराउने गरी फूल खेतीको तयारी भएको र यसको बजार व्यवस्थापनसँगै लगानी बढाउने घिमिरेले बताए । मेवा तथा फूल खेतीका लागि यो वर्ष धेरै वर्षा भएकाले केही समस्या भएको उनको भनाइ छ ।

मेवा खेती हेर्नका लागि अहिले कपिलवस्तुका विभिन्न ठाउँ तथा अन्य जिल्लाहरुबाट आउने क्रम बढ्न थालेको छ । संचालक घिमिरेका अनुसार मेवा र फूलले आन्तरिक पर्यटक तथा व्यवसायीलाई ध्यान तान्ने बताउँछन् ।

ठूला जमिनमा व्यवसायिक खेती गर्दा मुनाफा हुने र सामूहिक लगानीमा ठूला योजना अगाडि सार्न सकिने संचालक ओपेन्द्र शाही ठकुरी बताउँछन् । उनका अनुसार हरेक वर्ष ७५ देखि ८५ करोडको मेवा भारतबाट आएको रेकर्ड भन्सार विभागको तथ्यांकमा देखिएको तर नेपालमा व्यवसायिक उत्पादन हुनै नसकेको उनको भनाइ छ । १० करोडभन्दा बढीको उत्पादन नै हुन नसकेको उनको दावी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर