बुटवलमा बन्यो नेपालकै पहिलो ढुवानीग्राम, व्यवसायी खुसी – Nepal Press

बुटवलमा बन्यो नेपालकै पहिलो ढुवानीग्राम, व्यवसायी खुसी

सार्वजनिक–निजी क्षेत्र साझेदारीको नमूनायोग्य कामः बुटवल उपमहानर

रुपन्देही । सार्वजनिक–निजी क्षेत्रको साझेदारीमा बुटवलमा नेपालकै पहिलो र नमूना ढुवानीग्राम तयार भएको छ । बुटवल उपमहानगरपालिका– १२ ढवाहामा ट्रान्सपोर्ट भिलेज अर्थात् ढुवानीग्राम निर्माण भएको हो । सार्वजनिक–निजी साझेदारीको करिब ३७ करोड लागतमा ढुवानीग्राम निर्माण भएको हो ।

सार्वजनिक–निजी क्षेत्र साझेदारीको योजनाअनुसार रुपन्देही परिवहन प्रालिसँगको सहकार्यमा बुटवल उपमहानगरले ढुवानीग्रामको कामलाई बहुवर्षीय योजनाको रूपमा अगाडि सारेको थियो ।

व्यस्त सहरी क्षेत्रमा हेवीलोडका सवारीसाधनलाई छिर्न नपर्ने र ट्राफिक अवस्था व्यवस्थित गर्न अलग्गै ढुवानी ग्राम बनाएको हो । उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले मुलुकको आर्थिक केन्द्रका रुपमा रहेको बुटवलको आर्थिक गतिविधिलाई अझ सहज, व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले नमूना ढुवानी ग्राम निर्माण गरिएको बताए ।

‘संरचना निर्माणका काम लगभग अन्तिम चरणमा पुगेका छन् । ढुवानी ग्राममा रहने गार्डरुम, शौचालय, प्राथमिक उपचार कक्ष, सुरक्षा पोष्ट निर्माणका काम अन्तिम चरणमा पुगेका छन् भने बाँकी कामको निर्माणकार्य लगभग पूरा भएको छ’, सुवेदीले भने, ‘सँगसँगै सौन्दर्यकरणको काम पनि चलिरहेको छ ।’

ढुावानीग्रम बनेसँगै यहाँका ढुवानी व्यवसायीहरु खुशी भएका छन् । प्रमुख सुवेदीले व्यस्त र भिडभाडयुक्त बजार क्षेत्रलाई व्यवस्थित गर्ने उद्देश्यले उपमहानगरपालिकाले गरेको प्रस्तावमा निजी क्षेत्रले सहजै सहकार्य गर्ने प्रतिवद्धता जनाएकाले काम तोकिएको समयमै पूरा भएको बताए ।

हेवी लोडका ढुवानीका सवारीलाई अलग्गै ठाउँको व्यवस्था मिलाएपछि अब व्यस्त सहरको ट्राफिक चाप कम हुने भएको छ । ठूला र भारवाहन ढुवानीका साधनहरूको आवतजावतले बुटवल बजार क्षेत्र अस्तव्यस्त बनिरहेको अवस्थामा बजारदेखि टाढा रहेको क्षेत्रमा व्यवस्थित ढुवानीग्राम निर्माण भएपछि सहरी सौन्दर्यतामा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

सार्वजनिक निजी साझेदारी मोडलमा मुलुकमै पहिलो नमूनाको रूपमा रहेको ढुवानीग्राम बुटवलको गौरवको योजना हो । सार्वजनिक–निजी साझेदारीमा यसप्रकारको अलग्गै ढुवानीग्राम मुलुकमा अन्यत्र नरहेको उपमहानगरको दावी छ ।

ढुवानी व्यवसायीका अगुवा तथा समितिका पूर्वअध्यक्ष माधव नेपालले बुटवलको पहिचानका रुपमा नमूना अटो भिलेजपछि नमूना ढुवानीग्राम बन्ने दाबी गरे । उनले लगानी सुरक्षा र प्रतिफलको सुनिश्चितता भएकाले नै आफूहरुले सार्वजनिक क्षेत्रसंग सहकार्य गरेको बताए ।

उपमहानगरले गुरुयोजना नै बनाएर ढुवानी ग्राम निर्माणको काम सुरु गरेको उपमहानगरका प्रमुख प्रशासकीय शिवप्रसाद रेग्मीले बताए । उनले निजी क्षेत्रसंगको सहकार्यमा बुटवलले अर्को नमुना कामको थालनी गर्न पाएको बताए ।

के–के छन् ढुवानीग्राममा ?

ढुवानीग्राम राजमार्ग क्षेत्रबाट ३.६ किलोमिटर दूरीमा छ । उपमहानगरले त्यस क्षेत्रमा पुग्न पहुँचमार्ग, ढल तथा नाली निर्माण गरेको छ । थप वाइपास सडक निर्माण गरेर दानव नदी करिडोरमा जोड्ने तयारी भइरहेको छ ।

ग्राम नजिकै रहेको दानव नदीमा पुल निर्माण गर्ने र बाइपास सडकलाई विस्तार गर्ने बारेमा उपमहानगरको प्राविधिकहरुको टोलीले त्यसक्षेत्रको निरीक्षण गरेको छ । उक्त ढुवानी ग्राममा साना ग्यारेजदेखि प्राथमिक उपचारकक्षसम्म निर्माण हुनेछन् ।

बिओटी मोडल (बिल्ड, अपरेट, ट्रान्सफर मोडल) मा ढुवानी ग्राम निर्माण भइरहेको छ । यहाँ ४९ वटा सेड निर्माण भएका छन् । उपमहानगरको साझेदारी गरेको रुपन्देही परिवहन प्रालिले एमबी कन्ट्रक्सनलाई करिब १३ करोडमा ठेक्का सम्झौता गरेको थियो ।

ढुवानी ग्राममा सामान अनलोड गर्ने अलग्गै सेडहरु, स्टोर कक्षहरु, कार्यालय, बिद्युत, खानेपानी, स्नानागार, शौचालय, विश्रामकक्ष, ढल तथा नाली, प्राथमिक उपचार कक्ष, सुरक्षागार्ड कक्ष, सूचना कक्ष निर्माण भइरहेको सहरी विकास तथा पूर्वाधार महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले बताए ।

ढुवानी व्यवसायीसँग १५ वर्षे सम्झौता

उपमहानगरपालिकाले ढुवानीग्रामलाई दीगो रुपमा सञ्चालनका लागि मापदण्डसमेत बनाएको छ । ढुवानी व्यवसायीसंग १५ वर्षे सम्झौता भएको छ । उपमहानगर र रुपन्देही परिवहन प्रालिबीच सम्झौता भएको हो ।

सम्झौताअनुसार प्रालिले १५ वर्षपछि उपमहानगरपालिकालाई ढुवानीग्राम हस्तान्तरण गर्नेछ । निर्माण सम्पन्नपछि ढुवानीग्राममा व्यवसाय सञ्चालन गर्ने व्यवसायीले एक हजार पाँच सय ५० वर्ग फुट क्षेत्रफलमा निर्माण हुने प्रति सेडको मासिक तीन हजार एक सय रुपैयाँ बहाल रकम बुझाउने छन् ।

बहाल रकम प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले वृद्धि हुने सम्झौतामा उल्लेख गरिएको उपमहानगरमा वित्त व्यवस्थापन महाशाखा प्रमुख तथा वरिष्ठ अधिकृत विष्णुप्रसाद खनालले बताए ।

बुटवल मुलुकको आर्थिक केन्द्र हो । बृहत बुटवलको अवधारणासहित सार्वजनिक–निजी साझेदारीको नमुना योजना साकार हुने चरणमा पुगेपछि साझेदारहरु खुशी भएका छन् । रुपन्देही परिवहन प्रालिका अध्यक्ष कमल घिमिरेले ढुवानी व्यवसायीहरु उत्साही भएको बताए ।

उनले बुटवलको नमुना प्रयासले आफूहरु उत्साही भएको र गौरवको आयोजना निर्माण सकिने चरणमा पुगेको बताए । उनले निजी क्षेत्रको विश्वास जितेर उपमहानगरले साझेदारीमो नमूना योजना सफल बनाएको बताए ।

ढुवानीग्राम निर्माण सम्पन्न भएपछि बुटवलका चोक तथा गल्लीहरूमा सञ्चालित ढुवानी व्यवसायी स्थानान्तरण हुनेछन् । ढुवानी ग्रामबाट साना सवारीले अन्यत्र सामान आसार्ने छन् । हेभी लोडका ठूला गाडी अब ब्यस्त बजार क्षेत्रभित्र प्रवेश गर्नुपर्ने छैन । जसले विभिन्न क्षेत्रको लागि सामान ढुवानी गर्ने व्यवसायीहरूलाई ढुवानीका सामान खोज्न सहज हुनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *