मनोज पण्डित निर्देशित फिल्म ‘एक’ आजदेखि ओटीटी र डीटीएच प्लेटफर्ममा रिलिज – Nepal Press

मनोज पण्डित निर्देशित फिल्म ‘एक’ आजदेखि ओटीटी र डीटीएच प्लेटफर्ममा रिलिज

काठमाडौं । मनोज पण्डित निर्देशित फिल्म ‘एक’ आजदेखि ओभर दी टप र डीटीएच प्लेटफर्महरुमा रिलिज भएको छ । डिसहोम, म्याक्स टिभी, सिनेमा घर लगायतका प्लेटफर्मबाट फिल्म रिलिज भएको हो । दसैँ घटस्थापनाको अवसरमा निर्देशक पण्डितले फिल्म रिलिज गरेका हुन् ।

फिल्मले मधेशमा भूराजनीतिको कथा पेश गर्छ । ग्रेटर नेपाल, बधशाला र छायाँ निर्देशक पण्डितले पल्टिकल ड्रामास्वरुप यो फिल्म ल्याएका हुन् । प्रायः फिल्ममा राजनीति, समाज र मानवीयतालाई चित्रण गर्ने पण्डितले यसमा चाहिँ नेपाल–भारत सीमावर्ती भूगोललाई उठाएका छन् ।

विदेशी षड्यन्त्रबाट नेपाललाई जोगाउन विशेष गुप्तचर निकाय जतिसक्दो चाँडो स्थापित गर्नुपर्छ भन्ने तथ्यलाई स्थापित गर्न यो फिल्मले सीआइएस नामक एउटा जासूसी निकायको परिकल्पना गरेको छ । देश जोगाउन एउटा इमान्दार एजेन्टको संघर्ष यसको द्वन्द्व हो । मुख्य भूमिकामा विशाल पोखरेल छन् जसले इमान्दार एजेन्टको भूमिका निर्वाह गरेका छन् । ज्योत्सना योगीले उनको सहयोगी एजेन्टको चरित्र चित्रण गरेकी छिन् ।

‘मधेश विकास र शान्तिको पक्षमा अगाडि बढ्ने प्रक्रियामा रहँदा यसलाई विथोल्न स्वतन्त्र मधेशको अवधारणा स्थापित गरेर नेपाललाई सँधै अस्थिर तुल्याइराख्ने षड्यन्त्रको शिकार भएको नेपाली यथार्थलाई फिल्म एकले सिनेम्याटिक चुनौति दिएको छ’ निर्देशक पण्डितले नेपाल प्रेसलाई भने ।

फिल्ममा स्वतन्त्र मधेशको नारा बोक्ने पात्रको भूमिका अभिनेता प्रमोद अग्रहरिले निर्वाह गरेका छन् । स्क्रिप्ट फ्याक्ट्रीको ब्यानरमा बनेको फिल्मको निर्माता आत्मा गुरागाइँ र सोफिया थापा छन् । छायांकन दीपक बज्राचार्य, सम्पादन भरत रेग्मी, संगीत गोविन्द मधुर आचार्य, पुष्कर महतो र हरि लम्सालको छ । फिल्ममा प्रमोद खड्का, रामशरण पाठक, मदन ठाकुर, सुरेश शाह, सविर चुरौटे, हरुन अली, रमेश महर्जन, रिसिका घिमिरे तथा बालकलाकार विश्वन्त पोखरेलले अभिनय गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *