भक्तपुरको प्रजिअ र सहायक प्रजिअ दुवै महिला – Nepal Press

भक्तपुरको प्रजिअ र सहायक प्रजिअ दुवै महिला

सहायक सीडीओमा पहिलोपटक दलित महिला

काठमाडौं । भक्तपुर जिल्लामा पहिलोपटक प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी दुवै महिला हुने संयोग जुरेको छ । गत भदौ ३० गतेको गृहमन्त्रीस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी रुद्रादेवी शर्मालाई दिइएको थियो मंगलबारदेखि सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सीता परियारले सम्हालेकी छन् ।

परियार दलित समुदायबाट सहायक सीडीओ बन्ने पहिलो महिला पनि हुन् । उनी तीन महिनादेखि गृह मन्त्रालयमा फाजिलमा रहेकी थिइन् । तीनवटा उपमहानगरपालिका तथा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको अनुभव उनीसँग छ । परियार यसअघि धनुषाको जनकपुरधाम उपमहानगरपालिका, काठमाडौंको किर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिइन् ।

जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा आउनुअघि उनले संवैधानिक आयोगका रुपमा रहेको मुस्लिम आयोगको प्रशासन शाखा प्रमुख तथा सूचना अधिकारीको जिम्मेवारी सम्हालेकी थिइन् ।

प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारीमा रहनुअघि उनले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको बालसंरक्षण तथा विकास शाखाको प्रमुखको रुपमा काम गरेकी थिइन् । उनी सो शाखामा रहँदा रुद्रादेवी शर्मा महिला सशक्तीकरण महाशाखामा थिइन् । मन्त्रालयमा रहँदा सँगै काम गर्ने मौका मिलेकाले पनि शर्मा र परियारको केमेष्ट्री मिल्ने आशा गरिएको छ ।

संघीय संरचनाअघि भने परियार तत्कालीन जिल्ला विकास समिति भोजपुरको स्थानीय विकास अधिकारी थिइन् । उनी नेपालमा निजामती सेवाको इतिहासमा नेपाल सरकारको राजपत्रांकित द्वितीय श्रेणी अर्थात उपसचिवसम्म पुग्ने पहिलो दलित महिला हुन् । परियार शाखा अधिकृतबाट उपसचिव बढुवा भएको ८ वर्ष पुगेको छ ।

रुपा गाउँपालिका १ कास्की स्थायी घर भएकी परियार शाखा अधिकृतबाट निजामती सेवामा छिरेको १० वर्ष पुरा भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *