एमसीसी र बीआरआईलाई सहमतिमै अघि बढाउँछौं : परराष्ट्रमन्त्री खड्का (भिडिओ) – Nepal Press

एमसीसी र बीआरआईलाई सहमतिमै अघि बढाउँछौं : परराष्ट्रमन्त्री खड्का (भिडिओ)

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले एमसीसी र बीआरआईजस्ता विदेशी परियोजनालाई सहमतिमै अघि बढाउने बताएका छन् । सहमति नभइ र राष्ट्रिय हित विपरितका मुद्दाहरु संसदमा प्रस्तुत गर्न नमिल्ने पनि उनले बताए । बुधबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै परराष्ट्रमन्त्री खड्काले एमसीसी, बीआरआई, सीमा तथा बाँधका समस्या सहमतिमै अघि बढाइने बताए ।

परराष्ट्रमन्त्रीको कार्यभार सम्हालेपछि बुधबार पहिलोपटक मन्त्री खड्का समितिको बैठकमा सहभागि थिए ।

मन्त्री खड्काले राष्ट्रहित बिपरितका कुराहरु पास गर्न नहुने भन्दै सम्झौता गरिएका मुद्दाहरु राष्ट्रियहितमा छन् वा छैनन् भन्ने कुरा अनुसन्धान गरेर मात्रै निर्णय लिनुपर्ने बताए । सत्तामा एउटा र बाहिर हुँदा अर्को आवाज निकाल्ने हो भने परराष्ट्रहरुसँगको विश्वसनीयता हट्ने भन्दै उनले सबै सम्झौताहरु गर्दा अध्ययन गरेर मात्रै सम्झौता गर्न सुझाव दिए ।

उनले भने, ‘राष्ट्रिय हित भनेको कुनै एउटा पार्टीको होइन, त्यसैले साझा सहमति हुन सक्यो भने मात्रै अहिले उठेका मद्दाहरुलाई सम्बोधन गर्न सक्छौँ, होइन भनेदेखि खेल्छन् नै खेलिन्छन् नै, त्यसैले हामीले सबैभन्दा पहिलो कुरा नेशनल यूनिटी अप्रोच हुनुपर्‍यो । त्यो एप्रोच भएपछि मात्रै मोडल्ट ठूलो हुन्छ, मसँग परराष्ट्रमन्त्रीको पद त छ, कपडा लगाउन पनि सिकाएको छ, पदले मलाई टाइ र सूट पनि बाँध्न सिकाएको छ, तर मेरो नैतिक शक्ति भएन भने आत्मविश्वास हुँदैन । जहाँ नैतिक पावर हुँदैन त्यसले आत्मविश्वासलाई कमजोर बनाइदिन्छ ।’

उनले अगाडि भने, ‘अहिलेका हाम्रा आउटस्ट्याण्डिङ इस्यूजहरु, बाँकी मुद्दाहरु, सीमाका, बाँधका, एमसीसीका, बीआरआईका, यी सबै तमाम मुद्दाहरु हामीले सम्बोधन गर्न सक्नुपर्छ, त्यसैले मेरो सबैभन्दा पहिलो प्राथमिकता नै सहमति गर्ने हो, एमसीसी पनि सहमतिबाटै गर्ने हो, मैले भने हाम्रो हितमा छ भने पास गर्ने हो, हितमै छैन भने किन पास गर्ने ? तर हितमा छ कि छैन भन्ने कुरा अनुसन्धान गरौँ, अनि समस्या विश्वसनीयताको छ ।’

परराष्ट्रमन्त्री खड्काले सत्तामा हुँदा एउटा गर्ने र नहुँदा अर्को गर्ने काम गर्न नहुने बताए । उनले भने, ‘भदौ २९, २०७६ सालमा हामीले सही गरेर आएका छौँ एमसीसीको, त्यो सही के हो त, अर्थमन्त्रीबाट नेपालको तथा धेरै मुलुकको अर्थमन्त्रीले हस्ताक्षर गर्दै आउनुभएको छ, त्यसमा फेरि संयुक्त सरकार, खास गरी दुईवटा माओवादी र काँग्रेसको सरकार थियो, अब त्यसलाई हामीले पास गर्ने कि नगर्ने ? त्यो भन्दाअघि हामीले किन अध्ययन गरेनौँ ? बाबुरामजीदेखि अहिलेको प्रधानमन्त्री शेरबहादुर देउवासम्म आइपुग्यो ७ जना प्रधानमन्त्री इन्भल्व भइसक्नुभयो, अहिलेसम्म आइपुग्दा किन अध्ययन हुन सकेन ? होएर आर विइ ? कहाँ छौँ हामी ? हामीले सत्तामा हुँदा एउटा र बाहिर हुँदा अर्को आवाज गर्यौं भने विश्वसनीयता गुम्छ, अनि पत्याउँदैनन् हामीलाई, हामी कमजोर हुन्छौँ, हाम्रो हितमा छैन भने भनौँ : माई डियर अमेरिका फ्रेण्ड्स हामीले हाम्रो हीतमा पाएनौँ सरी, तर हामीले सही गरिसक्यौँ अब के गर्ने ।’

बैठकमा नवनियुक्त परराष्ट्रमन्त्री बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै समिति सदस्यहरुले अबको परराष्ट्रनीति कस्तो बनाउने भन्ने बारेमा छलफल गरेका थिए । मन्त्री खड्काले सांसदहरुको प्रश्नको जवाफमा अबको परराष्ट्र नीति नजिकका मित्र र अन्य परराष्ट्रहरुसँगको सम्बन्धलाई एकतावद्ध गरेर जानुपर्ने बताए । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर