यसवर्षको डीभी लोटरी खुल्यो : कसरी भर्ने ? कुन कुरामा ध्यान दिने ? – Nepal Press

यसवर्षको डीभी लोटरी खुल्यो : कसरी भर्ने ? कुन कुरामा ध्यान दिने ?

काठमाडौं । सन् २०२३ को डीभी बुधबार रातीदेखि खुला भएको छ । नेपाली समयानुसार बुधबार बेलुका पौने १० बजेदेखि डीभी लोटरी भर्न खुला भएको हो । सन् २०२३ का डीभी बिजेताले सोही वर्षको सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्न सक्ने भएका छन् । रिजल्ट चाहिँ सन् २०२२ को मे महीनामा आउने जनाइएको छ ।

यसपटक बंगलादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमिनिक रिपब्लिक, एल साल्भाडोर, हैटी, होन्डुरस, भारत, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, दक्षिण कोरिया, बेलायत, भेनेजुएला र भियतनामका नागरिकले डीभी भर्न पाउनेछैनन् । मकाउ र ताइवानलाई भने योग्य मानिएको छ ।

डीभी भर्दा ध्यान दिनुपर्ने पाँच कुरा

१) डीभीका लागि योग्य हुन १२ कक्षासम्मको अध्ययन वा तोकिएको कामको अनुभव हुनुपर्छ । तपाईंसँग यो योग्यता छैन भने डीभी नभर्नुहोला । नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्दा सँधैका लागि अमेरिकाको प्रतिबन्ध पनि खेप्नुपर्ने हुनसक्छ ।

२) डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरु बुझाउनुपर्छ । विगतमा प्रयोग भएको वा ६ महिनाभन्दा पुरानो फोटो डिभी भर्दा प्रयोग नगर्न सुझाव दिइएको छ । कतिपयले पहिले नै डिभी भर्दा प्रयोग भएको फोटो पटकपटक प्रयोग गर्दै आएका हुन्छन् । यस्तो गल्ती नगर्नुहोला । नयाँ फोटो खिचेर डिभी भर्नुहोला ।

३) डिभी भर्दा विवाहितले दम्पत्तिको सबै विवरण र बच्चाबच्ची हुनेहरुले उनीहरुको सम्पूर्ण विवरण उल्लेख गर्नुपर्छ । एकल उल्लेख गरेर भर्दा पर्ने सम्भावना बढी हुन्छ भन्ने भ्रममा परेर समेत कतिपयले एकल उल्लेख गर्छन्, जुन गलत हो । डिभी भर्दा एकल भरेका विवाहितले डिभी परेपछि समस्या भोग्दै आएका कैयन उदाहरणहरु छन् । त्यस्तै डिभी भर्दा छोराछोरीको विवरण उल्लेख नगरेकाहरुले पनि डिभी परेपछि भिसा लिने बेलामा समस्या भोग्दै आएका छन् । डिभी भर्दा दम्पत्ति र छोराछोरीको सम्पूर्ण विवरण उल्लेख गर्न सुझाव दिइएको छ ।

४) डिभी भर्दा सरकारको आधिकारिक वेवसाइटबाटमात्र भर्नुपर्छ । अक्टोबर ६ पछि सरकारको आधिकारिक वेवसाइटमा डिभी भर्ने लिंक उपलब्ध हुनेछ । त्यसका लागि यहाँ क्लीक गर्नुहोला कुनै तेस्रो संस्था वा व्यक्ति वा वेवसाइटमार्फत डिभी भर्दा ठगिने र रकम गुमाउनेमात्र होइन आफ्ना विवरणहरु समेत चोरिने सम्भावना हुन्छ ।

५) एउटाभन्दा धेरै आवेदन दिनेहरु स्वतः अयोग्य हुने अमेरिकी सरकारको विदेश मन्त्रालयले चेतावनी दिएको छ । कतिपयले एउटा भन्दा बढी आवेदन दिँदा डिभी पर्ने मौका बढी हुने भ्रममा परेर धेरै आवेदन समेत दिने गरेका छन् । तर यसो गर्दा तपाईका सबै आवेदनहरु डिभीका लागि अयोग्य हुन्छन् । तपाईका कोही आफन्तले तपाईका नाममा डिभी भरिसकेका छन् भने पनि तपाईले अर्को डिभीको आवेदन दिनु हुँदैन ।

डिभी भर्न १८ बर्ष पुग्नुपर्दैन, भिसा पाउने बेलासम्म प्लस टु उत्तिर्ण गरे हुन्छ

अमेरिकी दूतावास काठमाडौंका अनुशार डिभी लोटरी भर्नका लागि कुनै उमेरको सिमाबन्दी छैन । तर डिभी लोटरी भर्न पासपोर्ट भने अनिवार्य रहेको छ । कन्सुलर अधिकारीले उमेरको कुनै हदबन्दी नरहेको तर पढाई वा कामको अनुभव लगायतका अन्य योग्यताका मापदण्डहरु पूरा गर्नुपर्ने बताएका छन् ।

सन् २०२३ को डिभी लोटरीमा सहभागी हुनका लागि ११ वा १२ कक्षा पढ्दै गरेकाहरु पनि सहभागी हुनसक्नेछन् तर उनीहरुले डिभी परेर भिसा पाउनका लागि भने १२ कक्षा उत्तिर्ण गरेको हुनुपर्छ ।

पासपोर्ट अनिवार्य

२ बर्षदेखि डिभी लोटरी आवेदनमा पासपोर्ट अनिवार्य गरिएको हो । पासपोर्ट अनिवार्य गरिएको यो लगातार तेस्रो बर्ष हो । पासपोर्टमा भएको नाम, पासपोर्ट नम्बर, पासपोर्टको म्याद, जारी भएको देश लगायतका विवरणहरु भर्नुपर्नेछ । कम्युनिष्ट नियन्त्रित देशका सन्दर्भमा भने कम्युनिष्ट नियन्त्रित देशको सरकारबाट पासपोर्ट पाउन नसकेको व्यक्तिका सन्दर्भमा वा अमेरिकी विदेशमन्त्री र गृहमन्त्रीबाट वेभर स्वीकृत भएका व्यक्तिका सन्दर्भमा बाहेक अन्य सबैले डिभी लोटरी भर्दा पासपोर्टको विवरण अनिबार्य बुझाउनुपर्ने जनाइएको छ ।

पासपोर्ट हराएमा वा एक्सपायर भएमा

डिभी लोटरी भरिसकेपछि भिसाका लागि आवेदन भर्ने बेलासम्म पासपोर्ट हराएमा वा एक्सपायर भएमा भने त्यसको प्रमाण अमेरिकी सरकारलाई बुझाउनुपर्नेछ । यदि कुनै कारणवश पासपोर्ट नम्बर परिवर्तन भएमा त्यसको प्रमाण र परिवर्तन हुनुको कारण डिभी अन्तरवार्ता आउनु अगाडि नै केन्टकी सर्भिस सेन्टरलाई बुझाउनुपर्ने अमेरिकी सरकारले जनाएको छ ।

अमेरिकामा बस्ने नेपालीहरुले पनि डिभी भर्न पाउने

अमेरिकामा बस्ने नेपालीहरुले पनि डिभी लोटरीका लागि फर्म भर्न पाउनेछन् । नेपाल डिभी लोटरीका लागि योग्य देशको सुचीमा रहेका कारण अमेरिकामा रहेका तर कागजपत्र नभएका नेपालीहरुले पनि डिभी लोटरी भरेर यो कार्यक्रमबाट फाइदा लिन सक्नेछन् ।

यदि डिभी लोटरी पर्ने नेपाली संयुक्त राज्य अमेरिकामा भएमा त्यस्तो व्यक्तिले युएससीआईएससँग आफ्नो स्टेटस समायोजन गर्नुपर्छ । अध्यागमन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २४५ को शर्तअनुसार जो व्यक्ति संयुक्त राज्य अमेरिकामा भौतिक रूपमा उपस्थित छन् उनीहरूले युएससीआईएसमा स्थायी बसोबासको लागि निवेदन दिन सक्छन् ।

यी पेशामा विगत पाँचबर्षभित्र दुईबर्षको अनुभव भए डिभीका लागि योग्य

हाइस्कुल स्तरको शिक्षा नभएपनि डिभी लोटरी भरेर अमेरिका जानका लागि योग्य हुनसक्ने जनाइएको छ । अमेरिकी सरकारले तोकेको काममा अनुभव भएमा शैक्षिक योग्यता नभएपनि डिभी लोटरीको लागि योग्य हुने प्रावधान छ ।

अमेरिकी सरकारले तोकेका जागिरहरुमा विगत पाँचबर्षभित्र दुईबर्षको अनुभव भएको व्यक्ति डिभी लोटरीका लागि योग्य हुने अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेटले जनाएको छ ।

अमेरिकी सरकारले तोकेका एसभीपी ७ भन्दा माथि भएका र जोन ४ र ५ मा पर्ने जागिरहरुमा दुईबर्षको तालिम वा अनुभव भएको खण्डमा डिभी लोटरीका लागि शैक्षिक योग्यता नभएपनि योग्य हुनसक्ने प्रावधान रहेको छ ।

जसअनुशार हाइस्कुल स्तरको शिक्षा नभएको खण्डमा गायकहरु डिभी लोटरीका लागि योग्य हुँदैनन् तर कवि, गितकार साहित्यकार, लेखकहरु दुईबर्षको तालिम वा अनुभव भएको खण्डमा डिभी लोटरीका लागि योग्य हुन्छन् ।

दुईबर्षको अनुभव वा तालिम भएको खण्डमा सेक्युरिटी मेनेजर, होलसेल सेल्स रेप्रेजेन्टेटिभ, सेल्स मेनेजरहरु पनि योग्य हुन्छन् तर खुद्रा ब्यापारीहरु भने योग्य हुँदैनन् ।

त्यस्तै कला, डिजाइन, मनोरञ्जन, खेलकुद र संचारमाध्यममा कार्यक्रम निर्देशकहरु , पु्रफरिडरहरु, कला, डिजाइन, मनोरञ्जन, खेलकुद र संचारमाध्यममा कार्यक्रम प्रोड्युसरहरु, कला, डिजाइन, मनोरञ्जन, खेलकुद र संचारमाध्यममा संगितकारहरु पनि योग्य हुन्छन् तर मोडलहरु भने योग्य हुँदैनन् ।

लाइब्रेरियन, कला, नाटक, संगितका शिक्षक लगायतका पेशामा दुईबर्षको अनुभव र तालिम भएकाहरु पनि डिभी लोटरीका लागि योग्य हुन्छन् ।

तपाईंको पेशा डीभी भर्न योग्य छ वा छैन ? यो लिंक क्लिक गर्नूस :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर