तलब माग्दै माइतीघरमा पत्रकारको प्रदर्शन, सुनुवाइ नभए मालिकको घर घेर्ने चेतावनी (भिडिओ) – Nepal Press
तलब माग्दै माइतीघरमा पत्रकारको प्रदर्शन, सुनुवाइ नभए मालिकको घर घेर्ने चेतावनी (भिडिओ)
नेपाल प्रेस २०७८ असोज २० गते १८:५३
२०७८ असोज २० गते १८:५३

काठमाडौं । विभिन्न सञ्चारसंस्थामा देखिएको समस्या समाधान र तलब नपाएको विरोधमा श्रमजिवी पत्रकारले माइतीघरमा प्रदर्शन गरेका छन् ।

नेपाल पत्रकार महासंघको आव्हानमा पीडित पत्रकारहरूको समेत उपस्थितिमा गरिएको प्रदर्शनलाई ‘बृहद् ऐक्यवद्धता’ नाम दिइएको थियो । विरोध प्रदर्शनमा सयौं पत्रकार सहभागी थिए ।

महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारको सेवा सुविधा नदिने संचार माध्यम र मिडिया मालिकको घर घेराउ गर्ने बताए । उनले भने, ‘पत्रकार महासंघले पहिला संचार गृह घेराउ गर्नेछ । यसबाट पनि सुनुवाइ नभए साहुको घर र ढोकामा गएर घेराउ गरी तिनिहरूको घर, गाडी देखाएर बेइज्जत गराइनेछ ।’

विष्टले पत्रकारहरूको श्रमको मूल्यको विषयमा महासंघले कुनै पनि सम्झौत नगर्ने प्रष्ट्याए । उनले भने, ‘श्रमको मूल्य नदिनेहरूसँग अब आमने-सामने लड्ने हो । श्रमजीवी पत्रकारको समस्यालई सम्बोधन नभए अब संचार गृहमा ताला लगाउने हो ।’

विष्टले मिडियाका संचालहरुले सहुलियतपूर्ण ऋणको दुरुपयोग गरेको भन्दै, ‘पत्रकारले तलब पाएनन् । अब सफ्टलोनको हामी खोजी गर्नेछौं । राज्यको दुरुपयोग गरेर मालिकहरूले सफ्ट लोनको दुरुपयोग गरेका छन् । त्यो रकम अन्तै लगानी गरेर व्यवसाय गरिरहेका छन् ।’

महासचिव रोसन पुरीले सञ्चारकर्मीहरूको श्रम अधिकारको पक्षमा महासंघ अन्तिमसम्म लड्ने बताए । उनले भने, ‘तलब नदिने, बिरामी भएर बिदा बस्दा र सुत्केरी भएर घर जाँदा पनि कतिपय सञ्चारमाध्यमले जागिरबाट निकालेका छन् । यस्ता मिडियामा अब घेराउ गर्ने र सामाधान नभए मालिकको घर घेर्नेछौं ।’

नेपालीको विशेष चाड दसैँतिहार नजिकिँदै गर्दासम्म पुरीले अन्नपूर्ण पोष्ट, इमेज टेलिभिजन, थाहा खबर, माउन्टेन टेलिभिजन, एभिन्यूज, कान्तिपुर, राजधानी दैनिक, काठमाडौं दैनिक, नेपाल लाइभ डटकम, अर्थ डबली, नागरिक दैनिक, नाइस टेलिभिजन र रेडियो सगरमाथालगायतले श्रमजिवीको पैसा नदिएको बताए ।

कार्यक्रममा रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलाले पनि पत्रकारको आन्दोलनमा प्रतिवद्धता जनाए ।