सरकारलाई महासचिव शर्माको चुनौती : राजदूतजस्तै एनआरएन अध्यक्ष पनि नियुक्त गर्नूस, खेल खत्तम ! – Nepal Press

सरकारलाई महासचिव शर्माको चुनौती : राजदूतजस्तै एनआरएन अध्यक्ष पनि नियुक्त गर्नूस, खेल खत्तम !

चुनाब नभए सरकारले क्षतिपूर्ति तिर्नुपर्छ

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न चुनाबलाई सरकारले अन्यौलमा राखेको भन्दै महासचिव डा. हेमराज शर्माले चाँडै चुनाव हुने माहौल बनाउन सरकारलाई आग्रह गरेका छन् ।

वर्तमान वरिष्ठ उपाध्यक्ष डा. बद्री केसीले अध्यक्षमा उम्मेदवारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा शर्माले भनाई राखेका थिए । संस्थापन पक्षको उजुरीको आधारमा निर्वाचनलाई अन्यौलमा राखेकोप्रति शर्माले परराष्ट्र मन्त्रालयप्रति असन्तोष व्यक्त गरे ।

उनले भने, ‘प्रत्येक दिन सयौं उजुरी आउँछन् । अब कति दिन निर्वाचन रोक्न सक्नुहुन्छ ?’ चुनाव नहुने परिस्थिती आए टिकट लगायतका बन्दोबस्तीको क्षतिपूर्ति सरकारले तिर्नुपर्ने उनले बताए ।

अध्यक्षका प्रत्यासी कूल आचार्य पक्षले विभिन्न मुलुकमा हालै भएको एनआरएनए चुनाबमा धाँधली भएकाले छानविन गर्न माग गर्दै परराष्ट्रमा उजुरी दिएको थियो । उजुरीपछि परराष्ट्रले छानविन समिति पनि गठन गरेको थियो । तर, एक महीना वितेपनि परराष्ट्रले यसबारे कुनै निधो दिएको छैन ।

परराष्ट्रको यो ढिलाइप्रति बद्री केसीको उम्मेदवारी दिन आयोजित पत्रकार सम्मेलनमा असन्तोष व्यक्त भएको थियो । ‘एक महिना पुगेपनि तपाईंहरुले चुनाब के हुन्छ भनेर हामीलाई पत्र लेख्नुभएको छैन । यस्तै हो भने टिकटको क्षतिपूर्ति पनि तपाईंहरुले दिनुपर्छ । होइन भने छिटोभन्दा छिटो चुनावी वातावरण तयार गर्नुपर्छ’ उनले भने ।

उनी सरकारप्रति थप आक्रामक सुनिए । भने, ‘जसरी विदेशमा पर्यटन राजदूतहरु नियुक्त गर्नुहुन्छ । एनसीसीका अध्यक्ष नियुक्त गरिदिनूस । आइसीसीका अध्यक्ष नियुक्त गर्दिनूस । त्यसपछि सबै खेल खत्तम ।’ एनआरएनलाई दलको भातृ संगठन बनाउन उनले दलहरुलाई चुनौति दिए । कांग्रेस र माओवादी केन्द्रले आफ्ना प्रवासी संगठनहरुलाई आफ्ना निकटका उम्मेदवारलाई भोट दिन आन्तरिक सर्कुलर जारी गरिसकेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर