सिटौलाको बैठकमा गएनन् गगन, चाक्सीबारीमा प्रकाशमानसँग छुट्टै छलफल – Nepal Press

सिटौलाको बैठकमा गएनन् गगन, चाक्सीबारीमा प्रकाशमानसँग छुट्टै छलफल

काठमाडौं । नेपाली कांग्रेसभित्र ‘तेस्रो धार’ भनिने कृष्णप्रसाद सिटौला नेतृत्वको समूहको बैठकमा केन्द्रीय सदस्य गगन थापा अनुपस्थित भएका छन् । सिटौलानिकट नेताहरूले बैठकमा थापालाई बोलाइएको भएपनि नआएको जनाएका छन् ।

पूर्वमहामन्त्री सिटौलाले मन्त्रिपरिषद विस्तार र महाधिवेशनको सन्दर्भमा आफूनिकट नेताहरूसँग छलफल गर्न बैठक डाकेपनि थापा अनुपस्थित भएका हुन् । यसअघि नै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका बैठकमा नियमित सहभागी हुँदै आएका थापाले काठमाडौंको स्थानीय अधिवेशनमा पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग गठबन्धन गरेका थिए ।

काठमाडौं महानगरसहित अधिकांश पालिकामा सिंह-थापा गठबन्धनका उम्मेदवारले जितेका छन् । संस्थापन पक्षसँग सिटौला पक्षले काठमाडौंलगायत अधिकांश स्थानमा तालमेल गरेको छ । औपचारिकरूपमा सिटौला समूह छाडेको उद्घोष नगरेपनि थापा संस्थापनइतर समूह एक हुनुपर्ने पक्षमा उभिँदै आएका छन् ।

यसैबीच सिटौलाले जमलमा बोलाएको बैठकमा नगएका थापा चाक्सीबारीस्थित सिंह निवासमा ‘अलग बैठक’ मा उपस्थित हुँदै छन् । ‘काठमाडौंको पालिका अधिवेशन समीक्षा गरी क्षेत्र र जिल्लाका उम्मेदवारको व्यवस्थापन गर्ने विषयमा प्रकाश दाइ र गगन दाइसहित नेताहरू छलफलमा जुट्दै हुनुन्छ’, बैठकमा एक नेताले नेपाल प्रेससँग भने ।

१३ औं महाधिवेशनमा सिटौला नेतृत्वको टिमबाट थापा महामन्त्रीको उम्मेदवार रहेका थिए । लामो समय सिटौलाको साथ रहेका थापाले १४ औं महाधिवेशनमा महामन्त्रीमा लड्ने घोषणा गरिसकेका छन् । सिटौलाले भने थापाको विकल्पमा प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवारको रूपमा अघि बढाउने तयारी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर