सीमा सन्धिपछि माओले महेन्द्रलाई के-के भनेका थिए ? (दस्तावेजसहित) – Nepal Press
सन्दर्भः नेपाल-चीन सीमा सन्धिका ६० वर्ष

सीमा सन्धिपछि माओले महेन्द्रलाई के-के भनेका थिए ? (दस्तावेजसहित)

इटहरी । नेपाल-चीन सिमा सन्धि भएको आज ठिक साठी वर्ष पुगेको छ । सन् १९६१ अक्टोबर ५ (२०१८ असोज १९) मा नेपाल र चीनले सीमा सन्धि गरेका थिए । एक वर्ष अगाडि चीन भ्रमणमा गएका नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले सिधा समझदारी गरेर सन्धिको चाँजोपाँजो मिलाएका थिए ।

सीमा सन्धिपछि महेन्द्र र माओबीच रोचक संवाद भएको थियो । भारत र चीन सीमा विवाद बढ्दै गएको समयताका यो संवाद भएको थियो । प्रधानमन्त्री वीपीलाई अपदस्त गरेर आफ्नै सत्ता चलाएका महेन्द्रकालीन नेपाल र चीनको तत्कालीन आर्थिक तथा सामरिक हैसियतका कुराहरु बुझ्न एक आँखिझ्याल हो यो संवाद । नेपाल र चीन जोड्ने कोदारी राजमार्गको सम्झौता भएपछिको पनि संवाद हो यो ।

यस संवादको पूर्णपाठ आज हामी पहिलोपटक नेपाली भाषामा पस्कँदै छौँ । माओको कूटनीतिक पुस्तक ‘माओ जेदुङ अन डिप्लोमेसी’ बाट यसलाई अनुदित गरिएको हो । सन् १९९८ मा चिनियाँ विदेश मन्त्रालयले पहिलोपटक यो पुस्तक प्रकाशन गरेको थियो ।

यस्तो छ संवादको पूर्णपाठः

माओः के छ हालखबर महामहिम ? सबै समस्या समाधान भए ?

महेन्द्रः सबै कुरा टुंगियो ।

माओः निस्पक्ष र तर्कसंगत ?

महेन्द्रः हो । हामी सबै सहमत भयौँ ।

माओः यो राम्रो हो कि हामी सहमत भयौँ । दुवै पक्षमा सद्भावना छ । तपाईं राम्रोसँग अगाडि बढ्नुहुनेछ भन्ने हामी आशा गर्छौं । र, तपाईं पनि हामी राम्रोसँग अगाडि जाने आशा राख्नुहुन्छ । हामी तपाईंलाइ कुनै हानी गर्दैनौँ र तपाईं पनि हामीलाइ हानी गर्नुहुन्न ।

महेन्द्रः हामी पुर्ण जानकार छौँ ।

माओः हामी समान हौँ । हामी एक देश अर्को देशभन्दा ठुलो वा सानो भन्न हुन्न ।

महेन्द्रः हामी तपाईंले बोलेको तरिकाको धेरै सम्मान गर्छौं ।

माओः एक देशले अर्को देशलाई असमान व्यवहार गर्नु हुन्न । यसलाई हामी शक्ति राष्ट्रको अहंकारको रूपमा बुझ्छौँ । हामी हाम्रा पार्टी सदस्यहरु र जनतालाई शक्ति राष्ट्रको अहंकार देखाउने गल्ती नगर्न शिक्षित गर्छौ । यद्यपि, कहिलेकाहीँ त्यहाँ पनि केही समस्याहरु छन् । जस्तो, कार्यकर्ताहरुले अरुलाई आफू ठुलो भएको रवैया देखाउँछन् । हामीले उनीहरुका यस्ता कमजोरीहरुलाई चिर्न शिक्षणको अभियान चलाएका छौँ । अनुशासनको कारवाही गरेका छौँ । हाम्रो देश सबै कुराहरुको खिचडी होः नयाँ र पुरानो, अग्रगामी र पश्चगामी ।

महेन्द्रः चीन विशाल देश हो ।

माओः पछौटेपनका डोबहरु अझै पनि भेटिन्छन् । कृषिकै कुरा गरौँ । यो पछि परेको क्षेत्र हो । केही ट्याक्टर मात्रै छन् । यान्त्रिकरणको लागी केही वर्षहरु अझै कुर्नुपर्छ । हस्तकला उद्योग प्रमुख क्षेत्र हो । हामी केही आधुनिक उद्योगहरु बनाउनेतर्फ लागिरहेका छौँ । तर, अहिले धेरै हुन बाँकी छ । पुरानो समाजले १२ वर्ष अगाडि हामीलाई अत्यन्तै थोरै कुराहरु मात्र छोडेर गयो । वास्तवमा साम्राज्यवादले हामीलाई सय वर्ष भन्दा धेरै शासन गार्यो । उसले हाम्रोमा केही निर्माण गरेन । हामीसँग भएका सबै कुरा लग्यो ।

फलाम र स्टिलकै कुरा गरौँ । क्विङ्ग वंशदेखि चेङ काइसेकसम्म आउँदा स्टिलको उत्पादन ४० हजार टन मात्रै थियो । हामीसँग फलाम र स्टिल छैन भन्दा पनि हुन्छ । न त हामीसँग मेसिन बनाउने उद्योग वा कुनै भूगर्विक काम छन् । हामीसँग २ सयभन्दा बढि मात्रै भूगर्विक कामदारहरु थिए । तर, अहिले हामीसँग एक लाखभन्दा बढी छन् । जमिनमुनिका खजानाहरु पत्ता लगाउन र निकाल्न त्यत्ति सजिलो छैन । हामीसँग कस्ता खनिजहरु छन् भन्ने बारेमा हामी नै जानकार छैनौँ ।

हामीले खनिज पत्ता लगाउन एक किलोमिटर, दुई किलोमिटर, तीन किलोमिटर र अझै बढि खोतल्नु पर्छ । यो कुरा हस्तकला उद्योगभन्दा धेरै परको कुरा हो । यसको लागि ड्रिलिङ मेसिन र तालिमप्राप्त कामदारहरु आवश्यक हुन्छन् । तेल निकाल्नु यस्तै हो । नत्र हामीले आयातित तेलमै निर्भर हुनुपर्नेछ । कोइला, फलामलगायतका ननफेरस मेटलहरुमा पनि यस्तै हो । खाद्यान्न र लत्ताकपडाको समस्या समाधान गर्न हामी कृषि र पशुपालन उद्योगको विकास गर्ने छौँ । साथै, हामी विशाल उद्योगतर्फ पनि लाग्नेछौँ । विशाल उद्योगविना कुनै फलाम र स्टिल उत्पादन हुँदैन । तपाईंको देशको विशाल क्षेत्रफल छ ।

महेन्द्रः एक लाख चालिस हजार वर्गकिलोमिटर हाराहारी ।

माओः जनसंख्या सानो छैन ।

महेन्द्रः करिब नब्बे लाख ।

माओः अस्ट्रेलियाभन्दा धेरै । मलाई आशा छ तपाईंले निर्माण क्षेत्रमा राम्रो गर्नुहुनेछ र हरेक दिन झन्-झन् धनी र बलियो हुनुहुनेछ ।

महेन्द्रः चीनजस्ता मित्रवत् देशहरुसँग सहयोग लिएर हामी विकासका कामहरुमा पहलकदमी लिँदैछौँ । म यो बिषयमा प्रधानमन्त्री चाओ इन्लाईसँग कुरा गर्न चाहन्छु ।

माओः राम्रो । अर्को छलफल गर्नु । समयसँगै तपाईंको देश अझ राम्रोसँग अगाडि बढ्नेछ । विश्वका जहिँतहीँ अभावबाट केही कुरा र थोरैबाट धेरै कुरा बन्ने हो । तपाईं आशावादी हुनुहुन्छ । तपाईंको भविष्य उज्जवल छ । तर, यसलाई समय लाग्छ । केही दशकमै तपाईं अझ आशावादी हुनुहुनेछ ।

अझै पनि हाम्रो देश गरिब छ । तर, अबका करिब सात दशकमा यसले राम्रो प्रगति गर्नेछ । मार्सल मन्ट्गोमेरीले अबको पचास वर्ष लाग्ने बताएका छन् । म भन्छु पचासदेखि एक सय वर्ष लाग्न सक्छ । एक शताब्दी कुनै लामो हैन । अहिलेको अवस्थामा विकास हुन युरोप अमेरिकालाई युगौँ लागेको थियो । यदि एक शताब्दीमै चीनले उनीहरुलाई उछिनेमा राम्रो हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर