एनआरएनए चुनाब : अध्यक्षका प्रत्यासी डा. बद्री केसीद्वारा प्यानल घोषणा – Nepal Press

एनआरएनए चुनाब : अध्यक्षका प्रत्यासी डा. बद्री केसीद्वारा प्यानल घोषणा

सुरक्षित वैदेशिक रोजगारीदेखि लगानी भित्राउनेसम्मका एजेन्डा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष डा. बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् ।

मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो समूहको तर्फबाट उम्मेदवारहरु सार्वजनिक गरे ।

केसी प्यानलतर्फबाट उपाध्यक्षहरुमा हेमराज शर्मा, महेश श्रेष्ठ, डीबी क्षेत्री, धर्मराज अधिकारी र यास्मिन बेगम सैयदले उम्मेदवारी घोषणा गरेका छन् ।

महासचिवमा गौरीराज जोशी, सचिवमा अजिब गुरुङ ओम, महिला सचिवमा राधिका गुरुङ टीका, सचिवमा रामशरण सिंखडा र चिरञ्जिवी घिमिरेले उम्मेदवारी दिएका छन् ।

कोषाध्यक्ष पदमा लोकप्रसाद दाहाल, सहकोषाध्यक्षमा यमुना भट्टराई, युवा संयोजकमा मिलन छन्त्याल र महिला संयोजकमा संगीता मरहठ्ठाले उम्मेदवारी दिएका छन् ।

अक्टोबर २३ देखि २५ तारिखसम्म भर्चुअलरुपमा यसपटक एनआरएनएको दशौं विश्व सम्मेलन आयोजना हुँदैछ ।

के हुन् केसीका एजेन्डा ?

एनआरएनका वर्तमान उपाध्यक्ष समेत रहेका केसीले मूलतः नौवटा एजेन्डा अघि सारेका छन् ।

जसमा व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारी, नेपालमा लगानी तथा एनआरएन नेपाल डेभलपमेन्ट फन्ड, संस्थागत पुनर्संरचना एवं सुद्धढीकरण, हकअधिकार, एनआरएन फाउन्डेसन, ज्ञान सीप तथा प्रविधिसहितको एनआरएन छन् ।

साथै, नेपाली पर्यटन प्रवद्र्धन, युवा महिला तथा दोस्रो पुस्तालाई जोड्ने तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग सहकार्य लगायतका एजेन्डा छन् ।

वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन गन्तव्य मुलुकका कूटनीतिक नियोगसँग सहकार्य गर्ने भनिएको छ । मुख्यतः केसीले आर्थिक कूटनीतिलाई अघि बढाउने एजेन्डा अघि सारेका छन् ।

१० अर्बको सुरुआती पुँज रहेको एनआरएन फन्डलाई विस्तार गर्ने, १८३ दिनभन्दा बढी विदेशमा बस्ने नेपाली तथा विद्यार्थीलाई पनि एनआरएनको परिभाषामा समेट्ने एजेन्डा पनि छन् ।

नेपाली नागरिकताको निरन्तरताको कार्यान्वयन र विदेशमा बस्ने नेपालीलाई पनि विदेशबाटै मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न पहल गर्ने केसीका एजेन्डा छन् ।

नेपाल पोलिसी इन्स्टिच्युटलाई दक्षिण एसियाली स्तरको थिंक ट्यांककोरुपमा अघि बढाउने र आउँदो वर्ष विशेष सम्मेलनको आयोजना गरिने भनिएको छ । अन्तर्राष्ट्रिय थिंक ट्यांकसँग सहकार्य गर्ने एजेन्डा पनि राखिएको छ ।

कोरोनाले थलिएको नेपालको पर्यटनलाई उकास्न विशेष प्याकेज ल्याउने केसीको योजना छ । नेपाल फर्किएका नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गर्न पहल गर्ने एजेन्डा पनि छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर