ओभरसिज खेलाडी खोज्दै अब्दुल्लाह ! विकाश मेराग्लिया नेपाल आउने चर्चा – Nepal Press

ओभरसिज खेलाडी खोज्दै अब्दुल्लाह ! विकाश मेराग्लिया नेपाल आउने चर्चा

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले श्रीलंकाविरुद्धको खेलपछि प्रेसमिटमा बोल्दै ओभरसिज खेलाडीको प्रसंग निकाले । ओभरसिज खेलाडी समावेश गराउन सके टोली बलियो हुने तर्क गर्दै उनले नेपाली मूलका केही विदेशी खेलाडीहरूसँग आफूले कुरा गरेको उनले सुनाए ।

दक्षिण एसियाका बंगलादेश तथा श्रीलंकाजस्ता टोलीले आफ्नो मूलका गैरआवासीय खेलाडीलाई टोलीमा समावेश गर्न पछिल्लो समय निरन्तर कोसिस गरिरहेका छन् । साफ च्याम्पियनसिप अन्तरगत हिजो भएको खेलमा नेपालविरुद्ध श्रीलंकाको टोलीमा पनि यस्ता खेलाडीको उपििस्थत थियो । नेपालविरुद्ध पेनाल्टीमा गोल गरेका डिलियन डी सिल्भा पनि तीनै खेलाडीमध्येका एक हुन् ।

यस्तै बंगलादेशले पनि नाइजेरियामा जन्मिएका एलेटा किङ्ग्सलेलाई जारी साफ खेलाउने प्रयत्न गरेको थियो । तर फिफबाट अनुमति नआएपछि २६ जनाको टोलीसम्म समावेश गरिएका एलेटाले फाइनल स्क्वाडमा स्थान पाएनन् । हिजोको खेलपछि नेपालका प्रशिक्षक अब्दुल्लाहले ओभरसिज खेलाडी भएमा दक्षिण एसियाली फुटबलको विकासमा सहयोग पुग्ने बताएका थिए ।

‘ओभर सिज खेलाडी भयो भने टोली बलियो हुन्छ, श्रीलंकासँग छन्,’ उनले भने, ‘मैले पनि नेपालका यस्ता खेलाडीसँग कुरा गरेको थिएँ । तर, नेपालमा बाहिरको पासपोर्ट लिने खेलाडीका लागि खेल्न पाउने नियम छैन ।’ अब्दुल्लाहले आफूले कुरा गरेको खेलाडी इटालीमा बस्दै आएका विकाश मेराग्लिया भएको चर्चाले अहिले नेपाली खेलकुदभित्र व्यापक छ । विकासले पनि फेसबुकमा ‘म नेपाल आउँदै छु’ भनेर स्ट्याटस लेखेपछि अब्दुल्लाहले उनीतिरै संकेत गरेका हुन् कि भन्ने अनुमान गरिएको छ । इटालीमा रहेर व्यावसायिक फुटबल खेलिरहेका विकाशले त्यहाँको यु-१७ टोलीबाट खेलिसकेका छन् ।

उनीनिकट स्रोतका अुनसार विकासले एट्लान्टाकोे यु-१७ टोलीबाट खेल्दै प्रशंसनीय प्रदर्शन गरेका थिए । स्यालरी स्पोर्ट्समा उल्लेखित डेटाअनुसार विकाश अहिले पनि एट्लान्टाका खेलाडी हुन्, र उनी अहिले १२ हजार डलरभन्दा बढी मुल्यमा एट्लान्टाको युवा टोलीमा अनुबन्धित छन् । १७ वर्षीय विकाशको एट्लान्टासँगको सम्झौता २०२२ जुन ३० मा समाप्त हुनेछ । विकाशनिकट स्रोतले दिएको जानकारी अनुसार उनी छिट्टै नेपाल आउँदै छन् ।

यद्यपि, फुटबलका लागि वा अन्य कामका लागि भने खुलेको छैन । विकाशले स्पेनिस महारथी रियाल मड्रिडको यु-१८ टोलीसँगको खेलमा दुई खेलाडीलाई ‘नट-मेग’ गर्दै एक असिस्ट पनि दिएका थिए । प्रतिभावान् विकाशलाई इटालियन युथ फुटबलमा प्रभावशाली खेलाडीका रूपमा चिनिन्छ ।


प्रतिक्रिया

One thought on “ओभरसिज खेलाडी खोज्दै अब्दुल्लाह ! विकाश मेराग्लिया नेपाल आउने चर्चा

Leave a Reply to Bir bal tamang Cancel reply

Your email address will not be published. Required fields are marked *