प्रधानन्यायाधीशले भाग नमागेको गठबन्धनको स्पष्टोक्ति, स्वार्थ समूहले चलखेल गरेको देउवाको आशंका – Nepal Press

प्रधानन्यायाधीशले भाग नमागेको गठबन्धनको स्पष्टोक्ति, स्वार्थ समूहले चलखेल गरेको देउवाको आशंका

काठमाडौं । सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशको चासोबारे प्रकाशित समाचारमा कुनै सत्यता नरहेको बताएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको विषयमा प्रधान्यायाधीशसँग संवाद नभएको बताएका थिए । उनले स्वतन्त्र न्यायालयलाई लाञ्छना लगाउन स्वार्थ समूहले चलखेल गरेको हुनसक्ने बताए ।

बैठकपछि सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् विस्तार नितान्त सत्तारुढ दलहरूको आन्तरिक विषय भएको बताए । ‘मन्त्रिपरिषद विस्तारको संवैधानिक दायित्व प्रधानमन्त्रीको हो । यसबारे सत्तारुढ दलभित्र आवश्यक छलफल भएकै छ । यसमा प्रधानन्यायाधीश वा अरु कसैको संलग्नताको आशंका गर्नु बेका कुरा हो’, कार्कीले भने ।

उनले न्यायालयको गरिमा बिगार्ने उद्देश्यले सुनियोजित प्रचार गरिएको भन्दै शक्ति पृथकीकरणको सिद्धान्त अनुसार नै मुलुक अगाडि बढिरहेको बतएा । मन्त्री कार्कीले केही राजनीतिक कारणले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भए पनि अब तत्काल मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए ।

बालुवाटार स्रोतका अनुसार आजको बैठकमा मन्त्रालय भागबण्डाको विषयमा सत्तारुढ दलबीच सहमति जुटेको छ । ‘मन्त्रालय भागबण्डाको अधिकांश विषय मिलिसक्यो । भरे भोलिमा मन्त्रिपरिषद विस्तार हुन्छ’, सत्तारुढ दलका एक नेताले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर