लुम्बिनीमा चीनबाट ल्याइएका अत्याधुनिक विद्युतीय बस र ट्याक्सी अलपत्र, पाटपूर्जा बिग्रन थाले – Nepal Press

लुम्बिनीमा चीनबाट ल्याइएका अत्याधुनिक विद्युतीय बस र ट्याक्सी अलपत्र, पाटपूर्जा बिग्रन थाले

सरकारले लुम्बिनी क्षेत्र विकास कोषलाई बस हस्तान्तरण नगर्दा समस्या

रुपन्देही । संघीय मन्त्रालयले लुम्बिनी विकास कोषलाई हस्तान्तरण नगर्दा बुद्ध जन्मस्थल लुम्बिनीमा गतवर्ष चीनबाट ल्याइएका विद्युतीय बस र ट्याक्सी अलपत्र परेका छन् ।

विश्व सम्पदास्थलमा सूचीकृत लुम्बिनीमा वातावरण प्रदूषण कम गर्न र पर्यटकलाई सुविधा दिन भन्दै भित्र्याइएका बस र ट्याक्सी संचालनको छाँटकाट नै नदेखिएपछि पर्यटन व्यवसायीहरु चिन्तित भएका छन् ।

गतवर्ष चीनबाट दुईपटक गरी ५ बस र १४ विद्युतीय ट्याक्सी लुम्बिनी ल्याइएको थियोे । त्यसयता यी सवारी साधन लुम्बिनीस्थित विद्युतीय चार्जिङ स्टेसनको पार्किङमा थन्काएर राखिएको छ  । तर लुम्बिनी विकास कोषले विभागीय मन्त्रालयबाट नै हस्तान्तरण नभएकाले रोकिएको जनाएको छ ।

‘हामीले संचालनको तयारी गरेका छौं, मन्त्रालयबाट विकास कोषलाई हस्तान्तरण भएपछि तुरुन्त टेण्डर प्रकृयामा जान्छौं’, लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले भने । गतवर्ष चीनबाट भारत हुँदै ती सवारी साधन सिधै लुम्बिनी ल्याइएको थियो । तर अहिलेसम्म हस्तान्तरण भएको छैन ।

एशियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत १३ करोड लागतमा बस र ट्याक्सी लुम्बिनी भित्र्याइएको थियो । यी सवारी यहाँ ल्याउँदा सरकारले साढे ३ करोड रुपैयां भन्सार शुल्क व्यहोरेको थियो  ।

खुल्ला आकाशमुनि थन्काएर राखिएका यी सवारी साधन नचलाइ राख्दा छिटो बिग्रनसक्ने यातायात क्षेत्र प्राविधिकहरु बताउँछन् ।

यसका लागि आवश्यक चार्जिङ स्टेसन करिब–करिब तयार भए पनि संचालनको मोडालिटी तयार नहुंदा लुम्बिनीमा लामो समयदेखि खुल्ला आकाशमुनि सवारी राखिएको हो ।

पर्यटन व्यवसायीले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्व पर्यटकीयस्थल लुम्बिनीसम्म पर्यटक र तीर्थयात्रीलाई ल्याउन–लैजान बस र ट्याक्सी प्रयोग गरिने योजना सार्वजनिक भएपछि पर्यटक आकर्षण गर्न सकिने भन्दै खुसी व्यक्त गरेका थिए ।

विद्युतीय सवारी साधन यहाँ ल्याइएपछि विकास कोषले संचालनको योजना बनाउन थालेको थियो । तर संचालनको ठोस मोडालिटी अझै बनाइसकेको छैन । विकास कोष आफैंले विद्युतीय सवारी सञ्चालन गर्नसक्ने अवस्था नरहेको बताउँदै आएको छ । कोषले टेन्डर आह्वान गरी सवारी सञ्चालन गर्न निजी कम्पनीलाई दिने मनसाय बनाएको छ ।

लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईले यातायात विभागसँग समन्वय भइरहेको र निजी तथा सरकारी कुन निकायलाई जिम्मेवारी दिने विषयमा अन्यौल भएको बताए ।

लुम्बिनीमा जापानको इसाका इलेक्ट्रिक कम्पनीले १३ करोड लागतमा बस र भ्यान चार्जिङ गर्ने स्टेसनको काम अन्तिम चरणमा पु¥याएको छ । तर, कोरोना महामारीले काम नसक्दै ठेक्का समयावधि सकिएको छ । म्याद थप अझै भएको छैन ।

सोलार र विद्युत्बाट बस र ट्याक्सी चार्जिङ गरिने छ । यसका लागि लुम्बिनीमा सोलार प्लान्ट जडान गरिएको छ । पावर हाउसबाट १ सय ५४ किलोवाट विद्युत् उत्पादन हुन्छ ।

चार्किङ स्टेसनबाट एकैपटकमा १३ सवारीसाधन चार्ज गर्न सकिने बनाइएको छ । यहाँ ल्याइएका बस पूर्ण वातानुकूलित र अपांगमैत्री छन्  । बसमा १९ र ट्याक्सीमा ५ सिट छन् । बस कार्डले स्टार्ट हुन्छ  भने बस र ट्याक्सी आवाजरहित छन् ।

एक पटक फुल चार्ज गरे चार सय किमिसम्म गुड्छ । आपतकालीन ठुल्ठूला ढोका छन् । लुम्बिनीमा बढ्दो वातावरणीय मध्यनजर गरेर विद्युतीय सवारी ल्याइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर