साफ च्याम्पियन: नेपालले श्रीलंकालाई ३-२ गोलको नतिजामा हरायो – Nepal Press

साफ च्याम्पियन: नेपालले श्रीलंकालाई ३-२ गोलको नतिजामा हरायो

काठमाडौं । साफ च्याम्पियनसिपमा आफ्नो दोस्रो खेलमा नेपालले सोमबार श्रीलंकालाई ३-२ गोलको नतिजामा पराजित गरेको छ । माल्दिभ्सको मालेमा भएका भएको खेलको सुरुआतमा श्रीलंकाले दबाब बनाए पनि ३३औं मिनेटमा सुमन लामाले गोल गरेसँगै नेपालले खेलमा पकड बनाएको थियो ।

पहिलो हाफमा १-० को अग्रता बनाएको नेपालले ५१औं मिनेटमा अग्रता दोब्बर पारेको थियो । नेपालका लागि आयुष घलानको पासमा अञ्जन विष्टले ट्याप इनमार्फत् दोस्रो गोल गरेका थिए ।

त्यसको ६ मिनेट नबित्दै श्रीलंकाका मार्भिन हामिल्टनले उत्कृष्ट गोल गरेका थिए । निर्धारित समयको खेल सकिन चार मिनेट बाँकी रहँदा आयुषले गोल गर्दै नेपालको अग्रता पुन: ३-१ मा लम्ब्याएका थिए ।

तर, इन्जुरी समयमा गौतम श्रेष्ठले पेनाल्टी एरियामा बल ह्यान्ड गरेको भन्दै रेफ्रीले पेनाल्टी दिएपछि श्रीलंकाले दोस्रो गोल फर्काउने मौका पाएको थियो । सोही पेनाल्टीमा श्रीलंकाका डिलियोन डी सिल्भाले गोल गरेका थिए ।

जितसँगै नेपालको ऐतिहासिक फाइनल प्रवेश नजिक पुगेको छ । बाँकी दुई खेलबाट एक बराबरी वा जित निकाले नेपालले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेल्ने छ । प्रतियोगितामा दुई खेलमा ६ अंक जोड्ने नेपाल पहिलो टोली हो ।

नेपालले आगामी आइतबार भारतसँग खेल्ने छ ।

खेलपछि नेपालका कप्तान किरण चेम्जोङले भारतविरुद्ध ९० मिनेटसम्म फिल्डमा प्रतिस्पर्धा गर्ने प्रतिक्रिया दिए ।

‘हामीले आज अर्को एउटा स्टेप पार गर्‍यौं,’ किरणले भने, ‘हामी भारतसँग ५ दिनपछि खेल्दै छौं, त्यसको तयारीका लागि हामीसँग ५ दिन छ । हामी भारतसँग ९० मिनेटसम्म फाइट गर्नेछौं ।’

शुक्रबार भएको पहिलो खेलमा नेपालले साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १-० गोलको नतिजामा पराजित गरेको थियो । नेपालले साफ च्याम्पियनसिपमा पहिलो पटक माल्दिभ्सलाई पराजित गर्न सफल भएको हो ।

श्रीलंका पनि सोही दिन- शुक्रबार भएको उद्‍घाटन खेलमा बंगलादेशसँग पराजित भएको थियो । सोमबार भएको पहिलो खेलमा भारत र बंगलादेशले १-१ गोलको बराबरी खेलेका थिए । १-० गोलको नतिाजमा पछाडि परेको बंगलादेशले ५४औं मिनेटमा एक खेलाडीलाई रातो कार्डको कारण गुमाएको थियो ।

यद्यपि, ७४‍औं मिनेटमा बराबरी गर्दै खेलमा बराबरी गर्न सफल रह्यो । नेपालले २ खेलबाट ६ अंक जोडेर शीर्ष स्थान कब्जा गरेको छ भने समान खेलमा ४ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ । एक खेलमा १ अंक जोडेको भारत तेस्रो र १ खेलमा अंकविहीन माल्दिभ्स चौथो स्थानमा छ । दुई खेलमा अंकविहीन श्रीलंका अन्तिम (पाचौं) स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *