विश्वासको मत नलिँदै मुख्यमन्त्री राउतलाई राजीनामाको दबाब – Nepal Press

विश्वासको मत नलिँदै मुख्यमन्त्री राउतलाई राजीनामाको दबाब

राजीनामा माग्दै संसद अवरुद्ध गर्ने लोसपाको तयारी

जनकपुरधाम । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रदेश २ प्रदेशसभा बैठकमा मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्ने भएको छ ।

प्रदेश सरकारले असोज २० गते प्रदेशसभा बैठक डाकिएको छ । मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिनका लागि झण्डै २ महिनापछि प्रदेशसभा बैठक डाकिएको हो । तर उक्त बैठक लोसपाले मुख्यमन्त्रीको राजीनामा माग्दै संसद अवरुद्ध गर्ने बनाएको छ ।

प्रदेशसभा बैठक अवरुद्ध गर्ने र मुख्यमन्त्री राउतको राजीनामा माग्ने विषयमा छलफल गर्न लोसपा संसदीय दलको बैठक बसेको सांसद प्रमेश्वर साहले जानकारी दिए । भ्रष्टाचारको आरोप लागेपछि मुख्यमन्त्री राउतले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने उनको भनाइ छ ।

प्रदेशसभामा लोसपाको १६ सांसद छन् । केही दिन अगाडि मात्र लोसपा प्रदेश संसदीय दलको बैठकबाट जितेन्द्र सोनल दलका नेतामा निर्वाचित भएका हुन् । दलको नेता बनेलगत्तै उनले प्रदेश सरकारले कमजोरी सुधार नगरे आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

‘बेटी बचाउ, बेटी पढाउ’ अभियानअन्तरगत खरिद गरिएको साइकलमा भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको छ ।

अख्तियारले छापा मारेको विरोधमा प्रमुख सत्तारुढ दल जसपा पनि आन्दोलित छ । अख्तियार प्रमुख प्रेम कुमार रायको राजीनामा माग्दै जसपाले प्रदेश २ को आठै जिल्लामा शनिबार साँझ मसाल जुलुस र आइतबार मोटरसाइकल जुलुस गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर