राणाको नाममा कसले गर्दैछ चलखेल ? सर्वोच्च बारले प्रधानन्यायाधीशलाई भेट्यो – Nepal Press

राणाको नाममा कसले गर्दैछ चलखेल ? सर्वोच्च बारले प्रधानन्यायाधीशलाई भेट्यो

काठमाडौं । मन्त्रिपरिषद्‍मा प्रधानन्यायाधीशले पनि कोटा मागेको भन्ने कुरा बाहिर आएपछि सर्वोच्च अदालत बार एशोशियशनले ध्यानाकर्षण गराएको छ ।

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा बारको टोलीले प्रधानन्यायाधीशलाई भेटेर ध्यानाकर्षण गराएको हो ।

आज आकस्मिक समय मागेर सर्वोच्च अदालत बार एशोसिएशनले प्रधानन्यायाधीश राणालाई भेटेको सर्वोच्च अदालत बार एशोसिएशनका एक पदाधिकारीले नेपाल प्रेसलाई बताए ।

बार पदाधिकारीसँगको भेटमा प्रधान न्यायाधीश राणाले आफ्नो कोटाबाट मन्त्री बनाउन लागिएको भन्ने हल्ला र आएका नामहरुसँग कुनै सम्बन्ध नरहेको बताएका छन् ।

प्रधानन्यायाधीशले सरकार निर्माण गर्दा आफूनिकटका गैरसांसदलाई मन्त्री बनाउन माग गरेको चर्चा चलेको छ । प्रधानन्यायाधीशनिकट स्रोतले भने सत्ता गठबन्धनले आफ्ना अनेक स्वार्थ समूहलाई खुसी पार्नका लागि गैरसांसदलाई मन्त्री बनाउनका लागि नियोजितरूपमा प्रधानन्यायाधीशलाई विवादमा तानेको दावी गरेको छ ।

यस्तो विवादमा प्रधानन्यायाधीशलाई तानेर वरिष्ठतम न्यायाधीश दीपक कार्की, ईश्वर खतिवडा, आनन्दनमोहन भट्टराईलगायतको समूहले सर्वोच्च अदालतमा अस्थिरता निम्त्याउने र आफ्नो समूहको योजनाअनुसार अदालत चलाउन खोज्ने ढंगले सत्ता गठबन्धनलाई प्रयोग गरेको आरोपसमेत निकट स्रोतले लगाएको छ ।

योजनाबद्धरूपमा सत्ता गठबन्धनका केही नेता, बारका केही पूर्वअध्यक्षसहितको समूह र सर्वोच्चका न्यायाधीशहरूको एउटा गुटले न्यायपालिकालाई विवादमा पार्न खोजेको आरोप राणानिकट स्रोतको छ ।

आजै सर्वोच्च अदालतले यसबारेमा वक्तव्य निकाल्ने तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर