नवविवाहित सरस्वतीको हत्या कि आत्महत्या ? श्रीमान र सासुविरुद्ध माइतीपक्षको किटानी जाहेरी – Nepal Press

नवविवाहित सरस्वतीको हत्या कि आत्महत्या ? श्रीमान र सासुविरुद्ध माइतीपक्षको किटानी जाहेरी

रुपन्देही । कपिलवस्तुको कृष्णनगर नगरपालिका– ३ की सरस्वती कौशलको मृत्यु रहस्यमयी बनेको छ । स्थानीय गोविन्द कौशलकी २६ वर्षीय पत्नी सरस्वतीको मृत्युलाई परिवारजनले आत्महत्या र मृतकका माइती पक्षले हत्या भन्ने सूचना प्रहरीलाई दिएपछि घटना रहस्यमयी बनेको हो । बिहीबार सरस्वती मृत अवस्थामा भेटिएकी थिइन् ।

मृतक सरस्वतीका दाइ संजय कौशलले मृतकका पति गोविन्द कौशल, जेठाजु बृजेश कुमार कौशल र सासु कान्तिदेवी कौशलविरुद्ध हत्या आरोपमा इलाका प्रहरी कार्यालय कृष्णनगरमा किटानी जाहेरी दिएका छन् ।

मृतक सरस्वतीको गत जेठ २२ गते मागी विवाह भएको थियो । मृतक बहिनीलाई विवाहपछि दाइजोको रुपमा मोटरसाइकल चाहियो भन्दै आफ्ना ज्वाईं र घरपरिवारबाट पटक–पटक मानसिक यातना दिने गरिएको मृतकका दाजु संजय कौशलले दावी गरेका छन् ।

शव भेटेपछि प्रहरीलाई खबर नगरिनु, कोठाभित्रको चुक्कुल नलगाएको अवस्था हुनु, शवलाई प्रहरी आउनुभन्दा पहिल्यै झुण्डिएको अवस्थाबाट तल झारिनुजस्ता गतिविधिबाट हत्याको शंका भएको सरस्वतीकी दिदी कृष्णवती कौशलले बताइन् ।

सरस्वतीकी आमा आरतीदेवी कौशलले परिवारको षडयन्त्रमा हत्या गरिएको आरोप लगाइन् । घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कडा कारवाही हुनुपर्ने मृतक सरस्वतीका आफन्तजनको माग छ ।

मृतकका पति र उनको घरपरिवारले भने सरस्वतीले आत्महत्या नै भएको दावी गरिरहेका छन् । मृतकका जेठाजु बृजेश कुमार कौशलले रातिको समयमा आफूहरु तल्लो तलामा रहेको र उनले माथिल्लो तलामा आत्महत्या भएको बताए ।

शवको कपिलवस्तु अस्पताल तौलिहवामा पोष्टमार्टम गरिएको र रिपोर्ट आएपछि घटना हत्या वा आत्महत्या हो भन्ने प्रष्ट हुने प्रहरीले जनाएको छ । घटनाबारे सुक्ष्म अनुसन्धान शुरु गरिएको प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताएका छन् । मृतक सरस्वतीका पति गोविन्दलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर