मुख्यमन्त्री राउतको बचाउमा जसपाको आन्दोलन- अख्तियारलाई मधेस र संघीयताविरोधीको आरोप – Nepal Press

मुख्यमन्त्री राउतको बचाउमा जसपाको आन्दोलन- अख्तियारलाई मधेस र संघीयताविरोधीको आरोप

जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारको टोलीले छापा मारेको विरोधमा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) ले आज जनकपुरधाममा मोटरसाइकल जुलुस निकालेको छ ।

जसपा मधेस प्रदेश समितिले घोषणा गरेको आन्दोलनको कार्यक्रमअन्तर्गत विरोध प्रदर्शन गरिएको हो । रेल्वे स्टेशनबाट जसपाका नेता कार्यकर्ताले निकालेको मोटरसाइकल जुलुस बजार परिक्रमा गरेको थियो ।

प्रदर्शनकारीले ‘मधेसविरोधी अख्तियार मुर्दावाद, संघीयताविरोधी अख्तियार मुर्दावाद, अख्तियारका प्रमुख प्रेमकुमार राई राजीनामा दे’ जस्ता नारा लगाएका छन् ।

जसपाले प्रदेश २ को सिरहा, सप्तरी, महोत्तरीलगायतका जिल्लामा पनि अख्तियारविरुद्ध प्रदर्शन गरेको छ । पूर्वघोषित आन्दोलनका कार्यक्रमअन्तर्गत जसपा जिल्ला समितिले प्रदेशका आठै जिल्लाका सदरमुकाममा हिजो साँझ मसाल जुलुस निकालेको थियो ।

बेटी बचाऊ, बेटी पढाऊ अभियानअन्तर्गत खरिद गरेको साइकलमा भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियारको कार्यालय बर्दिबासको टोलीले बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको थियो । अख्तियारको टोलीले साइकल खरिदसम्बन्धी कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

तर, जसपाले छापामार शैलीमा संघीयता समाप्त पार्न र प्रदेश सरकारलाई बदनाम गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको भन्दै सडकमा विरोध जनाएको हो । अख्तियारले छापा मारेलगत्तै मुख्यमन्त्री राउतले संघीयताविरोधीको षड्यन्त्र भएको बताएका थिए ।

संयुक्तरूपमा आन्दोलन गर्न सत्ता गठबन्धनका कांग्रेस र माओवादीसँग छलफल गरेपनि जसपाको सो प्रयास असफल भएको छ ।

कांग्रेसका एक साँसदले भने, ‘भ्रष्टाचार भएको उजुरीको आधारमा अख्तियारले छापा मार्नु आश्चर्यको कुरा होइन् । अख्तियारले छानविन गर्छ । यदि भ्रष्टाचार भएको छैन भने किन आत्तिनुपर्ने ? छानविनमा सघाउनुको साटो आन्दोलन गर्नु गलत हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर