हिमालपारी मनाङ तीन महिनापछि सडक सञ्जालमा, सांसदले देखाए जनप्रतिनिधिको उदाहरण (फोटो/भिडिओ) – Nepal Press

हिमालपारी मनाङ तीन महिनापछि सडक सञ्जालमा, सांसदले देखाए जनप्रतिनिधिको उदाहरण (फोटो/भिडिओ)

चामे । हिमालपारीको जिल्ला तीन महिनापछि सडक सञ्जालमा जोडिएको छ । असारमा आएको बाढी र पहिरोले मनाङलाई सडक सम्पर्कबाट विच्छेद गरेको थियो । बाटो खुलाउन सो जिल्लाका सांसद पोल्देन छोपाङ गुरुङले अगुवाइ गरेका हुन् ।

चामे गाउँपालिका र मनाङ ङिसाङ गाउँपालिका जोड्ने भ्राताङ भीरको सडक मर्मतपछि आइतबारबाट संचालनमा आएको हो । मनाङ सडकखण्ड खुलेको सन्देश दिन भ्राताङ भीरमा आयोजित कार्यक्रमबाटै मनाङबासीले आन्तरिक तथा बाह्य पर्यटकलाई निम्तासमेत दिएका छन् ।

ङिसाङ गाउँपालिका अध्यक्ष कान्छा घलेले प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङको नेतृत्वमा ४५ दिनमै बाटो खुलाउन सकिएको बताए । उनले मनाङबाट अरु सांसद पनि जितेका तर पोल्देन छोपाङको एकल प्रयासले आफूहरुलाई साथ दिएको बताए ।

बाटो अवरुद्ध हुँदा अत्यावश्यक सामग्री ढुवानीमा समेत कठिनाइ भएको थियो । एमाले सांसद पोल्देनको अगुवाईमा जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकाय र स्थानीयको पहलमा बाटो सुचारु भएको हो ।

गाउँपालिका अध्यक्ष घलेले मनाङमा सबैले कोरोनाविरुद्धको खोप लगाइसकेकाले भ्रमणका लागि सुरक्षित रहेको बताए ।

सो कार्यक्रममा सांसद गुरुङले समाजप्रतिको उत्तरदायित्व बहन गर्दै जनप्रतिनिधिको हैसियतमा बाटो खुलाउन नेतृत्व गरेको बताए । उनले भने, ‘यो बाटो मनाङको लाईफलाईन हो । बाटो नखुल्दा उपभोग्य सामग्री र विरामीलाई अस्पताल लैजान पनि समस्या थिपयो । प्रदेश सरकारले बजेट विनियोजन नगरेकाले गाउँपालिका र मेरो बुबा आमाको नाममा रहेको फाउण्डेशनले आर्थिक व्यवस्थापन गरेर बाटो खुलाउन सफल भएका छौं ।’

विगतमा सोही ठाउँमा बाटो खुलाउन १४ महिना लगाएको टिप्पणी गर्दै भने अहिले ४५ दिनमा नै सम्पन्न भएको बताए ।

कार्यक्रममा मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले सडक खुलेपछि पर्यटकलाई सहज हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर