कर्णाली लोकसेवाका कर्मचारीको सुविधा मुख्यमन्त्रीको भन्दा धेरै – Nepal Press

कर्णाली लोकसेवाका कर्मचारीको सुविधा मुख्यमन्त्रीको भन्दा धेरै

सुर्खेत । कर्णाली प्रदेश सरकारले ल्याएको अध्यादेशमा प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक र सुविधामा मुख्यमन्त्री र मन्त्रीको भन्दा धेरै प्रस्ताव गरिएको छ । लोकसेवा आयोगका अध्यक्ष र सदस्यहरु वरीयतामा मुख्यमन्त्री र मन्त्रीभन्दा पछाडि हुन्छन् ।

आयोगका अध्यक्षले मासिक ६२ हजार ६८० पाउने गरी अध्यादेश ल्याइएको छ भने कर्णालीका मुख्यमन्त्रीले ६० हजार ९७० रुपैयाँ र मन्त्रीले ५२ हजार रुपैयाँ तलव पाउनेछन् ।

यस्तै, राज्यमन्त्रीले ४९ हजार र सहायक मन्त्रीले ४७ हजार पारिश्रमिक पाउने व्यवस्था कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा सुविधा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकमा उल्लेख छ ।

सरकारले भदौ १६ गते अध्यादेश जारी गरे पनि ढिलो मात्रै सार्वजनिक गरिएको हो । प्रदेश राजपत्रमा प्रकाशित प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाका शर्त र सुविधा सम्वन्धमा व्यवस्था गर्न बनेको अध्यादेशमा मुख्यमन्त्री र मन्त्रीको भन्दा बढी सेवा सुविधा भएपछि आलोचना भएको हो ।

यता, सोही प्रकृतिको योजना आयोगका उपाध्यक्षको मर्यादाक्रम राज्यमन्त्री सरहको तोकिएको छ भने सदस्यहरुको मर्यादाक्रम सांसद सरह छ । अर्थात योजना आयोगका उपाध्यक्षले राज्यमन्त्री सरह र सदस्यहरुले सांसद सरह ४५ हजार मासिक पारिश्रमिक पाइरहेका छन् । यसमा उपाध्यक्षलाई मात्रै गाडी सुविधा दिइएको छ भने सदस्यहरुलाई दिइएको छैन ।

तर लोकसेवा आयोगका सदस्यहरुलाई समेत सरकारी गाडी दिने गरी अध्यादेश ल्याइएको छ ।

सरकारले ल्याएको अध्यादेशबारे मन्त्रीहरुले नै आश्चर्य व्यक्त गरेका छन् । ‘कति सुविधा हो त्यो बारेमा मलाई जानकारी भएन । मुख्यमन्त्री र मन्त्रीहरु भन्दा बढी सेवा दिनु राम्रो होइन,’ सरकारका एक मन्त्रीले भने ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक गुलावजंग शाहले मुख्यमन्त्री सरकार प्रमुख भएको बताउँदै मुख्यमन्त्री भन्दा माथिको सेवा सुविधा ल्याउने कानून नै गलत भएको बताए । ‘सरकार प्रमुखले नै आफ्नो हैसियत र मर्यादा भूलेको महसुस भएको छ,’ उनले भने, ‘यो सरकारले आसेपासे भरौटेलाई पोस्दै आएको हामीले बारम्बार भन्दै आइरहेका छौं । लोकसेवा आयोगका पदाधिकारीको सुविधा मात्रै होइन, हरेक क्षेत्रमा सरकारले मनपरि गर्दै आइरहेको छ ।’

कर्णाली प्रदेश लोकसेवा आयोग ६ फागुन २०७७ मा गठन भएको हो । कर्णाली प्रदेश लोकसेवा आयोगको अध्यक्षमा रामप्रसाद उपाध्याय नियुक्त भएका थिए भने उनीसहित आयोगमा नियुक्त सदस्यहरु वसन्तीकुमारी शाही र भक्तबहादुर खड्कालाई प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले शपथ खुवाएका थिए । वसन्ती नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीकी पत्नी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर