‘हेर्दै जानुस्, हुरीबताससरी राजसंस्था र हिन्दूराज्यको पक्षमा जनलहर आउँछ’ – Nepal Press
नेपाल टक

‘हेर्दै जानुस्, हुरीबताससरी राजसंस्था र हिन्दूराज्यको पक्षमा जनलहर आउँछ’

२०७६ फागुन २४ गते राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा (संयुक्त)बीच एकीकरण गर्ने सहमति भयो । सहमतिका आधारमा अहिलेसम्म राप्रपामा कमल थापा, पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनी अध्यक्ष छन् ।

आगामी कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा पार्टीको महाधिवेशन गर्ने तयारी भइरहेको छ । नयाँ नेतृत्वका लागि अध्यक्षत्रय थापा, लोहनी र राणासहित युवा नेतृत्वले समेत आकांक्षा देखाएका छन् ।

पूर्वपञ्चहरुको बाहुल्य रहेको पार्टीमा दोस्रो पुस्ताका धवल शमशेर राणाले नेतृत्वको दावी गरेका छन् । प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देन र विक्रम पाण्डेलगायतका नेताहरूले पनि नेतृत्वका लागि तयार रहेको बताइएका छन् ।

एकता र विभाजन नियति जस्तै बनिरहेको राप्रपामा विगतको इतिहास नदोहोरिने गरी महाधिवेशनबाट निकास खोजिनुपर्ने चुनौती छ ।

पटक–पटक टुटफुट र विभाजनको मार खेपेको राप्रपामा एकता महाधिवेशनले पुरानो नेतृत्वलाई नै सदर गर्छ कि नयाँलाई स्थान दिन्छ भन्नेबारे बहस सुरु भएको छ । र, यससँगै राप्रपाले अंगिकार गर्ने नीतिबारे पनि आमचासो छ । यसैबारे राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीसँग गरिएको कुराकानी नेपाल टकमाः

महाधिवेशनको तयारी कस्तो भइरहेको छ ?

अहिलेसम्म कात्तिक २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने तयारी छ । विभिन्न जिल्लाहरूमा अधिवेशन भइरहेका छन् । त्यसको नतिजा हेरिरहेका छौँ । २० गतेसम्ममा एउटा खाका आउँछ ।

तपाईंहरूको सुस्त तयारीले निर्धारित समयमा महाधिवेशन हुन्छ भन्नेमा कार्यकर्ता नै ढुक्क छैनन्, होला त तोकिएकै मितिमा महाधिवेशन ?

जबसम्म मिति परिवर्तन गरिँदैन त्यो बेलासम्म हाम्रो लक्ष्य त्यहीं मितिमा महाधिवेशन गर्ने भन्ने हुन्छ । त्यसैलाई ध्यानमा राखेर तयारी भइरहेको छ ।

यसपटक एकताको सन्देश दिन जिल्ला–जिल्लामा वडादेखि नै अधिवेशन भइरहेको छ । त्यसले गर्दा केही समय लागेको हो । जुन प्रक्रिया सुरु भएको छ, यसले पार्टीलाई बलियो बनाउने कुरामा हामी विश्वस्त छौं ।

राप्रपा एकीकृत भएपछि कार्यकर्ताको भावना कस्तो पाउनुभएको छ ?

कार्यकर्तामा निकै उत्साह छ । जनताले अहिले विकल्प खोजिरहेको छन् । यस्तो अवस्थामा हामी एक भएर जान सके पार्टी निकै बलियो हुने देखिएको छ । जनताले तपाईंहरू एक भएर आउनुहोस् भनिरहेका छन् । अहिले देशको आवश्यकता पनि यहीं हो ।

कांग्रेसको अवस्था पनि जनताले देखिसकेका छन् । कम्युनिस्टको शासन व्यवस्था पनि जनताले थाहा पाइसकेका छन् । उहाँहरूले गर्नुभएको भ्रष्टाचार, भागबन्डा र जनताप्रतिको उपेक्षा पनि जनताले थाहा पाइसकेका छन् । त्यसको विरुद्धमा बोल्ने एउटा सशक्त शक्ति अहिले देशमा आवश्यक देखिएको छ । त्यो शक्तिको रूपमा हामी आउनु पर्छ भन्ने धेरै कार्यकर्ताहरूको भावना छ ।

महाधिवेशनपछि पार्टी बलियो हुन्छ त ?

यो महाधिवेशन पार्टीलाई बलियो बनाउनको लागि मात्रै होइन, आगामी निर्वाचनमा अगाडि बढ्नको लागि र हाम्रो एजेण्डा स्थापित गर्न पनि हो ।

महाधिवेशनपछि फेरि राप्रपा छिन्नभिन्न हुने हो कि भन्ने पनि त छ नि ?

कतिले तपाईंले भनेको जस्तो पनि सोचेका हुन सक्छन् । तर त्यस्तो हुने अवस्था छैन । महाधिवेशनपछि हामी एक भएर जान्छौं । महाधिवेशनबाट जे नतिजा आउँछ, त्यसलाई स्वीकारेर हामी अघि बढ्छौं ।

अहिले देखि नै नेतृत्वको लागि हानथाप सुरु भइरहेको छ । महाधिवेशनपछि पार्टी अझै बलियो हुन्छ भनेर कसरी पत्याउने ?

धेरैले दावी गरे के हुन्छ र ? त्यो त राम्रो कुरा हो नि । पुरानो पुस्ता र नयाँ पुस्ताबाट अध्यक्ष हुन चाहन्छु भन्ने कुरा त निकै राम्रो हो । त्यसलाई हामीले सकारात्मक रूपमा लिएका छौँ ।

त्यसो भए राप्रपाको नेतृत्वमा पुस्तान्तरण हुन्छ त ?

त्यो कार्यकर्ताको इच्छाको कुरा हो । कार्यकर्ताले जसलाई चाहन्छन् त्यहीं नेतृत्वमा आउँछ ।

तपाईंहरुको एजेन्डा राजसंस्थासहितको हिन्दू राष्ट्र हो नि हैन !

हो । मुलुकमा राजसंस्थाको आवश्यकता छ । नेपालीहरूको एकताको लागि राजसंस्था चाहिन्छ । जसले नेपालको सृजना गर्यो त्यो संस्थाको उपस्थिति आवश्यक छ । त्यो एउटा ऐतिहासिक संस्था हो ।

हाम्रो पार्टी निरन्तरतासहितको गतिशीलता बोकेको पार्टी हो । नैतिकरूपमा राजसंस्थाको उपस्थिति नेपाल राष्ट्रको हितमा हुन्छ भन्ने हाम्रो ठहर हो । हामीले धार्मिक राज्य भनेका छैनौं । तर, नेपालको पहिचान एउटा हिन्दू र बुद्ध धर्मको मिश्रण हो । त्यो पहिचानलाई हामीले छोड्नु हुँदैन ।

धर्म निरपेक्ष भइसकेको मुलुकमा फेरि धर्म सापेक्षको कुरा गर्नु ठीक हो त ?

धर्म निरपेक्षता विदेशीहरूले लादेको कुरा हो । संसारमा धर्मनिरपेक्ष राष्ट्र भन्ने नै कहीँ छैन । आफूलाई धर्मनिरपेक्ष भन्ने राष्ट्रहरू मिसन पठाएर, पैसा पठाएर धर्म परिवर्तन गर्न लागिरहेका छन् । यस्तालाई कसरी तपार्इं धर्म निरपेक्षता भन्नुहुन्छ ? यी कोही धर्म निरपेक्ष होइनन् । यी सबै आफ्नो धर्मसापेक्ष हुन् ।

यो यर्थातलाई बुझेर हामीले बुद्ध र हिन्दू धर्मको संगमस्थल नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्रको रूपमा राख्नु पर्छ । त्यसैले राजसंस्थासहितको वैदिक सनातन हिन्दू राष्ट्रको रूपमा हामीले एजेण्डा बोकेका हौँ ।

राजसंस्थाको उत्तराधिकारी को हुन्छ त ?

को होला, के होला भन्ने कुरातर्फ अहिले हामी जान हुँदैन ।

तपाईंहरूको परिकल्पना के हो त ? कति वर्षमा नेपालमा राजसंस्था फिर्ता ल्याउने र हिन्दू राष्ट्रको पहिचान दिने ?

यसमा यति वर्ष भन्ने कुरा हुँदैन । देशको अहिलेको अवस्थाको लागि वस्तुवादी दृष्टिकोणले देशलाई फाइदा गर्छ भन्ने हाम्रो दृष्टिकोण हो ।
यो चाहिँदैन भन्ने मान्छे पनि छन् नि यहाँ । तर, ती विदेशीबाट प्रभावित छन् ।

समानुपातिक मत ल्याउन मात्रै राप्रपाले यस्ता एजेण्डा बोक्छ भन्ने पनि आरोप छ नि ?

एजेन्डा ल्याउने भनेको जनतामा जाने र हामीलाई मत दिनुहोस् भनेरै त हो नि । त्यो स्वाभाविक कुरा हो ।

तर, संसदमा पुगेपछि कुरा उठाउनु हुँदैन त ?

अहिले थोरै भएर पो हो त । शक्ति बढिसकेपछि हेर्नुस् न, सांसदबाट पनि उठ्छ, सडकबाट पनि उठ्छ ।

जनताले नै बर्हिगमन गराएको राजसंस्थालाई फेरि जनताले स्वीकार्लान् त !

किन स्वीकार नगर्ने ? यस्तो कुरा संसारमा भइरहेका छन् । तपाईं वस्तुवादी हुनु पर्यो पहिले ।

कुनै पनि संस्थाको आवश्यकता समाजको समुन्नति र समाजको रक्षाको लागि आवश्यक छ कि छैन भन्ने कुराले निर्धारण गर्छ ।

भारत, चिन जस्तो ठूला देशको बीचमा रहेको नेपालको राजसंस्थाले एउटा विशिष्टता देखाउँछ । तर, हामीले चाहेको शासन गर्ने राजसंस्था होइन ।

राष्ट्रपतिको स्थानमा राजसंस्था राख्नुपर्छ भन्ने तपाईंहरूको तर्क हो ?

हो । राष्ट्रपतिकै कुरा हेर्नुहोस् न– एउटा दलको पनि, दलभित्र पनि एउटा गुटको जस्तो हुनुभयो । उहाँको अभिव्यक्तिले त्यहीं देखायो । त्यसले संरक्षण नै दिन सकेन । त्यसकारण राजसंस्था नैतिक शक्तिको रूपमा नेपालीहरूले मान्छन् ।

कसरी फर्काउने योजना छ त राजसंस्था र हिन्दू राज्य ?

यो जनताको हावाहुरीले लिएर आउँछ । त्यस्तो सम्भावना पनि छ । चार पाँच महिनाअघि देशभर यस्तो लहर पनि देखिएका थियो । हामी त्यो लहर फेरि ल्याउने प्रयास पनि गर्छाै । संसद्को आवाजबाट पनि आउन सक्छ । दुईमध्ये के हुन्छ, त्यो परिस्थितिले निर्धारण गर्छ ।

आमनिर्वाचनमा पनि तपाईंहरूको मूल एजेन्डा यहीं हो ?

हो । देशव्यापी रूपमा यहीं एजेन्डा लगेर हुरी बतास लिएर आउँछौँ । हेर्नुहोला नि ।

निर्वाचनमा अर्को दलसँग तालमेल हुने सम्भावना कति छ ?

जुन बेलामा खोलामा पुगिन्छ त्यही बेला कसरी तर्ने भन्ने विषयमा छलफल हुने कुरा हो । त्यसैले तालमेलको विषयमा अहिले त्यस्तो छलफल भएको छैन ।

तर, पार्टी भित्रै एक धारले एमाले र अर्को धारले कांग्रेससँग चुनावी तालमेल गर्नुपर्छ भनिरहेका छन् नि !

पार्टी भित्र एउटाले एउटा धार र अर्कोले अर्को धार भन्न सक्छन् । तर, अन्ततः पार्टीले जे निर्णय गर्छ, त्यहीं हुन्छ ।

यस विषयमा आन्तरिक छलफल भइरहेको भनिन्छ नि ?

कुनै औपचारिक छलफल भएको छैन । नीतिगत छलफल पनि भएको छैन ।

तर प्रजातान्त्रिक पद्धति हो, यहाँ कम्युनिस्ट कांग्रेससँग पनि मिलिरहेका छन् । हिजोसम्म धारे हात लगाएका दलहरूलाई अहिले गला जोड्न गइरहेका छन् । त्यसैले असम्भव भन्ने कुरा केही छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर