प्राधिकरणले तार काट्न थालेपछि व्यवसायी आन्दोलित, कुलमानविरुद्ध नाराबाजी (भिडिओसहित) – Nepal Press

प्राधिकरणले तार काट्न थालेपछि व्यवसायी आन्दोलित, कुलमानविरुद्ध नाराबाजी (भिडिओसहित)

चितवन । विद्युत प्राधिकरणले इन्टरनेट तथा केवुल टिभीका तारहरु काट्न थालेपछि सेवाप्रदायकहरु आन्दोलित बनेका छन् । उनीहरुले आज विद्युत प्राधिकरण भरतपुर अगाडि धर्ना दिँदै नाराबाजी गरे ।

प्रदर्शनका क्रममा ‘तार काट्न पाइँदैन’, ‘व्यवसायको सुरक्षा गर’, ‘कुलमान घिसिङ– मुर्दावाद’लगायतका नारा लगाएका थिए ।

एनआइ एसपिएनका संयोजक दिपक अधिकारीले प्राधिकरणले जथाभाबी पोल भाडा बढाएर इन्टरनेट र केवुलको तार काटेको आरोप लगाए । ‘४ सय प्रतिशत भाडा बढायो, तर हामीले लिने सेवाशुल्क बढेन,’ उनले भने, ‘साविकको पोल भाडा तिर्न तयार छौँ ।’

उर्जा मन्त्री पम्फा भुसाल, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतसँग केन्द्रमा वार्ता सकारात्मक भएका बेला मुख्य सर्भर (ओपीसी डब्लु फाइबर) काटेर दम्भ देखाएको आरोप उनले लगाए । यसको विरोधमा चितवनमा ब्ल्याक आउट गरी इन्टरनेट र टिभी सेवा बन्द गर्ने चेतावनी उनले दिए ।

प्राधिकरणले पोल भाडा नतिरेको भन्दै तार काटिदिएको हो । चितवनमा ३० वटा इन्टरनेट र २ वटा केवुल टिभी सञ्चालनमा छन् । प्रतिकिलोमिटर चार हजार रुपैयाँबाट पोलभाडा बढाएर ९ हजार पुर्याइएको छ ।

प्राधिकरणले भदौ २९ मा सूचना जारी गर्दै बक्यौता रकम तिर्न असोज १५ सम्मको अल्टिमेटम दिएको थियो । चितवनमा सञ्चालित ८ वटा इन्टरेनट सेवाप्रदायक संस्थाले मात्रै पोल भाडा तिरेका छन् ।


प्रतिक्रिया

One thought on “प्राधिकरणले तार काट्न थालेपछि व्यवसायी आन्दोलित, कुलमानविरुद्ध नाराबाजी (भिडिओसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर