महासंघले बचाउ गरेका चार युट्युबर, जसले यसरी गरेका थिए महिलाको चरित्रहत्या – Nepal Press

महासंघले बचाउ गरेका चार युट्युबर, जसले यसरी गरेका थिए महिलाको चरित्रहत्या

काठमाडौं । युट्युब च्यानल खोलेर महिलाहरुको चरित्रहत्या गर्ने क्रम बढ्दै गएपछि प्रहरीले एक्सन लिन थालेको छ । दुई दिनअघि चार युट्युबर एकैचोटि पक्राउ परे । आगामी दिनमा प्रहरी कारवाही थप तीव्र हुनेछ ।

नेपाल प्रहको साइबर ब्यूरोले बुधबार ‘दैनिक खबर’ नामक युट्युब च्यानलका प्रदीप भण्डारी, ‘हरेक पलको खबर’ च्यानलका सञ्चालक शिशिर अधिकारी, ‘सिराइचुली मिडिया’ का सञ्चालक पिंकला कार्की र ‘मोडर्न अनलाइन टिभी’ नामक युट्युब च्यानलका सञ्चालक रोधन तामाङलाई पक्राउ गरेको हो ।

उनीहरुले महिलाका तस्बिर र भिडियोसहित चरित्रहत्या हुने तथा प्रतिष्ठामा आँच पुग्ने खालका सामाग्री प्रसार गरेका कारण विद्युतीय कारोवार ऐनअनुसार पक्राउ गरिएको ब्यूरोले जनाएको छ । एकैपटक धेरै युट्युबर पक्राउसँगै सामाजिक सञ्जालमा आएका प्रतिक्रिया हेर्ने हो भने युट्युबरबाट आमनागरिक आजित नै भएको बुझिन्छ । धेरैले साइबर ब्यूरोलाई मेन्सन गरेरै धन्यवाद दिएका छन् ।

युट्युबरहरूले व्यक्तिको नीजि जीवनमा हस्तक्षेप गर्नेदेखि अपराधिक घटनामा आफैं प्रहरी र न्यायधीस बनेर फैसला सुनाउने गरेको पाइन्छ । युट्युवरहरुको छाडापन नियन्त्रण गर्नुपर्ने माग पहिल्यैदेखि उठ्दै आएको थियो ।

किन परे पक्राउ ?

कामको सिलसिलामा मलेसियामा पुगेका बालकृष्ण तामाङ आफूलाई फेसबुकबाट मायाजालमा फसाएर एक युवती फरार भएको भन्दै युट्यूवरको शरमा पुगे । दैनिक खबर नामक युट्युब च्यानल सञ्चालक प्रदीप भण्डारीलाई उनले युवतीको तस्वीर पेश गर्दै भने, ‘मैले उताबाट भटाभट पैसा पठाएँ, त म नेपाल आउँदा कता भागिन् कता ।’

तामाङले देखाएको फोटो भण्डारीले युट्युबमा हालिदए र लेखे ‘फेसबुकमा पैसा खाएर फरार यी केटी ।’

फोटोवाली युवतीले आफ्नो चरित्रहत्या भएको भन्दै व्यूरोमा उजुरी गरिन् । आफ्नो फोटो दुरुपयोग गरी फेसबुकमा राखेर अरुले नै च्याट गरेको उनको भनाइ छ । सोही उजुरीका आधारमा प्रहरीले दैनिक खबरका सञ्चालक भण्डारीलाई पक्राउ गरेको हो । अहिले उनको सो भिडियो च्यानलमा भेटिदैन । बरु उनले अर्को भिडियो हालेर माफी मागेका छन् ।

युवतीले आफ्नो फोटो प्रयोग गरी अरु कसैले फेक फेसबुक आइडी बनाएर बालकृष्णालाई ठगेको बताएकी छन् । उनल एक युट्युबरविरुद्ध मात्रै उजुरी गरेकी थिइन् । तर अनुसन्धानको क्रममा उनको तस्बिर प्रयोग गरेर अरु युट्युबरले पनि चरित्र हत्या गरेको पाइएपछि थप ३ युट्युबर पक्राउ परेका हुन् ।

ब्युरोका प्रवक्ता नविन्द अर्यालका अनुसार ती युट्युबरले तस्बिरसहित चरित्रहत्या हुने तथा प्रतिष्ठामा आँच पुग्ने खालका सामाग्री प्रसार गरेका कारण विद्युतीय कारोवार ऐनअनुसार पक्राउ गरिएको हो ।

व्युरोका प्रवक्ता अर्यालले नेपालप्रेससँग भने, ‘पीडितले फोटो दूरुप्रयोग गरेर चरित्रहत्या भएको उजुरी दिएपछि अरुलाई छोड्ने कुरा हुदैन । उनीहरुले पनि पीडितको चरित्र हत्या गरेकै कारण पक्राउ परेका हुन् ।’

पीडितको भिडियो राख्ने अरु युट्युबरहरु पनि पक्राउ पर्ने उनले बताए ।

अर्यालले भने, ‘ती पीडित महिलाले मेरो फोटो राखेर युट्युबमा राखेको छ कारबाही गरिपाउँ भनेर उजुरी दिनुभएको थियो । अनुसन्धान गर्दै जाँदा ४ वटै युट्युबले चरित्रहत्या गरेको पाइयो ।’

अहिले ती युट्युब च्यानलहरुले भिडियो हटाएका छन् । पक्राउ परेकालाई बुधवारै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दैनिक खबर च्यानलमा राखिएका अरु भिडियो हेर्ने हो भने पनि अधिकांश विवादित र व्यक्तिका निजी मामलासँग सम्वन्धित छन् । श्रीमान–श्रीमतीबीच घरझगडाका भिडियो धेरै भेटिन्छ । त्यसलाई विकाउ बनाउन उनले आपत्तिजनक शीर्षकहरु राख्ने गरेका छन् ।

यस्तै ‘हरेक पलको खबर’ च्यानलका सञ्चालक शिशिर अधिकारीले आफ्नो च्यानलमा अधिकांश भिडियोमा भ्रमको खेति गर्दै आएका छन् । उक्त च्यानलमा पछिल्लोपटक विष्णु माझीको भिडियो राखिएको छ, जसमा भ्रामक शीर्षक राखिएको छ ।

‘विष्णु माझीलाई यसरी इन्द्रेणीमा लैजादै’ भनेर उनले भिडियो राखेका छन् । पछिल्लो समय अत्यधिक चासो राखिएकी गायिका विष्णु माझीलाई इन्द्रेणीमा ल्याइदै भन्ने मनगढन्ते सामग्री दिएर उनले २७ मिनेटको भिडियो बनाएका छन् । उक्त च्यानलका सञ्चालक अधिकारी पक्राउ परेयता कुनै भिडियो अपलोड भएको छैन ।

पिंकला कार्कीले सञ्चालन गरेको सिराइचुली मिडियामा पछिल्लो एक सातामा ‘हे भगवान के भयो यस्तो अचम्म !’ ‘४ वर्षको बच्चालाई छोडेर श्रीमती बेपत्ता, श्रीमानको चल्यो रुवाबासी’ जस्ता शीर्षकको भिडियो देखिन्छ । अन्य युट्युब च्यानलमा जस्तै यो च्यानलमा पनि अतिरञ्जित हेडलाइन राखेर भिडियो राखिएको छ ।

‘मोर्डन अनलाइन टिभी’ मा दुई साताअघि ‘केटीसँग रगेहात भेटिएका श्रीमान भारतबाट आए सम्पर्कमा’ शीर्षकमा भिडियो राखेको देखिन्छ ।

अरु युट्युबरलाई पनि पक्राउ गर्छौ: साइबर व्यूरो

साइबर ब्यूरो युटुयुबरप्रति आक्रामक भएको हो त ? यतिबेला धेरैको जिज्ञासा छ । ब्यूरोले युट्युबमा भिडियो देखेर युट्युबरलाई कारबाही गर्न थालेको पनि छ । यद्यपि, यो घटनामा भने पिडितको उजुरीका आधारमा एक्सन लिइएको हो ।

व्यूरोका प्रवक्ता अर्यालले भने, ‘उजुरीहरु धेरै आइरहेका छन् । हाम्रो नोटिसमा पनि परेका छन् । सरकारी वकिल, प्रेस काउन्सिलसँग पनि समन्वय गरेर अगाडि बढ्छौ । त्यस्ता युट्युबरहरुलाई छिट्ट कारबाही गर्दैछौं । अरु घटनामा पनि युट्युबरलाई मुद्धा चलाएका छौ ।’

उनले यो कारबाहीले निरन्तरता पाउने बताए । अझै पनि कारवाही गर्नुपर्ने भिडियोहरु रहेको बताउँदै उनले उजुरी परेपछि कोही नजोगिने उल्लेख गरे ।

महांघको बचाउ, काउन्सील यसो भन्छ

नेपाल पत्रकार महासंघ भने पक्राउ गरेका चारजना युट्युवरको पक्षमा उभिएको छ । महासंघले समाचारमा चित्त नबुझे प्रेस काउन्सिलमा जाने बाटो हुँदाहुँदै प्रहरीले पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ ।

महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गरी उनीहरु नेपाल पत्रकार महासंघका सदस्य रहेको भन्दै पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न ध्यानाकर्षण गराएका छन् ।

महासंघले पत्रकार भनेर बचाउ गरे पनि युट्युबकारितालाई पत्रकारिता मान्ने वा नमान्ने विषय बहसमै छ । प्रेस काउन्सीलसित पनि यसको स्पष्ट जवाफ छैन ।

युट्युबलाई पत्रकारिता मान्ने नमान्ने विवाद अझै रहेको काउन्सीलका प्रवक्ता दिपक खनाल बताउँछन् ।

उनी भन्छन्, ‘हामीले केही समयअघि बोर्डले अनलाइन दर्ता गरेर अनलाइनमार्फत नै युट्युव भिडियो राखेर काम गरेका छन् त्यस्ता पत्रकार वा मिडिया हाउसलाई काउन्सिलमा दर्ता हुन भनेका छौं । तर सुचना जारी गरिसकेका छैनौ ।’

उनी थप्छन्, ‘दर्ता गरेर अनलाइन वा युट्युब सञ्चालन भएका छन् भने त्यसलाई पत्रकार नै मान्नुपर्ला । अरु विषयमा घर–घरमा पस्ने, पत्रकारिताको आचारसंहिता नै पालना नगर्ने महासंघमा नजोडिनेलाई त कसरी पत्रकारिता मान्न सकिन्छ ?’

काउन्सिलमा दिनहँुजसो रुँदै युट्यूवरविरुद्ध उजुरी दिन आउनेहरु बढेको उनले बताए ।

‘जसको विरुद्ध उजुरी लिएर आउनुहुन्छ त्यो दर्ता भएको छ भने हामी सुनुवाई गर्छो । अरु हकमा हाम्रो कार्यक्षेत्र भित्र पर्दैन भन्छौ,’ उनले भने ।

नेपालमा युट्युवको नियमन वा अनुगमन केही भएको छैन । सरकारले पनि कसैलाई जिम्मेवारी तोकेको छैन युट्युब नियमनको लागि । यसबारे सरकारलाई लिखित रुपमा जानकारी गराइसकेको खनालले बताए ।

उनी भन्छन्, ‘यसको मनिटर अनुगमन कसले गर्ने हो, नीतिगत निर्णय हुनुपर्यो भनेर भनिराखेका छौ । सरकारको तर्फबाट त्यस्तो केही पनि आएको छैन । सरकारले त्यो अधिकार काउन्सीललाई दिन सक्यो अथवा काउन्सीलको ऐनमा पनि त्यो कुरा राख्न सकियो भने हामी गर्छौैं ।’

प्रेस काउन्सिलले युट्युबरलाई पक्राउ गर्दा प्रहरीले काउन्सिलसँग समन्वय गर्न नपर्ने उनले बताए ।

खनालले भने, ‘उहाँहरुले युट्युव अथवा फलानो अनलाइन प्रेस काउन्सिलमा दर्ता छ छैन भनेर सोध्नुहुन्छ । हामीले दर्ता भए नभएको उहाँहरुलाई जानकारी दिन्छौ । हामीले पक्राउ गर वा नगर भन्दैनौ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर