ईपीएलमा अहिलेसम्मकै उच्च स्कोर, ललितपुरले बनायो २२६ रन – Nepal Press

ईपीएलमा अहिलेसम्मकै उच्च स्कोर, ललितपुरले बनायो २२६ रन

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) को प्ले अफको आशा जीवितै राख्न जित्नै पर्ने दबाबमा भएको साविक विजेता ललितपुर प्याट्रिओट्सले शुक्रबार जारी खेलमा विराटनगर वारियर्ससामु प्रतियोगिताकै विशाल २ सय २७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २६ रनको योगफल तयार गर्‍यो । ललितपुरका लागि सान्दुन विराक्कोडीले ४३ बलमा १० चौका र ३ छक्कासहित ७३ रनको शानदार इनिङ खेले ।

यस्तै, अज्मतुल्लाह ओमारजाईले आक्रमक ब्याटिङ गर्दै २४ बलमा ७ छक्कासहित ५८ रनको शानदार अर्धशतकीय इनिङ खेले । यस्तै, कप्तान कुशल भुर्तेल ३२ तथा योगेन्द्रसिंह कार्की २७ बनाएर पेभेलियन फर्किँदा पवन सरार्फ २ रनमा आउट भए ।

ओमारजाई ५८ रनमा अविजित रहँदा नारायण जोशीले ४ बलमा ३ छक्कासहित अविजित १८ रन जोडे ।

बलिङतर्फ विराटनगरका लागि कप्तान करण केसीले २ तथा सिकन्दर राजा, प्रतिश जिसी र दिल्शन मुनाविराले एक/एक विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर